Wednesday, April 30, 2025
17.7 C
Beni
17.7 C
Beni
Wednesday, April 30, 2025
Home Blog Page 829

जलजलामा भूमिहीनलाई जग्गा उपलब्ध गराउन जनप्रतिनिधिसँग छलफल

0

पर्वतको जलजला गाउँपालिकामा भूमिहीन दलित, सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने जनप्रतिनिधिसँग अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

बुधबार गाउँपालिकामा आयोजित स्थानीय पदाधिकारीसँगको छलफलमा आयोगका जिल्ला समितिका अध्यक्ष उदय सुबेदीले मापदण्डमा पर्ने सबैलाई समेट्ने गरी नवनिर्वाचत जनप्रतिनिधिलाई अघिल्लो कार्यकालमा भएको प्रगति र बाँकी रहेको कामका बारेमा जानकारी लिएर समय भित्रै काम सम्पन्न गर्न अनुरोध गर्नुभयो ।

सोही अवसरमा गाउँपालिका अध्यक्ष राजु आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको परिवार संख्याको संकलन भएको र थप सूचनामार्फत संकलन भइरहेको बताउनुभयो । गाउँपालिकामा हालसम्म २ सय १ जनाले निवेदन दिएका छन् । कार्यक्रममा उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्री, वडा अध्यक्ष, वडा सचिव लगायतको उपस्थिती रहेको थियो ।

अभिमुखिकरणको सहजीकरण नापी अधिकृत निशा अधिकारीले गर्नुभएको थियो । आयोगले भुमिहीनहरुले आफूले प्रयोग गरिरहेको जग्गा प्राप्ति मागसहितको निवेदन सम्बन्धित स्थानीय तह वा वडा कार्यालयमा बुझाउन जारी गरेको सूचनाको अब पाँच दिन मात्रै बाँकी छ ।

बालबिकास कक्षामा पढाउने शिक्षकलाई तालिम

0

जलजला गाउँपालिकाको आयोजनामा प्रारम्भिक बाल विकास कक्षामा पढाउने शिक्षकहरुलाई ३ दिने कार्यशाला गोष्ठी गरिएको छ । जलजलाभित्र रहेको सामुदायिक र संस्थागत विद्यालयका ४० भन्दा बढी शिक्षकहरुलाई तालिम उपलब्ध गराएको हो । जेठ २३ गतेदेखि २५ गते सम्म संचालन भएको कार्यशाला गोष्ठीको सहजीकरण प्रशिक्षक कविता पौडेलले गर्नुभएको थियो ।

प्रारम्भिक बाल विकासमा पढ्ने विद्यार्थीहरुलाई विभिन्न खेल, गित र संगित लगायतको माध्यमबाट बालबालिकालाई विद्यालय आउने वातावरण सिर्जना गर्दै शिक्षणमा गुणस्तर बृद्धि गराउन बालविकासमा पढाउने शिक्षकलाई तालिम दिएको प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रबहादुर क्षत्रीले बताउनुभयो । विद्यालयका गुणस्तर बृद्धि, बालविकास ब्यवस्थापन र बालबालिका खेल्दै र सिक्दैको वातावरण तयार गर्न तालिमले सहयोग पुग्ने अधिकृत क्षत्रीले भन्नुभयो ।

म्याग्दीमा विपद्को पूर्व तयारी, नदीको सूचना दिन सम्पर्कब्यक्ति खटाइने

0

म्याग्दीमा विपद्को पूर्व तयारी तथा प्रतिकार्यलाई व्यवस्थित र प्रभावकारी बनाइने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजित जिल्ला विपद् ब्यवस्थापन समिति एवम् सरोकारवाला निकायको बैठकले विपद् जोखिमका दृष्टिले उच्च सम्भाव्यता रहेका क्षेत्रहरूमा विषेश निगरानी सहित बस्ती–बस्तीसँग जोडिने गरी पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाको अध्यक्षतामा बसेको बैठकले प्राकृतिक विपत्तीबाट उच्च जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्ने, अस्थायी संरचना तथा स्वास्थ्य उपचारका लागि दु्रत समुहलाई परिचालन गर्ने लगायत विभिन्न १५ निर्णय गरेको छ ।

जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्रसँग समन्वय गर्ने गरी जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी र म्याग्दी नदी तटका वस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न सहज हुने गरी सम्पर्क ब्यक्ति खटाउने प्रजिअ रानाले बताउनुभयो ।

नदीको तटिय अवस्थाका बारेमा नियमित जानकारी दिने गरी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दाना, रघुगंगा गाउँपालिकाले चिमखोला, बेनी नगरपालिकाले गलेश्वर, मंगला गाउँपालिकाले बावियाचौर, मालिका गाउँपालिकाले म्याग्दी नदी र धवलागिरी गाउँपालिकाले मुदी र मुनामा तटिय क्षेत्रको अवस्थाका बारेमा जानकारी दिने गरी सम्पर्क ब्यक्ति खटाउने छ ।

माथिल्लो क्षेत्रमा बाढी आउँदा जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्र, जिल्ला दैविप्रकोप उद्धार समिति, जिल्ला प्रहरी सहितको सु्रक्षा निकाय वेखवर हुने गरेका थिए । यसअगाडी कालीगण्डकी र म्याग्दी नदी तटका वस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न जडान गरिएको पूर्वसूचना (साईरन) प्रणाली जडान गरेपनि प्रभावकारी छैन ।

अन्नपूर्ण गापा–२, तातोपानी, मंगला–बावियाचौरm धौलागिरी गापा–७ ताकमको फेदी नजिक म्याग्दी नदीमा राखिएको पूर्वसूचना प्रणाली पनि अलपत्र छ ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका मेयर सुरत केसी, रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, अन्नपूर्णका अध्यक्ष भरत पुन, मंगलाका अध्यक्ष सतप्रसाद रोका, मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धवलागिरीका अध्यक्ष प्रेम पुन, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले विपद्को जोखिम न्यूनिकरण र खोज तथ उद्धारमा सम्पूर्ण शक्ती केन्द्रित गर्ने बताएका थिए ।

अधिक भिरालो तथा कमजोर भूवनावट, खोलानालाको किनारार अब्यवस्थित मोटरबाटो समेतका विकासे योजना निर्माणले म्याग्दीका अधिकांश वस्ती बाढीपहिरोको उच्च जोखिममा छन । सदरमुकाम बेनीबजार सहित बेनी नगरपालिका र ५ गाउँपालिकाका ४५ मध्य २९ वडा पहिरोको उच्च जोखिमा छन । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेका दैविप्रकोप उद्धार समिति मातहत २४ सै घन्टा संञ्चालन हुनेगरी ले समेत सिमित स्रोतसाधनबाटै काम गरिरहेको छ ।

सोही अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीद्धारा जिल्ला स्तरीय महामारी एवं विपद् ब्यवस्थापन समितिका सदस्यहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले गर्नुभएको थियो ।

 

 

जन्मदिनमा बौद्धिक अपांग विद्यार्थीलाई सहयोग

0

बेनी नगरपालिका वडा नं ६ बगुवाखोलामा अवस्थित बौद्धिक अपांगता स्रोत कक्षामा अध्ययन गर्ने बौद्धिक अपाङ्ग बालबालिकालाई दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु सहयोग भएको छ । बेनी नगरपालिका–७, हुलाकचोक निवासी राममायाँ श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा सहयोग गर्नुभएको हो ।

उक्त सामग्रीहरु श्रेष्ठले विद्यालयका प्रधानाध्यापक धनबहादुर खत्रीलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समिति, शिक्षक लगायतको विशेष उपस्थिति रहेको थियो । बौद्धिक अपांगता स्रोत कक्षामा सरकारी सहयोग बाहेक ब्यक्तिगत तथा संस्थागत सहयोगले सहज भएको प्रअ खत्रीको भनाई छ ।

