सुरक्षित तरिकाले मतगणना गर्नका लागि म्याग्दीको धवलागिरी गाउँपालिकामा चेनगेट बन्द गरी मतगणना गरिने भएको छ । गापामा मूल प्रशासकीय भवनको ग्राउण्ड फ्लोरको प्यासेजमा मतगणना र चेनगेट बाहिर बरण्डामा पार्टीका एजेन्ट बस्ने व्यवस्था मिलाइएको छ ।

मतगणनास्थलमा तारजालीको विकल्पमा चेनगेटभित्र मतगणना गर्ने र सिसी क्यामेरबाट निगरानी राखिने बारेमा सर्वदलिय सहमति समेत गरिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो । ‘मतगणनास्थल सुरक्षित छ,‘बाहिरबाट मतपत्र सजिलै हेर्न सकिन्छ’ प्रशासकीय अधिकृत खत्रीले भन्नुभयो ।

धवलागिरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन्। सात वटा वडा रहेको धवलागिरीमा एमाले र कांग्रेस–माओवादीको प्रतिस्पर्धा छ। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको ३७ वटा पदका लागि ८४ जना उम्मेदवार छन्।

१० हजार ९४० जना मतदाता रहेको धवलागिरीमा १२ वटा मतदान स्थल र १६ वटा मतदान केन्द्र छन्। धवलागिरीमा १० हजार ९४० मतदाता रहेका छन् । पालिका भित्रको अति विकट मानिएको वडा नं १ गूर्जाबाट हेलिकप्टरमा मतपेटिका ल्याइने छ । भोली शुक्रबार हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply