म्याग्दीको धवलागिरी गाउँपालिका–१,गूर्जाको ग्रामिण परिवेश र सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘सारथी’ आजदेखि देशभरका सिनेमाघरहरुमा एकैसाथ प्रर्दशन हुदैछ । म्याग्दीको सबैभन्दा बिकट र दुर्गम मानिने गुर्जामा पहिलो पटक छायांकन गरिएको सिनेमा समेत हो ।
सिनेमाका निर्देशक कुमार गजुरेलले प्रर्दशन मिति नजिकिएसँगै ‘पोष्टर’, ‘टेलर’, शिर्ष गित सार्वजनिकसँगै चर्चामा छ । चलचित्रले हिमाली जनजीवन, स्थानीय संस्कृति, परम्परा, सामाजिक सम्बन्ध र मानवीय संवेदनालाई समेटेको छ । जिल्लाको अति विकट गुर्जाको प्राकृतिक, सांस्कृतिक र जैविक सम्भावनालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उजागर गराउनु पनि छायांकनका लागि गुर्जा रोज्नुको एउटा कारण भएको निर्देशक गजुरेलले बताए । तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्र किम्भे ‘प्रोडक्सन’को निर्माण तथा धिरज ‘इन्फिनिटी फिल्म्स’को सहकार्यमा तयार भएको छ ।
रदिप श्रेष्ठ र प्रदीप रायमाझी चलचित्रका निर्माता हुन्। बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता, अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर छन् । संकल्प भुजेलले छायांकन गर्नुभएको चलचित्र सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् । सारथीको ‘मयाली’ बोलको शिर्ष गित सामाजिक सञ्जाल ‘युट्युव’मा सार्वजनिकसँगै सबैले रुचाएका छन् । उक्त गितमा अभिनय गरेर ‘टिकटक’ र ‘फेसबुक रिल्स’ बनाइरहेका छन् ।
सारथी मार्फत कलाकार उत्तम प्रधान र निरुता सिंह को जोडी करिब दुई दशकपछि पुनः एकसाथ देखिन लागेका छन् । मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मालगायतका कलाकारको अभिनय रहनेछ। गिरी विक र गायत्रीले सारथीबाट चलचित्र अभिनयमा डेब्यु गरेका छन् । ग्रामिण परिवेश र सामाजिक कथावस्तुमा आधारित चलचित्रमा अभिनयको अवसर पाउँदा उत्साही भएको कलाकार गिरी विश्वकर्माले बताए। हाल पोखरामा बस्दै आएका गिरीको जन्मथलो पनि गुर्जा हो । गूर्जा समाज काठमाण्डौले चलचित्रमार्फत पर्यटन प्रर्वधन हुने भएकाले हरेक म्याग्देलीले साथ दिन अनुरोध गरेको छ ।









