धवलागिरि गाउँपालिका-७ धारापानीका ३२ वर्षीय केशव थापाको खेलाडी बनेर प्रतिभा देखाउने र देशलाई चिनाउने सानैदेखिको सपना थियो। विसं २०६७ पुस २७ गते घाँस काट्ने क्रममा रुखबाट लडेपछि स्नातक तहको पहिलो वर्ष अध्ययन गर्दै गरेका थापाको कम्मरभन्दा तलको भाग नचल्ने भयो।

१८ महिना अस्पताल र पुनःस्थापना केन्द्रमा उपचार गरेपछि मेरुदण्ड पक्षघात (स्पाइनल इन्जुरी) भएका थापा ह्विलचियरमा हिँडडुल गर्छन्। पढाइ र खेलमा अब्बल थापाले शारीरिक प्रतिकूलताका बाबजुद लक्ष्य हासिल र सपना पूरा गर्न हिम्मत हारेनन्। उनले ह्विलचियरकै साहराले शारीरिक अपाङ्गता भएकाबीच हुने पारा टेबल टेनिसको एक अन्तर्राष्ट्रिय र छ राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका छन्। उनले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्।

“बास्केटबलमा मेरो रुचि र अनुभव थियो”, उनले भने, “शारीरिक अवस्था प्रतिकूल भएपछि नेपाल अपाङ्ग सङ्घले सञ्चालन गरेको खगेन्द्र नवजीवन गृहमा बसेर पढाइलाई निरन्तरतासँगै ह्विलचियरमै बसेर टेबल टेनिस र बास्केटबल खेल्न सिके, प्रतियोगितामा भाग लिएर सफल पनि भए”, उनले भने।

आत्मविश्वास, निरन्तरको अभ्यास र मेहनतका कारण खेलकुद र पढाइलाई सँगसँगै अघि बढाउन सफल भएको थापाको अनुभव छ। पुनःस्थापना केन्द्रमा बस्दा समय व्यवस्थापनका लागि आफू जस्तै अन्य साथीले खेलेको देखेर थापाले ह्विलचियरमा बसेर टेबल टेनिस खेल्न सिकेका थिए।

सन् २०१४ मा बङ्गलादेशमा भएको पारा टेबल टेनिस प्रतियोगितामा थापाले स्वर्णपदक दिलाएका थिए। नेपालको प्रतिनिधित्व गरेर उनले सन् २०१८, २०१९ र २०२२ मा भएको पारा एसियन टेबल टेनिस च्याम्पीयनसिप प्रतियोगितामा भाग लिएका थिए।

पोल्याण्ड, जापान र थाइल्याडमा भएको छनोट खेलमा सहभागी हुनुभएका थापाले भूटानमा पारा टेबल टेनिसको अन्तर्राष्ट्रिय ‘कोच’सम्बन्धी पहिलो तहको तालिम लिएका छन्। राष्ट्रियस्तरको प्रतियोगितामा छ स्वर्णपदक जितेका थापाले अपाङ्गता मात्र नभई सवालङ्गलाई पनि टेबलटेनिस खेलसम्बन्धी प्रशिक्षण दिन्छन्। यसै वर्ष पेरिसमा हुने पारा ओलम्पिकको छनोट खेलको तयारीमा रहेका थापा मे महिनामा पाराओलम्पिक वर्ल्ड क्वालिफिकेसन च्याम्पीयनसिपमा भाग लिन थाइल्याड जाने तयारीमा छन्।

थापालाई युवा तथा खेलकुद मन्त्रालयले विसं २०७८ मा एक लाख राशिको खेल प्रतिभा पुरस्कार प्रदान गरेको थियो। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले विसं २०७६ मा ‘एनएनआईपीए अवार्ड’ बाट सम्मान गरेको थियो। धवलागिरि गाउँपालिकाले यही पुस २६ गते २१औ गाउँसभाका अवसरमा १० हजार पाँच सयसहित थापालाई पुरस्कृत गरेको थियो।

थापा स्पाइनल इन्जुरी नेटवर्कले काठमाडौंमा सञ्चालन गरेको विद्यालयमा स्पाइनल इन्जुरी भएका बालबालिकाले पढ्ने विद्यालयमा शिक्षण गर्छन्। सो विद्यालयमा हाल १५ बालबालिका छन्। अनलाइनमा आधारित अपाङ्गता सहायता सामग्रीको व्यवसायलाई थापाले जीविकोपार्जनको माध्यम बनाएका छन्।

सरकारले मेरुदण्ड पक्षघात भएकाका लागि उपलब्ध गराउने मासिक पाँच हजार औषधि उपचार खर्च थापाले पाउँछन्। “धेरै वर्षको प्रयासपछि दुई वर्षदेखि स्पाइनल इन्जुरी भएकाका लागि सरकारले औषधि उपचार खर्चको व्यवस्था मिलाएको छ”, उनले भने, “सार्वजनिक संरचना र शौचालय अपाङ्गतमैत्री बनाउन, मेरुदण्ड पक्षघात भएकाको शिक्षामा पहुँच बढाउन पैरवी गरिरहेका छौँ।” थापा ‘ह्वीलचियर’ को सहारा लिने मानिसको आत्मविश्वास बढाउने उद्देश्यले स्थापना भएको ‘मेरुदण्डीय पक्षघात समूह नेपाल’ को महासचिवको जिम्मेवारीमा पनि छन्। दाताको सहयोग जुटाएर छात्राबासको व्यवस्था मिलाएको उनले बताए।

टेबल टेनिस च्याम्पियन केशव

आफू सपाङ्गबाट अपाङ्गता भएपछि उनी नेपाल अपाङ्ग संघ नेपालको खगेन्द्र नवजीवन गृहमा बस्न थाले। त्यहीँबाट उनले सिके बास्केट बल र टेबल टेनिस खेल्न।खेल्नमा रुचि राख्ने उनी पारा टेबल टेनिस च्याम्पियनसमेत भए। त्यतिमात्र नभइ उनले अन्तर्राष्ट्रिय स्तरका थुप्रै खेलहरु खेलिसकेका छन्।

२०१४ मा बंगलादेशमा भएको एशकन इन्टरनेशनल टेबल टेनिसमा उनले ‘गोल्ड मेडल’ नै हात पारिसकेका छन्। त्यसैगरी उनी जापान, ताइवान, पोल्याण्ड, थाइल्याण्डलगायतका ठाउँहरुमा खेल खेल्न गइसकेका छन्।भुटानबाट इन्टरनेशल पारा टेबल टेनिस कोच लेभल वानको तालिम लिएका उनी कोचका रुपमा समेत परिचित छन्।

थापाले अपाङ्गता मात्र होइन, सपाङ्गलाई समेत प्रशिक्षण दिँदै आएका छन्। त्यसैले त उनले आफ्नो संस्थाका भाइबहिनीलाई सधैँ हौसला दिने गरेका छन्।

 

Leave a Reply