म्याग्दीको पुरानो अन्नपूर्ण पदमार्गका अधिकांस रुटलाई सडकले बिथोलेपछि पैदलयात्रामा रमाउने पर्यटक निराश भइरहको अवस्थामा पर्यटनको क्षेत्रमा प्रचुर सम्भावना रहेको ग्रामिण पर्यटनका नयाँ रुट पहिचान गरिएको छ ।

म्याग्दीको पर्यटकीयस्थल टोड्केबाट सुरु हुने पदमार्गका लागि शुक्रबार सदरमुकाम बेनीबाट प्रस्थान गरेको टोलीलाई म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, सदस्य मोतिलाल पौडेलले स्वागत गरेका थिए ।

६ रात ७ दिनको पदयात्राको क्रममा टोली धौलागिरी हिमालको दक्षिणी आधार शिविर हुदै मुस्ताङको लेतेबाट बेनी फर्किने तय भएको नयाँ गन्तब्य पहिचानका लागि टानका संयोजक कृष्णराज अधिकारीले बताए ।

उनका अनु्सार नयाँ पर्यटकीय गन्तब्य पहिचान अन्तरगत टोड्के, मालिकाधुरी, ठाडाखानी, कुइने, ध्यासीखर्च, छहारी, कछुवा ओडार, धौलागिरी बेस क्याम्पहुदै मुस्ताङको लेते पुगेर यात्रा टुंगिने छ ।

नयाँ गन्तब्यको पहिचान र प्रर्बधनका लागि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री दिपेन्द्र बहादुर थापा, वन तथा वातावरण तर्फका सचिव डा. रामचन्द्र कंडेल,उद्योग पर्यटन तर्फका सचिव कुमान सिंह गुरुङ, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थी सहित पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधिहरु सहित करिब २० जनाको टोली टोड्के पुगेका छन् ।

शनिबार विहान एक कार्यक्रमका बिच यात्रा सुरु हुने, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । नयाँ पर्यटकीय गन्तब्यको नाम टोड्के धौलागिरी कल्चरल प्यानारामा टे«क राखिएको छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घको पहलमा २०७२ फागुन÷चैतमा विज्ञ र प्राविधिकसहितको टोलीले सिकारी, गोठाला र यार्सागुम्बा टिप्न जानेले हिँड्ने गोरेटो बाटो पछ्याउँदै सो पदमार्ग पहिचान गरिएको धौलागिरी सेञ्चुरी पदमार्ग अन्तरगतका रुटहरू यसमा समेटिएको छ ।

पदमार्गमा ४ हजार मिटर माथिसम्मका हिमाल अवलोकन, मनोरम हिमशृंखला, मगर जातिको संस्कृति र रहनसहन, विविध प्रजातिका पशुपक्षी, वनस्पतिका साथै सूर्योदयको अवलोकन गर्न पाइने र ग्रामीण बस्ती छिचोल्दै यात्राका लागी निकै आर्कषक रहेको धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए । ‘मोटरबाटो पुग्यो, हिँड्ने बाटो मासियो, बैकल्पिक मार्गको आवश्यकता यो गन्तब्यले पूरा गर्छ,’ अध्यक्ष बानियाँले भने ।

सूर्योदय र हिमशृङ्खलाको अवलोकन गर्न सकिने,अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेका बस्तीहरु हुदै यात्रा गर्न सहज हुने भएकाले नयाँ गन्तब्यले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आर्कषित गर्ने अपेक्षा गरिएको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमान सिंह गुरुङले बताए ।

पदमार्गको प्रचारप्रसारसँगै व्यवस्थित पदमार्ग, घरवास र होटल तथा लज सञ्चालनका लागि समेत टोली फर्किएपछि छलफल हुने र आगामी बर्षको बजेटमा सम्बोधन गर्ने बताइएको छ । म्याग्दीको उत्तरी क्षेत्रमा रहेको विश्वको उत्कृष्ट १० गन्तव्यभित्र पर्ने अन्नपूर्ण पदमार्गका अधिकांस क्षेत्रमा सडक पुगेपछि अहिले पर्यटक समेत बैकल्पिक रुटको खोजीमा रहेका छन् ।

Leave a Reply