Thursday, May 15, 2025
21.1 C
Beni
21.1 C
Beni
Thursday, May 15, 2025
Home Blog Page 846

मंगोल नेशनल अर्गनाइजेशनले म्याग्दीका सबै पालिकामा उम्मेदवारी दर्ता

0

मंगोल नेशनल अर्गनाइजेशनले जिल्लाको सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ । जिल्लाको सबै स्थानीय तहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य सहितका पदमा मनोनयन दर्ता गराएको हो ।

‘मुलवासी मंगोल जगाऔं । अस्तित्व बचाऔं’ भन्ने अभियानका साथ म्याग्दीमा पहिलोपटक चुनावमा होमिएको मंगोल नेशनलले बेनी नगरपालिकाको मेयरमा नरबहादुर थापा,उपमेयर बिवा आले, वडा नं १ रत्नेचौरमा बाल थापा, वडा नं ३ भकिम्ली दिपक पुनको सोमबार जिससको सभाहलमा उम्मेदवारी दर्ता गरेको छ ।

त्यस्तै मालिका गाउँपालिका प्रमुख खमबहादुर रोका,उपप्रमुख धनदेवी बुढा, वडा नं १ अध्यक्षमा कुशल पुन, वडा नं २ प्रेम रोका, वडा नं ३ ज्ञानबहादुर पुन, वडा नं ४ दलप्रसाद घर्ती, वडा नं ५ बुद्धिप्रसाद फगामी र वडा नं ६ बुलप्रसाद रोकाको उम्मेदवारी दर्ता भएको जिल्ला अध्यक्ष डेकबहादुर पुन (डिके पुन)ले बताए ।

त्यस्तै धवलागिरी गाउँपालिका अध्यक्षमा सकबहादुर पुन, उपप्रमुख थममायाँ रोका, वडा नं ३ अध्यक्षमा प्रेमबहादुर पुन, सदस्यहरूमा लालप्रसाद सिर्पाली, युगलाल सुनार, महिला सदस्य बालकुमारी सिर्पाली, जसदेवी बिक रहेका छन् । मुनामा मंगोलले वडामा प्यानलै उम्मेदवारी दिएको अध्यक्ष पुनले बताए । त्यस्तै वडा नं ४ दलप्रसाद विक, वडा नं ७ बलबहादुर गर्बुजा रहेका छन् ।

मंगला गाउँपालिका अध्यक्षमा गिरीबहादुर रोकाको मनोनयन दर्ता भएको छ भने अन्नपूर्ण गाउँपालिका अध्यक्षमा रामबहादुर गर्बुजा,उपप्रमुख एलिना शेरपुञ्जालक्ष्मण पुर्जा, वडा नं ५ मा डमबहादुर पुन, वडा नं ६ प्रेमबहादुर पुर्जा र वडा नं ७ गेमबहादुर बुढाले उम्मेदवारी दर्ता गरेका छन् ।

रघुगंगा गाउँपालिकामो विभिन्न १० पदमा उम्मेदवारी दर्ता गराएका छन् ।गाउँपालिका अध्यक्षमा तुलप्रसाद गर्वुजा, वडा नम्बर १ को अध्यक्षमा भिमकुमार पुन, सदस्यहरूमा टकबहादुर पुर्जा, मनमायाँ विक, वडा नम्बर ४ मा अध्यक्षमा भरत गर्वुजा, सदस्यमा जालमायाँ विक, वडा नम्बर ५ झिँमा वडा अध्यक्षमा पदम शेरपुञ्जा, वडा नम्बर ६ पाखापानीमा वडा अध्यक्षमा प्रकाश पाईजा र वडा सदस्यमा पोविक विक,वडा नम्बर ७ चिमखोलामा वडा अध्यक्षमा गगन पुनको उम्मेदवारी दर्ता भएको छ।

 

बेनपा-२ मा स्वतन्त्रबाट चेतबहादुर खड्काद्धारा मनोनयन दर्ता

0

बेनी नगरपालिका-२,खवराका चेतबहादुर खड्काले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खड्काले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