डम्पिङ साइट खोज्दै बेनी नगरपालिका

0

बेनी नगरपालिकाले डम्पिङ साइटको खोजी सुरु गरेको छ । बढ्दो बजारीकरणसँगै नगरपालिकाले फोहर व्यवस्थापन गर्न डम्पिङ साइडका लागि उचित ठाउँ नपाउँदा लामो समयदेखि कालीगण्डकी नदीको किनारभन्दा माथि र बेनी–गलेश्वर सडकभन्दा तल बिर्सजन गर्ने गरिएको अवस्थामा अब डम्पिङ साइटको खोजी गरी स्थायी रुपमा फोहोर ब्यवस्थावन गर्ने नगरपालिकाले जनाएको छ ।

नगरकार्यपालिकाको पहिलो बैठकले नगरप्रमुख सुरत केसीको संयोजकत्वमा उपप्रमुख ज्योति लामिछाने, वडा नं २, ३ र ४ का अध्यक्ष क्रमश यामबहादुर कार्की, पदम पुन,भगवान खड्का, कृष्णसिंङ बानियाँ र चक्रबहादुर केसी सदस्य रहेको समिति गठन गरिएको छ ।

सडक नजिक फोहोर फाल्दा त्यसले नकारात्मक सन्देश दिने भएकाले सडक तथा बस्तीभन्दा टाढा लगेर फोहोर ब्यवस्थापन गर्न स्थानीयले माग गरे पनि सुनुवाई नभएको अवस्थामा यसपटक डम्पिक साइटका लागि प्रस्तावित क्षेत्रका बासिन्दासँग छलफल गर्ने नगरपालिकाले जनाएको छ ।

यसअगाडी्र प्रस्तावित स्थानमा प्रभावित क्षेत्रका बासिन्दाको अबरोधले अगाडी बढ्न नसकेको अवस्थामा बस्तीभन्दा टाढाको स्थानको खोजी भइरहेको नगरप्रमुख केसीको भनाई छ ।

अघिल्लो कार्याकालमा जनप्रतिनिधिले ठाउँ खोज्न असफल भएपछि बजेट विनियोजन गरेपनि फ्रिज गरेपनिनयाँ विधिबाट फोहोर व्यवस्थापन गर्न वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारका घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै भाँडोमा संकलन र व्यवस्थापन गरिएको थियो । नगरपालिकाले रातोपहिरोमा ३ वर्षअघि फोहोर व्यवस्थापन केन्द्र निर्माण गरेको थियो ।

हिन्दू धर्मका विभिन्न धार्मिक शास्त्रमा समेत कालिगण्डकी नदीलाई पवित्र नदीको रुपमा उल्लेख गरेको पाइन्छ । त्यसैले अझै हिन्दू धर्मालम्बीहरू विभिन्न चाडपर्व सहित सम्भव भएसम्म दैनिकरुपमै यस नदीमा स्नान गरेर आफूलाई धन्य भएको महसूस गर्छन् ।

तत्कालिन समयमा फोहोर बिर्सजनका बिरुद्धमा पुनरावदेन अदालतमा मुद्धा समेत हालिएको थियो ।तत्काल फोहोर उचित स्थानमा ब्यवस्थापन गर्न दिएको आदेशको ब्यवहारिक कार्यान्वयन हुन सकेको छैन । रातोपहिरोमा सार्वजनिक जग्गा सम्याएर भवन बनाइएको अस्थायी संरचनामा फोहोर बिसर्जन गर्न लागेको एकदशकभन्दा बढी भइसकेको अवस्थामा नव निर्वाचित जनप्रतिनिधिले प्राथमिकतामा राखेर डम्पिङ साइडको खोजी गर्न प्रभावित क्षेत्रका बासिन्दाले पटकटपक माग गरेका छन् ।

