Tuesday, April 29, 2025
22.7 C
Beni
22.7 C
Beni
Tuesday, April 29, 2025
Home Blog Page 836

मालिकामा आईतबार पनि विद्यालय खोल्ने निर्णय

0

मालिका गाउँपालिकामा आईतबार पनि विद्यालयको नियमित पठनपाठन गराउने निर्णय गरेको छ । नेपाल सरकारले हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेपनि मालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्र रहेको सामुदायिक तथा संस्थागत विद्यालय साविक रुपमा आईतबारदेखि शुक्रबारसम्म नियमित पठपाठन गराउने निर्णय गरेको हो।

मालिका गाउँ कार्यपालिकाको शनिबार बसेको बैठकको निर्णयअनुसार गाउँपालिकाभित्रका सबै विद्यालय आईतबारपनि नियमित पठनपाठन गराउने निर्णय कार्यान्वयन गर्न गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले विद्यालयलाई आग्रह गर्नुभएको छ ।

विद्यालयको शैक्षिक क्षति न्यूनिकरण गराउन, विद्यार्थीहरुको नियमित पठनपाठन र प्रशासनिक कामकाजलाई नियमित संचालन गराउन आईतबार विद्यालय खोल्ने निर्णय कार्यपालिका बैठकले गरेको विज्ञप्तीमा उल्लेख छ । म्याग्दीमा बेनी नगरपालिकाले पनि आईतबार नियमित पठनपाठन गराउने निर्णय गरेको छ ।

तारा एयरकाे जहाज दुर्घटनाकाे कारण खराब मौसम भएको प्रारम्भिक निष्कर्ष

0

प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिनुभयो ।

संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताउनुभयो ।

घटनाको जाँचबुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीले विश्वास दिलाउनुभयो । घटनास्थल जोमसोम विमानस्थलबाट ८ नटिकल माइल दूरीमा पर्छ । उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भिरमा ठोक्किँएर दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो । विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको दुःखद् निधन भएको छ ।

पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त विमान उडेको १०ः७ बजेपछि सम्पर्कविहीन भएको थियो । पाँच वटा हेलिकोप्टरले आइतबार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि आज बिहानै परिचालन भएको संयत्रबाट दुर्घटनाग्रस्त जहाज भेटिएको थियो ।

तारा एयरको विमान दुर्घटना : चालक दलसहित सबै यात्रुको शव भेटियो

0

तारा एयरको विमान दुर्घटनामा परेर मृत्यु भएका सबै यात्रुको शव भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका– २ कोवाङको सिरानमा रहेको चट्टानी पहरामा विमानका अवशेषहरु सँगै लासहरु यत्रतत्र छरिएर रहेको अवस्थामा भेटिएका हुन् ।

भेटिएका मध्ये आधा जति लासहरु पहराबाट उठाएर बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ भने अन्य लासहरु पनि झार्ने क्रम जारी छ । मौसमी तथा भौगोलिक प्रतिकुलताका कारण उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ ।

अहिले पनि सुरक्षाकर्मीहरुको टोलीले उद्धारको प्रयास जारी राखेको छ । संकलित शवहरुको पोष्टमार्टम तथा मुचुल्का बनाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहानदेखि बेपत्ता रहेको जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । सो दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको छ ।

सम्बन्ध विच्छेद अघि नेपाल घुम्न आएका भारतीय जोडी, जाे विमान दुर्घटनामा परे !

