विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? पक्कैपनि धेरैले प्राथमिक तहदेखि माध्यामिक तहसम्मका शिक्षकको तलब दर्जा अनुसार पाउने अनुमान गर्छन् । तर, म्याग्दीको एक विद्यालयका शिक्षकले विगत ९ बर्षदेखि मासिक रु दुई हजार तलब पाउने गरी पढाउँदै आएका छन् ।

जिल्लाको बेनी नगरपालिका–५, पुरूण्डीमा रहेको सरस्वती आधारभूत विद्यालयमा पढाउँदै आएका गणेश परियारले मासिक २ हजार तलबमा अङ्ग्रेजी, गणित, विज्ञान विषय अध्यापन गराउने गरेका छन्। सतप्रतिशत दलित विद्यार्थीले पढ्ने विद्यालयमा परियारले न्यून तलबसुविधामा कार्यरत रहेको बताए ।

‘अभिभावकाको आर्थिक अवस्था दयनीय छ,‘विद्यालयको आन्तरिक स्रोत छैन्,थोरै तलबमा चित्त बुझाउनुपरेको छ’ परियारले भने ।

दलित बस्तीका बालबालिकालाई साक्षर गराउने अभियानमा राम्रो तलबसुविधामा ध्यान जान नसकेको शिक्षक परियारको भनाई छ । गाउँकै विपन्न परिवारमा जन्मिएका परियारले मासिक तलबले घरखर्च चलाउन प्रयोग गर्ने गरेको बताए ।

‘चिया खाने पैसा पनि पुग्दैन्,‘घरको अवस्था पनि नाजुक छ,‘पैसा नभएर क्याम्पस तहको पढाईलाई अगाडी बढाउन सकेको छैन’ परियारले भने ।उनले करिब १० हजारसम्मको तलब भएमा स्नातक तहमा भर्ना हुने योजना बनाएको बताए ।

‘तलबसुविधा राम्रो भए बाँकी पढाईलाई निरन्तरता दिन्छु,‘म्याग्दीमै सबैभन्दा कम तलब खाने शिक्षक मै हु जस्तो लाग्छ’ परियारले दुखेसो पोखे। उनले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण पठनपाठन बन्द भएको अवस्थामा गाउँमा रहेका विद्यार्थीलाई पढाउने र गृहकार्यसमेत दिने काममा ब्यस्त रहेको बताए ।

बि.स २०६४ सालमा स्थापना भएको विद्यालयमा २६ जना विद्यार्थी अध्ययरत विद्यालयमा शिक्षक परियार बाहेक स्थायी १, राहत १, बालविकास सहजकर्ता १ कार्यरत छन्।

थोरै तलबमा विद्यालयमा पढाउँने गरेका परियारको अवस्था देखेर विद्यालयका कार्यरत अन्य शिक्षकले बेलाबेलामा थोरै आर्थिक सहयोग गर्ने गरेको विद्यालयका प्रधानाध्यापक अम्बिका आचार्यले बताइन् ।‘निकै मेहनती शिक्षक हुनुहुन्छ,‘आन्तरिक स्रोत नभएकाले सुहाउँदो सुविधा दिन सकेका छैनौ’ उनले भनिन् ।

विद्यालयको समस्याका बारेमा सम्बन्धित निकायलाई जानकारी गराएपनि सुनुवाई नभएको गुनासो शिक्षकको छ ।विद्यालयमा पर्याप्त कक्षाकोठा नभएपनि हालै विद्यालय पुर्ननिर्माण अन्तरगत शौचालयमा बजेट परेको छ।

यता शिक्षा विकास समन्वय इकाई प्रमुख दलबहादुर थापाले ६० माविमा विद्यालय सहायक र सहयोगी गरी दुई दरबन्दी रहेकोमा सहायकले १० हजार, सहयोगीको तलब ८ हजार हुने र १७१ आधारभुत तह सञ्चालित विद्यालयमा १ जना सहायकको दरबन्दी हुने गरेको बताए ।

‘तलब सुविधा आन्तरिक स्रोतमा पनि भर पर्छ,‘अध्यायन गराउने शिक्षकको तलब न्यून राम्रो हुदैन’ थापाले भने । उनले कार्यालय सहायक र कर्मचारीको तलब सहर भएपनि निजी स्रोतका शिक्षकको तलब ब्यवस्थापन गर्न आवश्यक रहेको बताए । न्यून तलब भएका शिक्षकलाई स्थानीय तहमार्फत वडाको बजेटमा समेत केही सम्बोधन गर्न सकिने शिक्षाका जानकारहरु बताउँछन् ।

Leave a Reply