भकिम्लीको चिनाखेत खानेपानी योजना अलपत्र,

0

म्याग्दीको बेनी नगरपालिका–३ चिनाखेतका मनबहादुर पुनको घरमा एक वर्षअघि नै मिटर र धारा जडान भएको थियो ।“पाइप ल्याएर मिटर र धारा जोडेपनि पानी आएको छैन”, उहाँले भन्नुभयो “इन्टेक, टङ्की, मुख्य र वितरण पाइपलाइन निर्माणले पूर्णता नपाउँदा खानेपानी योजना अलपत्र बनेको छ ।” मनबहादुर मात्र नभएर मिटर र धारा जोडेका चिनाखेतका ७६ घरधुरीको धाराबाट खानेपानी उपभोग गर्ने सपना पूरा भएको छैन ।

उनीहरुले पुरानो योजनाको सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएका छन् । सार्वजनिक धाराबाट घरघरमा पानी लैजान व्यक्तिगत लगानीमा पाइप जोडेका छन् । पुरानो धारामा नियमित खानेपानी आउँदैन ।

धारामा पानी नआउँदा खोल्सा र कुँवाको पानी उपभोग गर्नुपर्ने चिनाखेतवासीले बताएका छन् । लागत अनुमान, डिजाइन र ठेक्का सम्झौतामा उल्लेख भएको गुणस्तर र मापदण्डअनुसार मुहान, टङ्की, पाइपलाइन निर्माण नभएकाले चिनाखेत खानेपानी आयोजना सफल नभएको स्थानीयवासीको भनाइ छ ।

बेनी नगरपालिकाले सङ्घीय सरकारको अनुदानमा आर्थिक वर्ष २०७७-७८ मा चिनाखेत खानेपानी योजना बनाउन सुन्दर निर्माण सेवासँग रु ५१ लाख ५४ हजार ४० मा ठेक्का सम्झौता गरेको थियो ।

७० लाख विनियोजन भएको योजना प्रतिस्पर्धाका क्रममा रु १८ लाखभन्दा बढी घटेर ठेक्का पारेको थियो । २० घनमिटर क्षमताको दुई वटा रिजर्भ टङ्की, तीन किलोमिटर मुख्य पाइपलाइन, मुहानमा दुई वटा इन्टेक बनाउने, मिटर र धारा वितरण गर्ने सम्झौता थियो । रिजर्भ टङ्कीदेखि आरविटीसम्म नौ किलोमिटर वितरण लाइन बनाएका छन् ।

“असार मसान्तमा हतार हतारमा काम गरेका थिए । कागजमा योजना सम्पन्न भएको भनिए पनि व्यवहारमा बनेको छैन”, स्थानीयवासी दीपक पुनले भन्नुभयो, “बनाउनुपर्ने ठाउँ र सङ्ख्यामा मुहानमा इन्टेक बनेको छैन ।

रिजर्भ टङ्कीमा अहिलेसम्म पानी नहालिनुमा त्यसको गुणस्तरमा प्रश्न उठेको छ ।” उहाँका अनुसार वितरण लाइनदेखि घरघरमा पानी पुर्याउने पाइप जडान गर्ने आरविटी हिलोले भरिएका छन् । निर्माण कार्यलाई पूर्णता नदिइ अधकल्चो बनाएर छाडिएको खानेपानी योजनाका संरचना प्रयोगमा आउन सकेको छैन ।

बेनी नगरपालिकाका इञ्जिनीयर बिमलरञ्जन कार्कीले डिजाइन, लागत अनुमान र ठेक्का सम्झौता अनुसार गरेको कामको मूल्याङ्कनको आधारमा भुक्तानी दिइएको र चालु आर्थिक वर्षमा बजेट विनियोजन नभएकाले बाँकी काम हुन नसकेको बताउनुभयो ।

अन्तिम नाप जाँचका क्रममा आयोजनामा पानी चलाएर परीक्षण गर्दा ठीक भएको उहाँको भनाइ छ । बेनपा–३ भकिम्लीका वडाध्यक्ष पदम पुनले निर्माण व्यवसायी र प्राविधिकको कमजोरीले गर्दा चिनाखेत खानेपानी आयोजना अलपत्र बनेको बताउनुभयो ।