0

तारा एयरको विमान दुर्घटना सँगै एक भारतीय जोडिसहित परीवारकै दुख:द अन्त्य भएको छ ।आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज मुस्ताङकै थासाङ – २ मा दुर्घटनाग्रस्त भएको पाइएको छ । उक्त जहाजमा एक भारतीय परिवारको पनि दुख:द अन्त्य भएको छ ।

जो परीवारका श्रीमान र श्रीमति नेपालको भ्रमण गरेर सम्बन्ध विच्छेदको तयारीमा थिए । तर उनीहरुको नेपाल भ्रमणकै क्रममा दुर्घटनामा परि निधन भयो । त्यहाँ सम्बन्ध विच्छेदको तयारीमा रहेका श्रीमान श्रीमति मात्रै परेनन् उनीहरुको एक छोरा र एक छोरीको पनि सँगै ज्यान गयो ।

चालक दलका ३ सदस्यसहित २२ जनाको मृत्यु भएको उक्त जहाजमा भारत महाराष्ट्रको ठाणेका पनि थिएछन् । तारा एयरका अनुसार उनीहरु एकै परिवारका चार जना थिएछन् । उनीहरु थिए, ‘अशोक त्रिपाठी (श्रीमान), वैभवी बाँडेकर–त्रिपाठी (श्रीमति) धनुष त्रिपाठी (छोरा) र छोरी ऋतिक त्रिपाठी (छोरी)।’

उनीहरु पनि दुर्घटनामा परेको जहाजमा सवार रहेको नेपालस्थित भारतीय दूतावासले पुष्टि गरेको छ । अशोक र उनीकी श्रीमती वैभवीसँग यही साताभित्र सम्बन्ध विच्छेद हुन लागेको थियाे । उनीहरु अलग्गैसमेत बस्दै आएका थिए ।

उनीहरुको सम्बन्ध विच्चेदको मुद्धा अदालतमा थियो । अदालतले भनेको थियो, ‘अदालतले फैसला नआएसम्म परिवारलाई प्रत्येक वर्ष १० दिन सँगै रहन सक्नुहुन्छ।’

अदालतले दिएको उक्त समयमा उनीहरु आफ्नो चारैजना परीवार नेपाल घुम्ने योजनाकासाथ नेपाल आएका थिए । सो क्रममा उनीहरु मुस्ताङ घुम्न आएका थिए । तर उनीहरुको दुर्घटनामा परि ज्यान गएको छ ।

सम्बन्ध विच्छेदको तयारीमा रहेका उनीहरुका छोरा छोरी दुवै आमा वैभवीसँग बस्ने गरेको र अशोक भने एक्लै बस्ने गरेको बताइएको छ । वैभवीको माइतीतर्फ आमामात्रै रहेकोले आफ्ना छोराछोरीलाई आमासँगै राख्ने गरेको बताइएको छ।

वैभवी मुम्बईको बान्द्रा (कुर्ला) कम्प्लेक्सस्थित एक निजी कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्थिन् भने छोरा धनुष इन्जिनियरिङमा उत्तीर्ण छन् भइसकेका थिए । त्यस्तै छोरी ऋतिका स्कुलमा पढ्ने गरेकी थिइन् ।

अशोक पनि एक धनाढ्या परीवारका सन्तान थिए । उनका बुबा पूर्वजिल्ला न्यायाधीश रहेको बुझिएको छ । यद्यपि उनका बुबा भने दिवांगत भइसकेका थिए । Source: news24nepal.tv

पाखुका मृगौलापिडित सकबहादुरद्धारा सहयोगको अपिल

0

मृगौला रोगबाट थलिएका म्याग्दीको मंगला गाउँपालिका–५ पाखुका सकबहादुर छन्त्यालले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । हाल भक्तपुरको शहिद गंगालाल राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत ४८ वर्षीय छन्त्याललाई कमजोर आर्थिक अवस्थाका कारण डायलाइसीस र मृगौला प्रत्यारोपणका लागि समस्या परेको हो ।

२०७८ जेठमा ओमानमा कार्यरत रहँदा दुवै मृगौलाले काम गर्न छाडेपछि सम्बन्धित कम्पनीले छन्त्याललाई नेपाल पठाइदिएको थियो । वैदेशिक रोजगारबाट जिविकोपार्जन गर्दै आएका छन्त्याल आफै थलिएपछि उपचारमा समस्या भएको बताउनुभयो ।