यसअगाडीको स्थानीय तहमा जनताको आवश्यकता भन्दा पहुँचमा रमाउने प्रयास भएको बताउँदै आफुँले वडाको विकासका लागि उम्मेदवारी दिएको बताउनुभयो ।

राप्रपाको मेयरमा मिनाकुमारी र उपमेयरमा रावलको उम्मेदवारी दर्ता

0

बेनी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले एकल उम्मेदवारी दर्ता गराएको छ । सोमबार जिसस सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मेयरमा मिनाकुमारी शर्मा सापकोटा, उपमेयरमा एकेन्द्र रावलले मनोनयन दर्ता गर्नुभएको छ । राप्रपाले नगरभित्रका केही वडामा समेत उम्मेदवारी दिएको छ ।

बेनपा–१ अध्यक्षमा नगेन्द्रबहादुर बोगटी, वडा नं २ कृष्णबहादुर बोगटी, बेनपा–४ मा वडा सदस्यमा विज्ञान हमाल, वडा नं ५ मा श्यामप्रसाद श्रेष्ठ, वडा नं ७ अध्यक्ष तोपबहादुर खत्री, वडा नं ८ झलप्रसाद गौचनले मनोनयन दर्ता गर्नुभएको राप्रपाका अध्यक्ष बिरबहादुर थापाले जानकारी दिनुभयो ।

‘यसपटक एकल उम्मेदवारीबाटै निर्वाचनमा जान्छौ,‘चुनाव चिन्ह फरक दलमा सहभागी हुन गरिएको प्रस्तावलार्इ हामीले अस्वीकार गरेका छौ’ अध्यक्ष थापाले भन्नुभयो । राप्रपालाई अन्य दलको चुनाव चिन्हमा सहभागी भएको जानकारी आएमा केन्द्रबाटै उम्मेदवारी रद्ध गर्ने निर्देशन आएको जनाइएको छ ।

यता राप्रपाले जिल्लाका अन्य स्थानीय तहमा समेत मनोनयन दर्ता भइरहेको जनाएको छ । म्याग्दीका नयाँ पुस्ताले राप्रपाले जिल्लामा विगतमा गरेका कामका बारेमा जानकारी मात्रै गराउन सकेमा लहर आउने भएकाले तालमेलमा आफ्नै चुनाव चिन्हबाट प्रतिस्वर्धा गर्न दिने वातावरण भए सहज हुने बताइएको छ ।

बेनी नगरको मेयर र उपमेयरमा कांग्रेसबाट उम्मेदवारी दर्ता

0

नेपाली कांग्रेसबाट बेनी नगरपालिकाको मेयरमा चिरञ्जीवी शर्मालाई उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार जिसस सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

कांगे्रसबाट उपमेयरमा मनोनित प्रदेश सदस्य अमृतादेवी बानियाँले उम्मेदवारी दर्ता गर्नुभएको छ । मनोनयन दर्ताको क्रममा मेयर शर्माले आफ्नो प्रतिबद्धतापत्रलाई पूर्णरुपमा पालना गर्ने बताउनुभयो । उहाँले बेनी नगरलाई सुन्दर र नमुना बनाउने अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

बेनी नगरको मेयर र उपमेयरमा नेकपा एमालेबाट उम्मेदवारी दर्ता

0

नेकपा एमालेबाट बेनी नगरपालिकाको मेयरमा सुरज केसीले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर केसीले उम्मेदवारी दर्ता गर्नुभएको हो । पाटीका जिल्ला सचिव केसीले जनताको सेवा गर्न ५ बर्षका लागि अवसर दिन नगरबासीलाई अपिल गर्नुभएको छ । एमालेबाट नगरपालिकाको उपमेयरमा पशुपती शाहीले उम्मेदवारी दर्ता गर्नुभएको छ । एमाले प्रदेश कमिटीले सोमबार नै मेयर र उपमेयरको टुंगो लगाएको थियो ।

भकिम्लीका धन श्रीषले दिए बेनी नगरपालिकाको मेयरमा उम्मेदवारी

0

बेनी नगरपालिका–३, भकिम्लीका धनबहादुर श्रीषले बेनी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनुभएको छ । जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार श्रीषले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