“घरघरमा खानेपानी वितरण गर्ने लक्ष्य र उद्देश्यले बजेट र योजना भित्र्याए पनि ठेक्कामार्फत कार्यान्वयन गर्दा प्रभावकारी हुन सकेन”, उहाँले भन्नुभयो, “यो योजनालाई आगामी वर्ष थप बजेट व्यवस्थापन गरेर पूर्णता दिने र सञ्चालन गर्न नगरपालिकामा छलफल चलाएको छु ।”–रासस

हर्स राइडिङमा कोरियालीसँग प्रतिस्पर्धा गदैं म्याग्देली यूवा

0

म्याग्दीका एक यूवाले दक्षिण कोरियाको जेजु टापुमा आयोजित हर्स राइडिङ प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । उच्च शिक्षाको सिलसिलामा दक्षिण कोरियामा पुगेका बेनी नगरपालिका-८,पिपलचोकका प्रवेश खत्री क्षत्रीले चेजु हल विश्वविद्यालय अन्तरगत आयोजित प्रतियोगितामा दुई स्वर्ण पदक जितेका हुन् ।

बेनीको माउण्ट एभरेष्ट आवासीय माविबाट एसईई दिएका क्षत्रीले सन् २०१८ मार्चमा विश्वविद्यालयमा भर्ना भएर घोडाको रेखदेख गर्ने कम्पनीमा काम गदै सिकेको सीपलाई प्रयोग गरी कोरियन प्रतिस्पर्धीलाई उछिन्दै २० सेमी क्लास जम्पिङ र ७० सेमी क्लास जम्पिङमा स्वर्ण जितेको क्षत्रीले बताए ।

‘कामले सिप सिकाएपछि सहभागी भएको थिए,‘यसपटकको प्रतियोगितमा सोचेजस्तै सफलता मिलेको छ’ उनले भने । सन् २०२० डिसेम्बरमा जम्पिङ रिलेमा चौथो, सन् २०२१ मे महिनामा भएको ६ खेलमा ४० कक्षा जम्पिङमा रजत, रिलेमा स्वर्ण र समूह मिसनमा काँस्य पदक जितेका थिए ।लामो समयसम्म कोरोना भाइरसका कारण प्रतियोगिता नभएपनि यसपटक ७९ कोरियन सहभागी भएको खेलम प्रवेश एक्लो विदेशी प्रतिस्पर्धी थिए ।

उनले उच्च शिक्षाको क्रममा एकबर्षसम्म काम नपाएको अवस्थाका घोडी घरमा पाएको कामले नयाँ सिप र उर्जा दिएको बताए ।उनले एकबर्ष काम गरेपछि हाल बाएन्ग्दुई घोडा फिर्ता क्लबबाट माइल घोडा शो जम्पिङ खेलमा सहभागी भएका थिए । उनले हालसम्म प्रतियोगितामा कोरियालीसँग प्रतिस्पर्धा गरेका छन् ।

हाल नयाँ कोर्स सहित प्रतियोगितामा सहभागी भइरहेका क्षत्रीले अन्तराष्ट्रिय हर्स राइडिङमा समेत सहभागी हुने लक्ष्य राखेको बताए । कोरियाको परम्परागत चलन मध्येको एक घोडसवारी समेत मानिन्छ । राइडिङ ग्राउन्ड र क्लबहरूमा घोडा चढ्ने उत्साहको लहर छाएको छ भने हरेक ग्राउण्डमा राइडर्स प्रतियोगिता हुन्छ ।