आफुसँग भएको र आफन्तबाट सरसापटी गरेर अहिलेसम्म डाइलाइसीस र औषधी खर्च जुटाएका छन्त्याललाई श्रीमतीले मृगौला दान गर्ने तयारी गर्नुभएको छ । दाता तयार भएपनि थप आर्थिक स्रोत नहुँदा मृगौला प्रत्यारोपण गर्न समस्या भएको छन्त्यालले बताउनुभयो ।

छन्त्यालका तीन जना छोरी र एक जना छोरा छन् । एक जना छोरी स्थानीय सहकारीमा मार्केटिङ गर्छिन भने अरु तीन जना गाउँकै विद्यालयमा पढ्छन् । सामान्य वर्गका छन्त्याल परिवार कृषि पेशामा निर्भर छन् ।

श्रीमतिले मृगौला दान गर्न तयार भएकाले प्रत्यारोपणका लागि आवश्यक खर्च जुटाउन समन्वय गरिएको छिमेकी ताराबहादुर क्षेत्रीले बताउनुभयो । बेनीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषमा सहयोगका लागि प्रस्ताव गरिएको क्षेत्रीले बताउनुभयो ।

यसैगरी स्वदेश तथा विदेशमा रहेका आफन्त, छिमेकी, गाउँले, साथी र अन्य मनकारी व्यक्तिहरुलाई पनि सहयोगको अपिल गरिएको छ । सहयोग गर्न इच्छुक महानुभावहरुले एनसीसी बैंकमा सकबहादुर छन्त्यालको नाममा रहेको ११८०००००८०६१० मा जम्मा गर्न र ९७४१८४०१९४ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

 

तारा एयर विमान दुर्घटना : मृत्यु भएकाहरुको शव निकाल्ने प्रयास जारी

0

तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएकाहरुको शव निकाल्ने प्रयास जारी छ। सुरक्षाकर्मीको टोली र स्थानीयको सहयोगमा मृतकको शव संकलन गर्ने प्रयास भइरहेको छ। भीरबाट सबै शव निकालिसकेपछि काठमाडौं पठाउने तयारी भइरहेको छ।

दुर्घटनमा मृत्यु भएका यात्रुका आफन्तलाई काठमाडौं बोलाइएको प्रहरीले जनाएको छ।केही शव भीरमा अड्केकाले डोरीले तानेर निकालिँदै छ। तारा एयरको ९एन- एईटी विमानले हिजो पोखराबाट जोमसोमको उडान लिएको थियो।

निकालिएका अधिकां‌श शव सग्लै र चिन्न सकिने अवस्थामा रहेका छन्।बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको विमान १८ मिनेपछि सम्पर्कविहिन भएको थियो।

सम्पर्कविहीन विमान आज बिहान मात्र मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। विमानमा चालक दलका तीन र १९ यात्रुसहित २२ जना सवार थिए।तारा एयरको विमान दुर्घटना भएको स्थानमा अझै पनि मौसम धुम्म छ। पहाडको चुचुरोमा दुर्घटनास्थल छ भने वरपर हुस्सुले ढाकेको छ।

 

तारा एयरको विमान दुर्घटनाः १४ जनाको शव भेटियो

0

दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ । अरुको खोजी भइरहेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो ।

तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ ।

यार्सागुम्बा टिप्न गएका स्थानीयले दुर्घटनाग्रस्त विमान फेला पारेका थिए । अहिले नेपाली सेना र नेपाल प्रहरीको टोली दुर्घटनास्थल पुगेर उद्दार एवम् खोजी कार्य गरिरहेको छ ।

विमानमा धनुषाका एकै परिवारका सातजना सवार भएको पुष्टि भइसकेको छ । विमानमा १९ जना सवार थिए ।