म्याग्दीका नमुना बाख्रापालक कृषक श्रीषले राज्यका निकायबाट कृषकलाई गरिने अपमान, अनुदानमा हुने भेदभाव तथा कृषि तथा पशुपालन सहित सम्रग नगरपालिका भित्रका समस्या समाधान गर्न मेयरमा उम्मेदवारी दिएको बताउनुभयो ।

‘मेरो उम्मेदवारी फिर्ताका लागि होईन्,‘अब सबै वडाभित्र अभियानमा जान्छु’ श्रीषले भन्नुभयो । नगर क्षेत्रको विकासका लागि आवश्यक सहकार्य गर्न अन्य उम्मेदवारलाई समेत अनुरोध गर्नुभएको छ । पेशाले कृषक श्रीषले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले जित्ने दाबी गर्नुभयो ।

राष्ट्रिय बाख्रापालक महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहनुभएका श्रीषले बाख्रापालक कृषकहरुलाई आफ्नो उम्मेदवारीमा विषेश सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले भकिम्लीमा पहिलो तथा सम्रग नगरभित्र आफ्नो सम्मानजक मत सहित विजय हुनेमा ढुक्क रहेको बताउनुभयो । मेयरका उम्मेदवार श्रीषलाई भकिम्लीमा स्वतन्त्र सहितका उम्मेदवारले समेत सघाउने संकेत मिलेको छ ।

रघुगंगामा माओवादीको उम्मेदवारी दर्ता, अध्यक्षमा विक र उपाध्यक्षमा कटुवाल

0

माओवादीबाट रघुगंगा गाउँपालिका अध्यक्ष पदमा मिना विक र उपाध्यक्षमा रिम कटुवालले उम्मेदवारी दिनुभएको छ । रघुगंगा गाउँपालिका–६ पाखापानी निवासी विक गाउँपालिका अध्यक्षमा उम्मेद्वार बन्ने म्याग्दीको एकमात्रै दलित महिला बन्नुभएको छ । रघुगंगामा माओवादीबाट उपाध्यक्षका उम्मेदवार बन्नुभएका कटुवाल रघुगंगा गाउँपालिका २ भगवतीको निवर्तमान वडा अध्यक्ष हुनुहुन्छ ।

रघुगंगामा माओवादीबाट वडा १ बाट अध्यक्षमा भविन्द्र शेरपुजा,सदस्यहरुमा खिम बहादुर पुर्जा, बालकुमार गर्वुजा, पार्वति कमिनि उम्मेदवार बन्नुभएको छ । वडा २ भगवतीमा अध्यक्षमा नरबहादुर भण्डारी, सदस्यहरुमा निर्मल केसी, सम्झना केसी, कल्पना भण्डारी र सर्मिला बाग्दास उम्मेदवार बन्नुभएको छ ।

त्यसैगरि वडा नम्बर ३ पिप्लेमा अध्यक्षमा रेशम कटुवाल, सदस्यहरमा घनश्याम परियार, भक्तबहादुर चन्द, टेककुमारी हमाल ठकुरी खत्री, बिमा सार्की उम्मेदवार बन्नुभएको छ । त्यसैगरि वडा नम्बर ४ मा अध्यक्षमा बि प्रसाद पुन, सदस्यमा याम विक, हिरामन पाईजा, मैना विक र छमायाँ सुनार रहनुभएको छ ।  त्यसैगरि वडा नम्बर ६ पाखापानीबाट अध्यक्षमा होमबहादुर विक, सदस्यहरुमा सन्तोष विक, सविर विक र मञ्जु बिकले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
मनोनयन दर्ता पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार विकले दलित महिलाको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनाएकोमा पार्टीलाई धन्यबाद दिँदै गाउँपालिकाको सबै वडाहरुको न्यायोचित विकास र शुसासनका लागि आफु चुनाबै मैदानमा आएको बताउनुभयो ।

मतदाता भन्छन्, ‘अब सडक होइन, रोजगारको आवश्यकता’