प्रकाश दुतराजको ‘मन भुल्छ’ बजारमा

0

म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनमा जन्मिएका प्रकाश दुतराजको नयाँ म्यूजिक भिडियो ‘मन भुल्छ’ बजारमा आएको छ । पछिल्लो समय चर्चाको शिखरमा रहेका दुतराजले मंगलबार नयाँ म्यूजिक भिडियो बजारमा ल्याएका हुन् । जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’ बोलको गीतबाट नेपालका चल्तीका गायकमा आफ्नो नाम सुरक्षित गर्न सफल दुतराजले नयाँ प्रस्तुतीमा पनि उस्तै साथ र सहयोगको अपेक्षा गरेको बताए ।

‘मन भुल्छ’ बोलको गीतमा दुतराजलाई गायिका शान्तीश्री परियारले साथ दिएकी छन् भने समुह गायनमा बसन्त विश्वकर्मा, प्रकाश यश, रुपी शिंजाली, प्रेमा रानाले साथ दिएका छन् । दुतराजका गीत बालबालिका देखि बृद्धबृद्धासम्मको जिब्रोमा झुण्डिने गरेको छ । उनका हरेक रचनामा फरक स्वाद हुने भएकाले नै संगीतका पारखीले उनलाई नै खोज्छन्। त्यसैको परिणाम उनका पछिल्ला गीतहरूले यूटुवमा मनग्य कमाइरहेको छ ।

साधारण र हसिलो स्वभावका दुतराजले सबै उमेर समुहकालाई लक्षित गरी गीतहरू पस्किने भएकाले नै लामो समयसम्म जिब्रोमा भुण्डिने गरेको छ । उनको आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा, अहिले चर्चामा आएको गीत जाम भो माइलीमा मानवीय र सामाजिक सन्देश लुकेको छ ।

 

सुआहारा कार्यक्रम तथा सामुदायिक झोलुङ्ग पुलको विषयमा सेयरिङ

0

बेनी नगरपालिकामा आज (मङ्गलवार) एक कार्यक्रमबीच संस्थाबाट सञ्चालनमा रहेका कार्यक्रमको बारेमा सेयरिङ सम्पन्न भएको छ । युएसआईडीको आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रम तथा सामुदायिक झोलुङ्गे पुल कार्यक्रमको विषयमा सेयरिङ तथा जानकारी गराइएको हो ।

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिसँग परिचयात्मक कार्यक्रमसहित जिल्लामा संस्थामार्फत सञ्चालित कार्यक्रमहरुको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको मिलन म्याग्दीले जनाएको छ । कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालु र सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनले सञ्चालित कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

यसैगरी झोलुङ्गे पुलको प्राविधिक यामबहादुर विश्वकर्माले बेनी नगर क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेका सामुदायिक झोलुङ्गे पुलको बारेमा पनि जानकारी गराउनुभएको थियो । सोही अवसरमा पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापनसहित सुआहारा कार्यक्रमको तर्फदेखि बधाई तथा शुभकामना–पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले समुदायका महिला एवं बालबालिकाहरुको पोषण अवस्था सुधार गर्न र झोलुङ्गे पुल निर्माणको कार्यमा गैरसरकारी संस्थासँग आवश्यक सहकार्य गरिने बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, प्रवक्ता रमेशकुमार श्रेष्ठ, बेनी नगरपालिका–६, अर्थुङ्गेका वडा अध्यक्ष कृष्णबहादुर बानियाँ, इन्जियिनर विमलरञ्जन कार्की, योजना अधिकृत प्रकाश सुवेदी, असिस्टेन्ट सव–इन्जिनियर चन्द्रबहादुर थापा, मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापालगायत कार्यसमितिका पदाधिकारी र कर्मचारीको उपस्थिति रहेको थियो ।

यसअघि मिलन म्याग्दीको आयोजनामा मंगला गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा पनि संस्थामार्फत सञ्चालित कार्यक्रमहरुको बारेमा जनप्रतिनिधि र कर्मचारीहरुको बीचमा सेयरिङ कार्यक्रम सम्पन्न भैसकेको छ । सन् २०१२ देखि म्याग्दीमा सञ्चालित सुआहारा कार्यक्रमको अहिले दोस्रो चरण सञ्चालनमा रहेको छ ।