शव पुरै नजलेको र चिनिने अवस्थामा रहेको त्यहाँ पुग्नुभएका स्थानीय इन्द्रसिँह शेरचनले बताउनुभएको छ । सवै शव संकलन भईसकेपछि सिधै हेलिकप्टर मार्फत काठमाडौँ लगि आफन्तलाई बुझाउने बताईएको छ ।

औषधीय गाँजाका ताजा तथ्य र चुनौतीहरू

0

गाँजाको बोटबाट प्राप्त हुने कलिला पातहरू र प्रशोधित रासायनिक पदार्थलाई औषधीय प्रयोगका लागि बिक्रीवितरण गर्न उपलब्ध गराइएको उत्पादनलाई औषधीय गाँजा भनिन्छ।

विश्वभरनै यसको माग हरेक वर्ष बढिरहेको छ। गत वर्षको तुलनामा यस वर्ष औषधीय गाँजाको माग करिब २२ प्रतिशतले बढेको पाइयो। यो वर्ष मात्र विश्व बजारमा करिब ३ हजार ५ सय करोड अमेरिकी डलर (करिब ४३ खर्ब ४० अर्ब रुपैयाँ) बराबरको कारोबार भएको छ।

बढ्दो विश्व बजारका कारण नेपालमा पनि गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि यसको चर्चा बढेको देखिन्छ। गृह मन्त्रालयले लामो समयको गृहकार्यपछि यससम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको हो।

जनस्वास्थ्य सुरक्षा तथा औषधीय लाभ भएको वनस्पति भएकाले यसको अध्ययन अनुसन्धानमा विश्वभरिका वैज्ञानिकहरू लागिरहेका छन्। मादक पदार्थ अन्तर्गतको वनस्पति भए पनि क्यानडाले यसबाट औषधिहरु आविष्कार गरेपछि यो वनस्पति विश्वव्यापी चर्चामा आएको हो।

गाँजाको सुरक्षित खपत र नियन्त्रित वितरण

औषधीय एवं मनोसक्रिय वनस्पतिको रूपमा आयुर्वेदमा केही हजार वर्षअघि नै मान्यता दिइएका तथ्यहरू हाम्रा शास्त्रहरूमा सुरक्षित छन्। अनुसन्धानका तथ्यहरूको आधारमा वयस्क व्यक्ति, विरामी र मनोरञ्जन आदिका लागि सुरक्षित प्रयोगमा अनुमति दिइएको छ। तर यसको स्वास्थ्य सुरक्षा, विषाक्तता र प्रभावकारिताका प्रमाणहरू भने सीमित छन्।

धेरै देशमा औषधीयबाहेक अन्य प्रयोजनका निम्ति गाँजाको प्रयोग खुला  गर्दा  सुरक्षित  खपत र नियन्त्रित वितरणमा प्रोत्साहन गर्ने खालका नीतिहरू अवलम्बन गरिएको छ। नेपालमा पनि नियन्त्रित खेती तथा वितरणका बारेमा निकै चासोका साथ छलफलहरु भइरहेका छन्। यसका लागि नेपालका केही निकायहरुमा नीति निर्माण कार्य सुरु हुँदैछ।

गाँजाको अनुसन्धानबाट आएका नयाँ उपलब्धिहरू

गाँजामा पाइने औषधीय रसायन ‘टिएचसी’ कैयौं प्रकारका दुखाइ घटाउन एक भरपर्दो विकल्प हुनसक्छ। तर, यसले स्मरण शक्तिमा असर पार्छ। गाँजाको प्रयोगले क्यान्सरका रोगीहरुको अनिद्रा र दुखाइसम्बन्धी समस्या ९५ दशमलव ५ प्रतिशत समाधान भएको पाइएको छ। यो अध्ययन इजरायलका क्यान्सर रोगीहरुमा गरिएको थियो।