0

स्थानीय तहको निर्वाचन आउन १७ दिन मात्र बाँकी रहँदा हिमाली जिल्ला म्याग्दीमा पनि चुनावी रौनकले छोएको छ।

राजनीतिक दलहरु उम्मेदवारको छनोटमा व्यस्त छन् भने छनोट भएका उम्मेदवारहरु आफ्नो पक्षमा भोट माग्न चुनावी प्रचार प्रसारमा व्यस्त देखिन्छन्। कामको सिजन सुरु भएकोले ग्रामीण भेगका मतदाताहरु बिहानैदेखि खेतबारीमा बालीनालीको काममा व्यस्त हुन्छन्। मतदाताहरुलाई घरमा नभेटेपछि भोट माग्न गाउँ पुगेका उम्मेदवार र राजनीतिक कार्यकर्ताहरु मतदातालाई भेट्न खेतबारीमा नै पुगिरहेका छन्।

२०७४ सालको स्थानीय तहको निर्वाचन पछि लामो समयसम्म रिक्त रहेका स्थानीय तह (साविकका गाउँपालिका,नगरपालिका) ले आफूले चुनेका जनप्रतिनिधि पाएपछि धेरै ठूलो परिवर्तनको आशा गरेका थिए ।

स्थानीयको आशा अनुरुप विकासतर्फ सडक विस्तार भएर यातायातको सुविधा त प्राप्त भयो तर जनताको जीवन स्तरमा भने खासै ठूलो परिवर्तन हुन सकेन। स्थानीय उत्पादनको बृद्धि र गाउँमा रोजगारीको सृजना हुन नसक्दा गरिखाने उमेरका कैयौं युवाहरु विदेशीन वाध्य भए ।

कोरोना महामारीका कारण विगत दुईवर्षको अवधीमा विकसित देशहरुमा पनि आर्थिक अवस्थामा गिरावट आएपछि रोजगारी गुमाएर गाउँ फर्किएका युवाहरु अहिले कोरोना संक्रमणको अवस्था सामान्य बन्दै गएपछि पुनः वैदेशिक रोजगारीका लागि विदेशजाने तयारीमा छन्।

१ नगरपालिका र ५ गाउँपालिका गरी ६ ओटा स्थानीय तह र ४५ ओटा वडा रहेको म्याग्दीमा धवलागिरि गाउँपालिकाको गुर्जा बाहेक अरु ठाउँमा सडकको पहुँच पुगेको छ। विगतका पाँच वर्षमा जिल्लामा १ सय ६० वटा भन्दा बढी ग्रामीण सडक विस्तार भएका स्थानीय तहहरुको तथ्याङ्कले देखाएको छ।

सडक निर्माणका लागि मात्रै स्थानीय तहको ६८ प्रतिशत,प्रदेश र संघीय सरकारको ४२ प्रतिशत जिल्लामा आउने बजेट खर्च भएको देखिए पनि सडकले केही सुविधा त दिएको छ तर जनताको जीवन स्तरमा भने खासै परिवर्तन ल्याउन नसकेको स्थानीयहरुले बताएका छन्।

अबको पहिलो प्राथमिकता उत्पादमुखी काम र रोजगारी सृजना

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका ४ दर्मिजाका ८९ वर्षिया कलीमाया गर्वुजा र उनका श्रीमान् ९१ वर्षिय मेख गर्बुजा घरमा श्रीमान श्रीमती मात्र छन्। दुई तले ढुङ्गे घरका दलिन र खाँवाहरु मक्किन लागेका छन्। आगन र पीडिमा झार उम्रेको छ। छोरा बुहारी,नाति नातिनी रोजगारका लागि विदेश छन् भने कोही अध्ययनका लागि सहरमा झरेका छन्।

गत साल मात्रै सडक सुविधा पुगेको दर्मिजामा धेरै जसो युवाहरु कामको खोजिमा विदेश गए पछि घरमा बूढाबूढी मात्र  छन्। गाउँमा बूढाबूढी, बुढ्यौलीले छुन लागेका र १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु मात्र बढी देखिन्छन्। आफ्नै वडामा ठूलो जलविद्युत आयोजना निर्माण भैरहेको छ। भारतीय र मधेसमूलका कामदारहरुले काम गरिरहेका छन्  तर स्थानीयले त्यहाँ काम नपाइए पछि झोला बोकर खाडी मुलुकमा जान बाध्य भएका स्थानीय रणबहादुर पुर्जा बताउँछन्।