बेनी नगरपालिकामा मजदुर डेस्क र सहायता कोषको स्थापना

0

बेनी नगरपालिकाले मजदुरको सेवासुविधा र सुरक्षाको प्रत्याभुति दिलाउन मजदुर डेस्क तथा सहायता कोषको स्थापना गरेको छ ।

नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नगरभित्र कार्यरत मजदुरको गुनासो र समस्या समाधान गर्न आगामी आवदेखि सञ्चालन गरिने भएको छ ।

नगरभित्र विभिन्न क्षेत्रमा कार्यरत मजदुरको हकहित, सेवासुविधा, सिप हस्तान्तरण र अधिकारको सुरक्षा र व्यवस्थापन गर्ने उद्देश्यका साथ डेक्स र कोषको स्थापना गरिएको नगरपालिकाका मेयर सुरत केसीले बताए ।

उनका अनुसार मजदुरको नाममा हुने बिचौलीयाको अन्त्य गर्न हेल्प डेक्सको आवश्यकता रहेको बताए।डेस्क र कोष स्थापनाका लागि आवश्यक पर्ने कार्यविधिको समेत तयारी गरिएको छ ।

‘मजदुरका हरेक समस्याको समाधानमा प्रतिबद्ध छौ,‘रोजगारी प्रर्बधनमा पनि सघाउँछौ’ मेयर केसीले भने । हेल्प डेस्कले श्रमिकहरुको सुचिकरण, वर्गिकरण र उचित व्यवस्थापन गर्दै सेवासुविधा नपाएको अवस्थामा आवश्यक सहजिकरण समेत गर्ने छ ।

कोषमा नगरपालिकाबाट तत्काल ५ लाख जम्मा गरिएको छ भने विभिन्न निकायहरूबाट समेत सहयोग जुटाएर कोष बृद्धि गरिने जनाइएको छ ।श्रमिक अथवा श्रमदातालाई हेल्प डेस्कमा दर्ता गरेको उजुरीलाई तत्काल समाधानको उपाय खोजिने उपमेयर ज्योति लामिछाने पौडेलले बताईन् । नगरपालिकाले स्थापना गरेको कोषमा इच्छुक सहयोगदाताले सहयोग समेत गर्न सक्ने, कोषलाई बृद्धि गदैं लैजाने लगायतका प्रावधान समेत राखिने जनाइएको छ ।

नगरभित्र रोजगारीको खोजीमा रहेकालाई समेत डेस्कमार्फत रोजगार खोजिदिने तथा दुर्घटनामा घाईतको उपचार तथा मृत्यु भएको अवस्थामा समेत राहत सहितका सुविधालाई समेत ध्यान दिइएको नगरका प्रबक्ता रमेशकुमार श्रेष्ठले बताए ।

श्रमिक, रोजगारदाता विचको आपसी सम्बन्धमा आएका समस्यालाई मात्रै नभई नमुना कार्य र अनुभव आदानप्रदान सहित मजदुर दिवस सहित विभिन्न कार्यक्रमहरूमा सहजीकरण गर्ने जनाइएको छ ।

बेनी नगरपालिकाभित्र दुर्घटनामा ज्यान गुमाउने मजदुरको परिवारले प्राप्त गर्ने सेवासुविधा श्रम ऐनभन्दा पनि कम भएको गुनासो आउने गरेको अवस्थामा डेस्क तथा सहायता कोषले सहज हुने नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) बेनी नगर कमिटीका सचिव अर्जुन रानाले बताए ।

उनले विगतमा ठेकेदार, जिल्लाका सरकारी निकायबाट समस्या समाधान गर्नुपर्ने अवस्थामा नगरपालिकाले नै डेस्कको स्थापना गरेपछि सहज भएको बताए । म्याग्दीका अन्य स्थानीय तहमा समेत डेस्क स्थापनाको माग गरिएको छ ।

 

error: Content is protected !!