यसैगरी केमोथेरापी गराइरहेका क्यान्सरका विरामीहरूमा केमोले पार्ने अन्य दुष्प्रभाव घटाउन पनि गाँजा र यसको मुख्य तत्व सफल भएको पाइएको छ। यो तथ्य अमेरिकाको क्यालिफोर्नियाका अनुसन्धानकर्ताले पत्ता लगाएका छन्।

गाँजा लाभकारी हुँदाहुँदै पनि यसले मानवीय स्वास्थ्यमा केही दूरगामी असर पारेका तथ्यहरु पनि बाहिर आएका छन्। यसको प्रयोगले स्मरण शक्तिमा असर पर्छ भन्ने तथ्य बाहिर आएका हुन्।

यसैगरी गत साता प्रकाशित अनुसन्धान अनुसार गर्भवती महिलाहरूले गाँजा सेवन गरेमा उनीहरुको पेटको बच्चाको मस्तिष्कमा समेत असर पर्छ भन्ने तथ्य सार्वजनिक भएको छ।

करिब ६ महिना पहिले गाँजाको तेल प्रयोग गरेर आँखाको उपचार गरिएको थियो। आँखा धेरै पटक झिम्क्याउने समस्याका लागि गाँजाको तेल लाभकारी हुन्छ भनी इजरायलका वैज्ञानिकहरूले नयाँ तथ्य फेला पारे।

अमेरिकाको उत्तरी टेक्सासको एक विश्वविद्यालयका वैज्ञानिकहरूले गाँजासँग मिल्ने नयाँ रासायनिक तत्वहरू प्रयोगशालाहरूमा उत्पादन गरेका थिए। नयाँ तत्वहरू औषधीय गुणका निम्ति अत्यन्त लाभकारी भएको पाइयो। यसरी उत्पादन गरिएका औषधिहरू गाँजाका औषधिहरुको तुलनामा बिक्रीवितरणका लागि सहज हुने देखिएको छ।

गाँजामा थपिएका नयाँ चुनौतीहरु  

गाँजाको विश्व बजार विस्तार हुँदै जाँदा पातको धुलोको सट्टा यसको सार तत्व, तेल र
रासायनलाई छुट्टयाएर निर्यात गर्दा बढी मुनाफा प्राप्त गर्न सक्ने देखिन्छ। तर, यसको सार तत्व छुट्टायाउन प्रयोग गरिने घोलक पदार्थ जस्तै बेन्जिन, मेथानोल, असितटोनाइटोल आदिको केही अवशेष बाँकी रहन्छ, जुन स्वास्थ्यका निम्ति घातक हुन्छ। दक्षिण अफ्रिकाको नमुनाहरूमा परीक्षण गर्दा ३७ प्रतिशत त्यस्ता नमुनाहरूमा घोलक अवशेष फेला परेको हुनाले यसको एक्सट्रक्ट बनाउने प्रक्रियामा चुनौती देखिन्छ।

मानसिक रोगबाट ग्रसित व्यक्तिहरूमा गाँजाले अझ बढी हानी गर्छ। गत महिना हार्वर्ड विश्वविद्यालयको टोलीले गरेको अनुसन्धनमा कलिलो उमेर समूहका व्यक्तिहरूमा गाँजाले मानसिक रुपमा अत्यधिक प्रभाव परेको देखियो।

गाँजा गैरअपराधीकरण हुँदा धेरै जनसंख्यामा असर पर्ने भएकाले  यसको  व्यापकता सार्वजनिक स्वास्थ्यसँग जोडिने महत्वपूर्ण विषय हो। बिरामीहरूलाई गाँजाबाट बनेको औषधि उपलब्ध गराउने स्वास्थ्यकर्मी, लेख्ने चिकित्सक र प्रयोगकर्ताले मानव खुराकको मात्रा पहिचान गर्दा कमजोरी वा गल्ती हुन गएमा यसले स्वास्थ्यमा दुष्प्रभाव पार्ने खतरा पनि विद्यमान देखिन्छ।

