---Advertisement---

चौथो बौद्ध कपको आय-व्यय सार्वजनिक : २१ लाख ९३ हजार बचत, बाढीपीडितलाई ८७ हजार सहयोग

On: November 26, 2026 10:38 PM
Follow Us:

बेनी नगरपालिका–७, मंगलाघाटस्थित बौद्ध युवा क्लबले आयोजना गरेको ‘चौथो बौद्ध कप–२०८३’ को आय–व्यय विवरण सार्वजनिक गरेको छ। प्रतियोगिताबाट २१ लाख ९३ हजार ५५७ रुपैयाँ बचत भएको क्लबले जनाएको छ। क्लबका अध्यक्ष दुर्गा बुढा मगर र कोषाध्यक्ष कमल घर्तिद्वारा हस्ताक्षरित विवरणअनुसार प्रतियोगिताबाट कुल ४२ लाख ५१ हजार २८२ रुपैयाँ आम्दानी भएको थियो। प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा २० लाख ५७ हजार ७२५ रुपैयाँ खर्च भएको छ।

क्लबले कबुल गरिएको सहयोग रकममध्ये १२ लाख ५० हजार ७६७ रुपैयाँ अझै उठ्न बाँकी रहेको जनाएको छ। प्रतियोगितामा सहयोग रकमबाट ४० लाख १५ हजार ५३२ रुपैयाँ, टिम दर्ता शुल्कबाट १ लाख ४३ हजार रुपैयाँ र टिकट बिक्रीबाट ९२ हजार ७५० रुपैयाँ आम्दानी भएको थियो। खर्चतर्फ सबैभन्दा बढी पुरस्कार वितरणमा ४ लाख ५७ हजार ७७२ रुपैयाँ खर्च भएको छ।

त्यस्तै, छपाइ तथा प्रिन्टमा २ लाख ९० हजार ७३०, खेलाडी व्यवस्थापन तथा खेलाडी खर्चमा ५ लाख, मञ्च व्यवस्थापनमा १ लाख ७८ हजार ९५८, अफिसियल व्यवस्थापनमा १ लाख ७५ हजार र खाजा–नास्तामा १ लाख २४५ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। यसैगरी गोलनेपालबाट प्रत्यक्ष प्रसारणमा १ लाख, कार्यालय व्यवस्थापनमा ८९ हजार ५८८, प्रचारप्रसारमा ६५ हजार ७८२, संस्था नवीकरण तथा करमा ५२ हजार २५० र यातायातमा ५१ हजार रुपैयाँ खर्च भएको छ।

क्लबले प्रतियोगिताबाट प्राप्त रकमको केही हिस्सा सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपहिरोपीडितलाई सहयोग गरेको छ। टिकट बिक्रीबाट प्राप्त रकमको ४० प्रतिशत अर्थात् ३७ हजार १०० रुपैयाँ र क्लबको तर्फबाट थप ५० हजार रुपैयाँ गरी कुल ८७ हजार १०० रुपैयाँ सहयोग उपलब्ध गराइएको जनाएको छ। प्रतियोगिता सफल बनाउन विभिन्न व्यक्ति तथा संस्थाले नगदसँगै जिन्सी सामग्रीसमेत सहयोग गरेका थिए।

खेलकुद प्रतियोगितामार्फत खेलकुद विकाससँगै सामाजिक सेवामा समेत योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको आय–व्यय सार्वजनिक गर्दै क्लबले सहयोग गर्ने व्यक्ति, संस्था, प्रायोजक, खेलप्रेमी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।

Leave a Comment