‘बाटो खुल्यो,गाडी गुड्यो तर गाडीमा चड्ने पैसा हुँदैन,गाउँमा रोजगारी छैन,विदेशबाट छोरा,नातिले पठाइदिने पैसाले जीवन चलेको छ’ ६८ वर्षिय पुर्जाले भने ‘कहिले ७० वर्ष पुगिएला र सरकारी भत्ता खान पाइएला जस्तो भएको छ।’

म्याग्दीको ग्रामीण क्षेत्रमा ९२ प्रतिशत भन्दा बढी मतदाता छन्। प्रायः मतदाताहरुले अब बन्ने स्थानीय सरकारसंग आफ्नै गाउँमा रोजगारी र उत्पादनमूलक विकासको माग गरेका छन्।

पश्चिमी म्याग्दीको धवलागिरी गाउँपालिका ७ का सोमबहादुर विकले भोट माग्न गाउँमा आउने उम्मेदवारलाई रोजगारी दिन्छु भनेर वाचाकबुल गराएर मात्र भोट दिने बताउँछन्। ‘डोजर,स्काभेटर लगाएर अब सडक खन्ने होइन,जनता रोजगार हुने खालको कार्यक्रमहरु ल्याउनु पर्छ,उत्पादनमुखी र आयआर्जन मूलक कामका लागि सरकारी बजेट खर्च गर्नुपर्छ’ विकले भने।

दर्जन बढी जलविद्युत आयोजना,स्थानीयलाई रोजगारी छैन

म्याग्दीको अन्नपूर्ण, रघुगंगा र मालिका गाउँपालिकामा एक दर्जन बढी जलविद्युत आयोजनाहरु निर्माणाधिन छन्। निर्माणाधिन आयोजनाहरुमध्ये चारवटा आयोजनामा स्थानीयको साझेदारी लगानी पनि छ। तर स्थानीयले ती आयोजनाहरुमा रोजगारी भने प्राप्त गर्न सकेका छैनन् ।

स्थानीयलाई चलनचल्तीको ज्याला दिनुपर्ने तर बाहिरबाट कामदार ल्याएर काम गराउँदा कम ज्यालामा नै मजदुरहरु पाइनेहुँदा ठेकेदार कम्पनिहरुको रोजाइमा बाहिरका कामदारहरु नै पर्ने गरेका छन्।

नेकपा एमालेको तर्फबाट रघुगंगा गाउँपालिकाको अध्यक्षका उम्मेदवार प्रेमबहादुरक कार्की (दीपक)ले भने ‘रघुगंगा गाउँपालिकामा मात्रै ६ वटा हाईड्रोपावर निर्माणाधिन छन्। जहाँ काम गर्ने स्थानीयहरू २ प्रतिशत पनि छैनन्। गाउँपालिका भित्र धेरै बेरोजार मानिसहरू हुनुहुन्छ। योग्यता क्षमता र सीप बमोजिम स्थानीयले पहिलो प्रथामितामा रोजगारी पाउनु पर्दछ हाम्रो जोडदार प्रयास यो हुनेछ।’

उनले भने ’सामाजिक उत्तरदायित्वको ठोस काम हाईड्रोपावरहरूले गरिरहेका छैनन, बिकासको साझेदारको रूपमा यिनीहरूलाई अनिवार्य दायित्वबोध गराईने छ ।’

यस्तै अवस्था अन्नपूर्ण गाउँपालिकाको पनि छ। अन्नपूर्णमा निर्मार्णाधिन ठूला जलविद्युत आयोजनाहरुमा भारतीय कामदारको नै रजगज छ । स्थानीयले ती आयोजनाहरुमा काम पाउन नसक्दा उनीहरु विदेशीन वाध्य भएका छन्।

