---Advertisement---

धवलागिरीमा माध्यमिक विद्यालयस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगिता,ताकम मावि प्रथम

On: November 26, 2026 9:15 PM
Follow Us:

धवलागिरी गाउँपालिकामा माध्यमिक विद्यालयस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीमा विज्ञान तथा प्रविधिसम्बन्धी ज्ञानको प्रयोगात्मक क्षमता विकास गर्नुका साथै उनीहरूमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले बिहीबार गाउँपालिकास्थित धवलागिरी माध्यमिक विद्यालयमा प्रतियोगिता आयोजना गरिएको हो।

प्रदर्शनीमा गाउँपालिकाभित्रका सबै विद्यालयको उपस्थिति रहेको थियो भने नौ विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले विद्युत् सर्किट सञ्चालन, हाइड्रोलिक पुल, विपद्का बेला पूर्वसूचना दिने रेड अलर्ट प्रणालीलगायत विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न प्रयोगात्मक सामग्री प्रदर्शन गरेका थिए।

संगम म्याग्दीद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाको सहकार्यमा धवलागिरी गाउँपालिका शिक्षा शाखाले आयोजना गरेको प्रतियोगितामा ताकम माध्यमिक विद्यालय ताकम प्रथम भएको छ। किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालय धारापानी द्वितीय र धवलागिरी माध्यमिक विद्यालय मुना तृतीय भएका छन्।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगिताले विद्यार्थीमा वैज्ञानिक सोच, सिर्जनशीलता, नवप्रवर्तन र प्रयोगात्मक सिकाइको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको धवलागिरी गाउँपालिकाका प्रबक्ता देबेन्द्र रोकाले बताउनुभयो ।

Leave a Comment