गाँजा खेती गर्न चाहने कृषकले सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने नीति अन्य देशले अवलम्बन गरेका छन्। नियन्त्रित विधिद्वारा तोकिएको भूभागमा मात्र गाँजा खेती गर्नुप¥यो भने, त्यसमा  पाइने औषधीय तत्वहरूको अनुपातमा फेरबदल हुने संभावना पनि त्यत्तिकै रहन्छ। रासायनिक गुण उत्कृष्ट भएका बोटका प्रजाती छनोट गरी तोकिएको स्थानमा उत्पादन, भण्डारण गर्न सके मात्र उच्च गुणस्तरको कच्चा पदार्थ प्राप्त हुन्छ र आर्थिक रूपान्तरणमा टेवा पुग्छ भन्ने कुरा स्विजरल्याण्ड, इजरायल, क्यानडाले अपनाएको प्रविधिबाट सिक्न सकिन्छ।

गाँजालाई कानुनी मान्यता दिँदा अपराधिक गतिविधि प्रोत्साहित हुने चुनौती थपिएको तथ्य कर्नेल विश्वविद्यालयका प्राध्यापक श्याम रमणमले चार साताअघि सार्वजनिक गरेका छन्।

मनोरञ्जन र औषधीय प्रयोजनका लागि दिइने गाँजाको कानुनी अन्तर सम्बन्धबारे स्पष्टता छैन। औषधि सेवन गर्ने बिरामीहरुलाई मनोरन्जनका लागि दिइएको गाँजाले दुखाई, अनिन्द्रा, चिन्ता, मानसिक तनाब आदि रोगहरुमा खाने गरेको औषधिको खुराकलाई समेत घटाएको पाइयो।

यस्तो अवस्थामा गाँजालाई औषधीय वर्ग वा अन्य कुनै वर्गमा वर्गीकरण गर्ने र अपराधिक गतिविधिबाट कसरी कानुनी भिन्नता निर्धारण गर्ने भन्ने अर्को एउटा चुनौती देखिन्छ।

अन्त्यमा गाँजा एक औषधीय वनस्पति हो। गाँजालाई गैरअपराधीकरण वा अनुसन्धानका लागि सहजीकरण गराउने विषयमा अन्तर्राष्ट्रिय अभ्यास, सिकाई र अनुसन्धानका ताजा तथ्यहरूलाई आधार बनाएर निर्णय लिँदा बुद्धिमानी हुन्छ।

(लेखक डा. राजेन्द्र ज्ञवाली काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक एवं जडीबुटी विज्ञ हुन्।)

यस्तो अवस्थामा भेटियो ताराको दुर्घटनाग्रस्त जहाज

0

आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले दिएको जानकारीअनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा आज बिहान फेला परेको हो।

सम्पर्कविहीन जहाज खोजीका लागि गएको सेनाको टोलीले दुर्घटनाग्रस्त अवस्थामा रहेको जहाज देखेका छन्। जहाज दुर्घटनाग्रस्त भएका ठाउँमा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ।

शनिश्चरे भन्ने स्थानमा जहाज दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ ।

आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो।

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।

जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।

जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए। Setopati

पोखरा-जोमसोम उडान, प्रत्येक उडानमा ३ मिनेट एटीसी र पाइलट सम्पर्कविहीन

0

जोमसोम पुग्न हवाई सेवा पोखराबाट सहज छ। तर बेलाबखतका दुर्घटनाले यो रुटको यात्रामा जानेलाई ढुक्क हुने अवस्था भने छैन। पोखरा-जोमसोम उडानमा इनरुटमै समस्या हुँदा बारम्बार दुर्घटना हुने गरेको छ। सोही दुर्घटना आइतबार पुनः दोहोरिएको छ।