खानी उत्खनन्जडिबुटी,पशुपालन र कृषिमा गर लगानी

म्याग्दीलाई अपार संभावनाहरुको जिल्ला भनेर पनि चिनिन्छ। यहाँ तामाखानी,स्लेट खानी,चुनढुंगा खानी,कर्जस्टोन लगाएत प्रशस्त खानीहरु रहेका छन्। तर ती खानीहरु उत्खनन् हुन नसक्दा राज्यले करोडौं रुपैयाँ राजस्व गुमाएको छ भने स्थानीयहरु रोजगारबाट वञ्चित भएका छन् ।

मालिका गाउँपालिकाको ओखरबोटमा विशाल तामाखानी छ। तर त्यो खानी २०२८ सालदेखि बन्द अवस्थामा छ। खानी उत्खनन्का लागि प्रशस्तै पहलहरु भएता पनि खानी संचालन सम्वन्धि संघीय सरकारको झण्झटिलो नीतिका कारण खानी उत्खनन् हुन नसकेको मालिका गाउँपालिकाका अध्यक्ष तथा आगामी स्थानीय तहको निर्वाचनमा मालिका गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका श्रीप्रसाद रोकाले बताए।

त्यसैगरी मालिका गाउँपालिकाको वडा नं २ रुममा स्लेट र छाउनी ढुंगाका खानीहरु रहेका छन्। ती खानीहरु आंशिकरुपमा संचालनमा आएका भए पनि पूर्णरुपमा संचालन हुन नसक्दा स्थानीयले रोजगारी प्राप्त गर्न सकेका छैनन्। जडिबुटी र वनप्रदावर पनि यहाँको स्थानीय तहको गतिलो आम्दानीको माध्यम बन्न सक्ने देखिन्छ। तर,लगानी र प्रशोधनको अभावका कारण ती सम्पदाहरु त्यत्तिकै खेर गइरहेका स्थानी मतदाताहरुको भनाइरहेको छ।

पशुपालन र व्यवसायिक कृषिमा वास्तविक कृषकले राहत र अनुदान प्राप्त गर्न नसकेको गुनासो कृषकहरुको व्यापक छ। पहुँचवाला र गैह्रकृषकले सरकारबाट प्राप्त अनुदान र सहयोग पाइरहेका तर वास्तविक किसानसम्म राज्यले दिन अनुदान पुग्न नसकेको मालिकाका कृषक श्यामबहादुर विकले बताए।

पर्यटकीय जिल्लाको रुपमा समेत परिचित म्याग्दीमा पर्यटन पूर्वाधार निर्माणका क्षेत्रमा स्थानीय तहले  धेरै लगानी गर्न आवश्यक नरहेको यहाँका सरोकारवालाहरुको भनाइरहेको छ। ‘पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणका नाममा धेरै अनियमितता भएको पाइएको छ, त्यो रोकिनुपर्छ’बेनी नगरपालिकाका राजु पौडेलले भने ‘हिमाललाई अग्लाउनु पर्दैन र सकिदैन पनि, गुराँसलाई रंग्याउनु पर्दैन, झरनालाई संगीत सुनाइरहनु पर्दैन, डाँडाँपाखामा टावर ठड्याउनु पर्दैन,बरु त्यहाँ गर्ने लगानी कृषीमा गरौं,उत्पादन बढाऔं’ पौडेलले भने।

चुनावकै मुखमा विदेशीदै युवा

मलिन अनुहार, शिरमा कालो छाते टोपी, निधारमा बिदाइको रातो अच्छेता र हातमा हरियो रङ्गको झोलासहित युएईमा मजदुरीको अन्तिम यात्रा साँधेर आइतवार विहान बेनीको कालीपुल वसपार्कमा  ४१ वर्षीय तीर्थबहादुर विक भेटिए।

जिल्लाको धवलागिरि गाउँपालिका ४ का विकले आसन्न निर्वाचनमा मतदान गर्ने चाहना हुँदा पनि रोजगारीको बाध्यताले आफू विदेशिन बाध्य भएको गुनासो गरे।

