नयाँ प्रहरी प्रमुख भएर लोकेन्द्र श्रेष्ठ बागलुङ आएपछि प्रहरी कहिले गाँजाका बोट काट्ने, कहिले लोकल रक्सी बरामद गरेर नालीमा बगाउने गतिविधि गरिरहेको छ । उक्त गतिविधिको सूचना दिन प्रहरीलाई हतार भैरहेको छ । त्यसैले पटक पटक प्रहरीको सूचना पत्रकार र संचारमाध्यममा पठाउने गरिएको हो ।
त्यति मात्र हैन प्रहरीले लामो समयदेखि सजाय तोकिएर फरार भएका अभियुक्तहरु पनि समातेको छ ।

उनीहरुले तिर्नुपर्ने जरिवाना र जेल बस्नुपर्ने भए जेल पठाउने काम गरेको छ । प्रहरी प्रमुख वा सिंगो जिल्ला प्रहरी कार्यालयका लागि यो काम उपलब्धीपूर्ण हुन सक्ला । तर सबै काम जनताको नजरमा सही छन् त ? अहिले बजारमा धेरै क्रिया–प्रतिक्रियाहरु आउन थालेका छन् ।

सामाजिक संजाल प्रहरीको क्रियाकलापबारे आलोचनाले भरिएका छन् । छिटफुट कामप्रति समर्थन पनि छ ।फरार अभियुक्त पक्राउ गरेर जरिवाना गराएकोप्रति धेरैले धन्यावद पनि दिएका छन् । समाजमा अपराध न्युनिकरण गर्न, कानूनी शासनको प्रत्याभूति दिन र कानूनको कार्यान्वयनमा प्रहरीको महत्वपूर्ण भूमिका हुन्छ ।

तर प्रहरीले किन पक्राउ गरेको ? यसअघि ती मानिसहरु भेटिएका थिएनन ? अर्थात् यसअघिका प्रहरी प्रमुखले ती अभियुक्त भेटेका थिएनन् त ? यो विषयले पनि धेरै चर्चा बटुलेको छ । के हो त कारण ? फरार अभियुक्त पक्राउ गरेपछि धेरैले जरिवाना तिर्छन्, कतिपय मानिस जेल पनि जानुपर्छ ।

जरिवाना तिर्नेको निश्चित अंश २५ प्रतिशत प्रहरीमा आउने गर्छ । विशेषगरी चोरी काण्डका मानिस धेरै समातिएका छन् । उनीहरुले चोरेको बिगो बुझाउनुपर्ने, जरिवाना पनि तिर्नुपर्ने बाध्यतासमेत छ । त्यसबाट प्रहरीमा राम्रो फाइदा पुग्ने जानकारहरु बताउँछन् ।

आलोचनाको विषय भने फरक छ । लोकल रक्सी र भाँगोको बोट फँडानी । बागलुङको पश्चिम क्षेत्रका अधिकांस किसानले घर–घरमा भांगो लगाउँछन् । आलोचकले त्यसलाई लागूपदार्थको रुपमा मानेका छन् तर बागलुङ बजार घुम्न आउनेको पहिलो रोजाइमा पर्ने भाँगोको अचार बनाउने कच्चा वस्तुनै प्रहरीले नष्ट गरेको हो ।

‘लागूपदार्थको रुपमा बनाउने कोही छन् भने निगरानी गर्नुपर्छ, नत्र अधिकांस किसानले वर्षभरीको खेतीबाट कमाएको पैसाले घर चलाएका छन्’ ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भने, ‘प्रशासक र प्रहरीका प्रमुख समेतलाई भाँगो अचार चाहिने, किसानको बोट काटेर फाल्ने राम्रो होइन ।’

भाँगो बनाउने किसानले फल पाकुन्जेल राख्ने गरेकोले सहजै पत्ता लगाउन सकिने उनले बताए । भाँगो खाने र लागूपदार्थमा प्रयोग हुने भाँगोको बोटसमेत फरक हुनेमा एउटै मानेर फँडानी गर्दा किसान मारमा परेको उनले टिप्पणी गरे ।

प्रहरीले निसीखोला गाउँपालिकामा सबैभन्दा धेरै भाँगोको बोट नष्ट गरेको छ । वडा नं. ६ को निसी र भलकोटमा ३० रोपनी जमिनमा लगाइएको गाँजा नष्ट गरेको प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए । बेला–बेलामा यहाँका मानिस गाँजा तस्कर गरेको आरोपमा पक्राउ पनि परिरहेका छन् ।सरकारले गाँजालाई कानूनी मान्यता दिने तयारीसमेत गरेको छ ।

प्रतिनिधिसभामा गाँजा खेतीलाई कानूनी मान्यता दिने विधेयक तयार भैरहेको हो । प्रहरीले भने जनताको कमाइलाई नै समाप्त पार्न खोजेको केही जनप्रतिनिधिले टिप्पणी गरे । ‘किसानको घरको अवस्था, बजारमा माग र प्रहरीका उच्च पदस्थले समेत भाँगोको अचार कसरी मन पराएर लैजान्छन् भन्ने अध्ययन गर्ने की नगर्ने’ ताराखोला गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले भनिन्, ‘साना र गरिब किसानलाई मात्र मार्ने काम गर्नु उचित भएन ।’

प्रहरीले दिनदिनै लोकल रक्सी समातेर फालेको फोटो पनि सार्वजनिक गरिरहेको छ । गैरकानूनी रुपमा रक्सी उत्पादन भएको प्रहरीको दाबी छ । तर अधिवक्ता काजी गाउँले श्रेष्ठले आइएलओ सन्धीको बुँदा नम्बर १६९ अध्ययन नगरी स्थानीय रक्सी नष्ट गरेर जनतालाई सास्ती दिएको टिप्पणी गरे ।

‘आदिवासी जनजातीको पहिचान झल्कने वस्तुहरु संरक्षण गर्ने दायित्व राज्यको हुनेछ भनेर लेखेको छ’ श्रेष्ठले भने, ‘उक्त पुस्तिकाको अघिल्लो पानामा रक्सी पारेको तस्बिर पनि छ ।’ जथाभावी बिक्री गरेको भए मात्र बरामद गर्न सक्ने विद्यमान कानूनी व्यवस्था हो । बनाउनै नदिने हुन नसक्ने उनले बताए ।

सर्वोच्च अदालते दुई महिनाको एकपटक तोकिएको मात्रामा घरेलु रक्सी र जाँड बनाउन पाउने कानूनी व्यवस्था गरिदिएको छ । अदालतको उक्त निर्णयले विशेषगरी जनजाती समुदायमा अत्यावस्यक पर्ने भएकोले रक्सी बनाउन बैध बनाएको उनले बताए ।

बजारक्षेत्रमा रक्सी बनाएरै परिवार पाल्नेसमेत धेरै छन् । प्रहरीले भने उक्त रक्सी नष्ट गरेर तस्बिर सार्वजनिक गर्ने काम गरिरहेको हो । प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले कानूनले लोकल रक्सी बेच्न अनुमति नदिएको बताए । ‘अखाद्य वस्तु राखेर रक्सी बनाउने गरिएको छ’, श्रेष्ठले भने, ‘जनताको स्वास्थ्यमा असर पर्ने काम रोक्न खोजेका हौं ।’ढोरपाटन दैनिकबाट

Leave a Reply