म्याग्दीको मंगला गाउँपालिका-२,मा अर्गानिक खाद्य वस्तुको उत्पादनलाई प्रवद्र्धन तथा बिक्री वितरण गर्ने उद्देश्यले बावियाचौर बजारमा म ‘मंगला लोकल मार्ट’ सञ्चालनमा आएको छ ।

पश्चिम म्याग्दीका विभिन्न बस्तीमा उत्पादन हुने अर्गानिक बस्तु बिक्रीका साथै प्रर्बधनमा समेत स्थानीय कृषकलाई सघाउने गरी अर्गानिक मार्ट सुरू गरिएको हो। गाउँपालिकाको कार्यालय नजिकै रहेको पसलमा मंगला, मालिका र धवलागिरी गाउँपालिकामा उत्पादन हुने बस्तुहरू उपलब्ध रहेको सञ्चालक ममता थापाले बताउनुभयो ।

‘उत्पादन गर्ने किसानलाई प्रोत्साहनसँगै बजारीकरणमा सघाइरहेका छौ,‘अहिले बिक्री–वितरणबाट सन्तुष्ट छौ’ थापाले भन्नुभयो । मार्टमा थापासँगै जयन्ती पुन र योशुदा रोकाको करिब १० लाख लगानी रहेको छ । हाल सञ्चालनमा रहेको मार्टमा मंगला भित्रका उद्यमीलाई समेत जोड्ने र माटो अनुकुल अर्गानिक उत्पादनमा समेत सहकार्य गरिने मंगला लोकल मार्टले जनाएको छ ।

मार्टमा स्थानीय दाल, भटमास, भाँगो, टिम्मुर, मह, घ्यु, मकै, च्याउ, पिठो (फापर, जौ, मकै र कोदोको), चामल, सिस्नुको धुलो, ढकायो, निगालो टुसाको सुकुटी लगायतका करिब पचास थरीका सामान रहेको छ । निकट भविस्यमा म्याग्दीका साथै बागलुङ, मुस्ताङ र पवर्तका गाउँघरमा उत्पादन भएका अर्गानिक बस्तुलाई आफ्नै ब्राण्डबाट बेच्ने तयारी भइरहेको अर्की सञ्चालक योसुदा रोकाले बताउनुभयो ।

कोसेली घरमा मंगलामा घुम्न आउने सहित अन्य कार्यक्रमहरुमा समेत मायाँको चिनो र मंगलाको कोशेली उपहार भन्ने अभियान समेत सञ्चालन गरिने जनाइएको छ । कोसेली घर चलाउन तत्कालीन मन्त्री नरदेवी पुनले सुझाउनुभएको थियो । पुनको सुझाव र सहयोगमा सदरकुकाम बेनीमा समेत धौलागिरी कोशेली घर सञ्चालनमा रहेको छ । अर्गानिक सामानका पारखीहरुलाई कोशेली घरले आर्कषित गर्ने गरेको छ । म्याग्दीको सदरमुकाम बेनी सहित जिल्लाभर एकदर्जन भन्दा बढी कोशेली घर रहेका छन् ।

Leave a Reply