विगत पाँच वर्षदेखि युएईमा रोजगारी गरेर परिवारको खर्च धान्दै आउनुभएका विक आफू डेढ महिनाका लागि बिदामा घर आएको बताए। विकजस्तै दैनिक सयौँ मताधिकार भएका नेपाली निर्वाचनको परबाह नगरी कालीपुल बसपार्कबाट बस चढी विदेशलाई अन्तिम लक्ष्य बनाइ काठमाण्डौं पसिरहेका छन्।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चुनावी माहोल तातिरहेका बेला आर्थिक अवस्थाले ग्रसित मतदाता रोजगारीका लागि विदेशिनु बाध्यता भएको बताउँछन्।

‘डेढ महिनाको बिदा लिएर घर  आएको थिएँ,’ विकले  भने– ‘ भोट हाल्नका लागि पर्खेर बसे उता जागिर नै रहन्न।’ यसअघिका निर्वाचनसम्म आफूले मताधिकार प्रयोग गरेको बताउँदै उनले आसन्न निर्वाचनमा भने आफ्ना परिवारले मतदान गर्ने बताए।

घरमा गाउँको विकास र रोजगारी सिर्जना गर्ने नेतालाई मात्रै मतदान गर्नु भनेर सल्लाह दिएको विक बताउँछन्। यतिका चुनावमा मतदान गर्दा केही उन्नति भएजसो नलागेकोले मुलुकमा नयाँ व्यवस्था लागू भए पनि बेरोजगार युवाको विषयमा सरकार गम्भीर नभएको उनको आरोप छ।

 

बेनीको मेयरमा एमालेबाट सुरत केसी उम्मेदवार

0

बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट सुरत केसी  उम्मेदवार चयन हुनुभएको छ । गण्डकी प्रदेश कमिटीको बैठकले केसीलाई बेनीको मेयरको उम्मेदवार चयन गरेको हो ।

केसी नेकपा एमाले म्याग्दीका सचिव हुनुहुन्छ । मेयरका लागि एमाले नगर कमिटीले ४ जनाको नाम जिल्ला कमिटीमा पठाएको थियो ।

जिल्ला कमिटीमा पनि टुङ्गो नलागेपछि केसी सहित प्रमोद श्रेष्ठ, सन्तोष रावल र नारायण जिसीको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको थियो । प्रदेशमा सिफारिस गरिएका मध्यबाट केसीले मेयरको टिकट प्राप्त गर्नुभएको हो । त्यस्तै उपमेयरको उम्मेदवारको टिकट पशुपति शाहीले पाउनुभएको छ ।

चारैजना उम्मेदवार सवल र योग्य देखिएपछि एमालेलाई टुङ्गो लगाउन सकस परेको थियो । विभिन्न प्राकृतिक प्रकोप तथा विपदको समयमा जिल्लाका नागरिकहरुको सेवामा समर्पित केसीलाई मेयरको उम्मेदवार बनाउन सामाजिक सञ्जालहरुमा समेत प्रतिक्रिया आइरहेका थिए ।

एमालेका उम्मेदवारले रघुगंगामा मनोनयन दर्ता

0

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेले रघुगंगा गाउँपालिकाका उम्मेदवारले मनोनयन दर्ता गर्नुभएको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाटँमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्ष पदको उम्मेदवारमा दीपक कार्की (प्रेमबहादुर) र उपाध्यक्षमा यामकुमारी गर्वुजाले दर्ता गर्नुभएको हो ।

रघुगंगा गाउँपालिका–३ रानीपौवा निवासी कार्कीलाई अध्यक्ष र सोही वडाको मौवाफाँट निवासी गर्वुजालाई उपाध्यक्षमा उम्मेदवार बनाएको छ । एमालेले रघुगंगा १ बेगखोलामा धनबहादुर गर्वुजा, २ भगवतीमा अमृत भण्डारी, ३ पिप्लेमा खिमबहादुर शाही, ४ दग्नाममा इन्द्रमान थजाली, ५ झिँमा तेजु शेर्पुञ्जा, ६ पाखापानीमा शम्सेर पाईजा र ७ चिमखोलामा रिम पाईजालाई वडाअध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।