म्याग्दीको धवलागिरी गाउँपालिका-२, लुलाङको जलजला बनको पदैलमागै नजिकैको रूखमा रेडपाण्डा भेटियो । पैदलमार्गमा हिडिरहेको अवस्थामा सुवास थापाले रूखमा झुन्डिएर आफ्नो आहारा खाइरहेको अवस्थामा रेडपाण्डालाई मोबाइलमा कैद गरे ।

करिब एकदशक अगाडी गूर्जा र लुलाङको जंगलमा रेडपाण्डाको बासस्थान पहिचान गरिएपनि अनुसन्धानकर्ता र स्थानीयबासीले समेत हालसम्म तस्वीर र भिडियो सार्वजनिक भएको थिएन् । जिल्लाको अति विकट मानिने गूर्जाका स्थानीयले समेत घाँसदाउरा, पशुचौपाया लिएर बनजंगलमा जाँदा बस्ती आसपासका क्षेत्रमा रेडपाण्डा भेटिने गरेको बताउँदै आएका छन् ।

नेपालमा २६ वटा संरक्षित बन्यजन्तुमध्ये अति दुर्लभ बन्यजन्तु मानिने रेडपाण्डा पाइने २३ जिल्लाहरूमध्ये म्याग्दी समेत एक उपयुक्त बासस्थान भएको जिल्लाको रूपमा चिनिन्छ । प्राकृतिक प्राकृतिक क्षेत्रहरू र जंगली जनसंख्याको संरक्षणको विश्वव्यापी नेतृत्व गर्ने विश्व बन्यजन्तु कोष (डब्लुडब्लुएफ)को प्रतिक चिन्ह अर्थात आधिकारिक लोगोमा समेत रहेको रेडपाण्डा म्याग्दीमा भेटिनु ठूलो उपलब्धी मान्नुनपर्ने डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले बताए ।

‘रेडपाण्डा रमाइरहेको दृष्य हेर्दा उत्साहित छौ,‘म्याग्दीलाई रेडपाण्डाको सुरक्षित बासनस्थानको सन्देश फैलाउनुपर्छ’ प्रमुख रानाभाटले भने । उनले रेडपाण्डा भेटिएको क्षेत्रमा स्थानीयको आवतजावत कम गर्ने, बन्यजन्तुको चरन क्षेत्र तथा चोरीसिकारीलाई रोक्नुपर्ने बताए ।

‘रेडपाण्डाको खोज तथा अनुसन्धानकर्तालाई समेत त्यहाँ पु¥याउनुपर्छ, अब रेडपाण्डालाई नै लक्षित गरी कार्यक्रम तय गर्नुपर्छ’ प्रमुख रानाभाटले भने। रेडपाण्डाको जीवनशैली र जीवनचक्रका विषयमा अध्ययन गर्न समेत नियमित अनुसन्धानकर्तालाई आर्कषित गर्न सकिने बताए ।

राष्ट्रिय÷अन्तर्राष्ट्रिय सस्थासँगको साझेदारीमा संरक्षण र अनुसन्धानमूलक गतिविधि सञ्चालन गर्न सकेमा रेडपाण्डा पाइने जंगलमा अन्य जंगली जनावरको चोरीनिकासीमा समेत कडाई हुने प्रमुख रानाभाटको भनाई छ ।

रेडपाण्डाले आहाराका रूपमा प्रयोग गर्ने निगालो लगायतका अन्य आहारालाई समुदायले घरपालुवा पशुचौपायाका लागि प्रयोगलाई घटाउनुपर्ने बताए ।   

रेडपाण्डालाई दुर्लभ वन्यजन्तुको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) ले अतिसंकटापन्न वन्यजन्तुको अनुसूची १ मा राखेको छ भने विश्व संरक्षण संघ आईयुसीएनको समेत संवेदनशील सूचीमा छ ।

रेडपाण्डालाई नेपाल सरकारले संरक्षित जीवको सूचीमा राखेको छ । म्याग्दीको लुलाङ र गूर्जा क्षेत्रको जंगलमा कति पोथी र भाले रेडपाण्डाको छन् भन्ने आधिकारिक तथ्याङ्क अहिलेसम्म छैन् ।

म्याग्दीमा रेडपाण्डाको संरक्षणका लागि छुट्टै कार्यक्रम भने छैन् । डिभिजन बन कार्यालयमा बन्यजन्तीको संरक्षण तथा ब्यवस्थान कार्यक्रममार्फत विगतमा समुदायस्तरमा रेडपाण्डाको महत्व, संरक्षणको आवश्यकता र विश्वभर रेडपाण्डा पाइने क्षेत्रका बारेमा सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरिएको छ ।

रेडपाण्डाको महत्वका बारेमा जानकारी पाएपछि समुदायले समेत संरक्षणमा चासो देखाउने गरेका छन् । लजालु स्वभाव हुने रेडपाण्डा बस्ती आसपासमा समेत देखिन्छ । मान्छे देखेर अन्य जंगली जनावरजस्तै भाग्ने, आक्रमण गर्न नआउने भएकाले समेत शिकारीको निशानामा पर्ने गरेको छ ।

करिब एकदशक अगाडी तत्कालिन जिल्ला बन कार्यालयको समन्वयमा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चको टोलीले लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला पारेको थियो ।

रेडपाण्डाको चरन क्षेत्रको पहिचान गरेपनि अनुसन्धानका लागि खटिएको टोलीले रेडपाण्डाको दैनिकीको भिडियो र तस्वीर कैद गर्ने प्रयास सफल भएको थिएन् ।

लुलाङको जलजला बन क्षेत्र नेपाल सरकारको संरक्षण क्षेत्र बाहिर पर्छ ।सामुदायिक बनभित्र पाइने रेडपाण्डालाई चोरी तस्करीबाट जोगाउन स्थानीय तहले समेत वडास्तरमा कार्यक्रम सञ्चालन गरी समुदायमा रेडपाण्डाको सञ्जाल बनाउनुपर्ने डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ ।

रेडपाण्डाको समुद्री सतहदेखि २ हजारदेखि ४ हजार मिटरसम्मका मुख्य वासस्थल हो । लजालु स्वभावको रेडपाण्डा पदैलमार्ग आसपासका क्षेत्रमा रमाइरहेको दृष्य सार्वजनिक भएपछि म्याग्दीमा संरक्षण सहित सचेतनामुलक अभियानका लागि समेत थप चासो बढेको छ ।

म्याग्दीको लुलाङ र गूर्जामा रेडपाण्डा पाइने जंगल क्षेत्रलाई रेडपाण्डा जोन घोषित गर्न सकेमा पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । उनले गाउँपालिकाले रेडपाण्डा जोगाउनुका साथै आफ्नो क्षेत्रमा पाइने भएकाले विभिन्न माध्यमबाट समेत प्रचारप्रसार गर्ने बताए ।

उनले रेडपाण्डा भेटिने क्षेत्रलाई जोन घोषित गर्ने, समुदायमा आधारित संरक्षण कार्यक्रम, रेडपाण्डाकै विषयमा डिभिजन बन कार्यालयमार्फत रेडपाण्डा नेटवर्क एवं साझेदार संस्थाहरूमार्फत संरक्षण शिक्षा दिने बताए । रेडपाण्डाको चोरीशिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

File photo

Leave a Reply