पोखरा-जोमसोम रुटमा २७ मिनेटको समय लाग्छ। तर इनरुटमा डाँडाले छेकिँदा तीन मिनेटजति जहाज सम्पर्कविहीन हुने गरेको छ। दुर्घटनाको समयमा मात्रै यो विषय उठ्ने गर्दछ। डाँडामा टावर र सिग्नलका उपकरण राख्ने चर्चा चल्ने गर्दछ। पुराना जाँचबुझ आयोगले दिने प्रतिवेदनमा समेत यो विषय उल्लेख गरिएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्स कम्पनीहरू पनि दुर्घटनाको समयमा मात्रै यो विषय उठाउने गर्दछन्। वर्षौंदेखि सानो सिग्नलको टावरसमेत राख्न नसक्दा अकालमा यात्रुहरूले ज्यान गुमाउनु परेको छ। इनरुटमा समस्या हुँदा पाइलट र एटीसीबीचको सम्पर्क ३ मिनेटसम्म टुट्ने गर्दछ।

पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन-एन एईटी ट्विनअटर विमान बिहान ९ बजेर ५५ मिनेट गएपछि जहाज सम्पर्कविहीन भएको थियो। जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले जानकारी दिएका छन्। जहाजमा चार जना भारतीय नागरिक, दुईजना अन्य देशका र १३ जना नेपाली यात्रु साथै चालक दलका तीन सदस्य गरी २२ जना छन्।

उड्ने क्रममा पोखरा र जोमसोमबाट मौसम अनुकुल देखिए पनि बीचमा गएर हवाई दुर्घटना भएको एयर ट्राफिक कन्ट्रोलरले जनाएको छ।

यसअघि पनि यस्तै दुर्घटना

२०७२ फागुन १३ गते पनि पोखराबाट उडेको तारा एयरको विमान म्याग्दीको दाना गाविस क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलसहित २३ यात्रुको मृत्यु भएको थियो।

जोमसोम उडानमा सहरी क्षेत्रमा अनुकुल अवस्था रहे पनि बीच भागको अवस्था थाहा नै नहुने गर्दछ। यो रुटमा जहाज एटीसीको समेत सम्पर्कमा केही समय हुँदैन। सन् १९९८ मा एटीएससी लुम्बिनी एयरको विमान दुर्घटना हुँदा चालकदलसहित १८ को ज्यान गएको थियो।

यस्तै अग्नि एयरको जहाज २०६९ जेठ १ मा सोही रुटमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा चालकदलका २ सदस्य, १६ भारतीय पर्यटक सवार रहेका थिए। घटनामा चालकदलका २ र १३ भारतीय पर्यटकको ज्यान गएको थियो। विमानमा आगो नलागेकाले ६ जनाको घाइते अवस्थामा उद्धार हुन सकेको थियो। सबै भारतीय पर्यटक मुक्तिनाथ दर्शनका लागि आएका थिए। जहाज जोमसोम विमानस्थलमा अवतरणका क्रममा नजिकैको पानीट्यांकी डाँडामा ठोक्किएर दुर्घटना भएको थियो।

यस्तै २०७० मा पनि नेपाल एयरलाइन्सको विमान दुर्घटना भयो। जहाज मार्फत गाविस-५ स्थित पुथाङ विमानस्थलको धावनमार्गबाट कालीगण्डकी नदीमा खस्दा चालक दलका सदस्य समेत सबै २१ जना यात्रु घाइते भएका थिए। विमानस्थलको धावनमार्गमा ओर्लिएको जहाज झन्डै २० मिटर अघि बढेपछि केही तल कालीगण्डकी नदीमा खसेको थियो।

जोमसोमबाट पोखरा फर्किएको सांग्रिला एयरको विमान २०५९ भदौ ३ गते दुर्घटना हुँदा १८ जनाको घटनास्थलमा मुत्यु भएको थियो। बारम्बार विमान दुर्घटना भएर पोखरा-जोमसोम हवाई उडानमा मानवीय क्षति भइरहँदा पनि नियामक मुकदर्शक हुँदा टावर र सिग्नलका उपकरणमा वेवास्ता भइरहेको छ।

error: Content is protected !!