बेनी नगरपालिकाबाटै ब्यक्तिगत तथा संस्थागत स्थायी लेखा नम्बर (प्यान) सेवा उपलब्ध हुने भएको छ । विगतमा आन्तरिक राजस्व कार्यालय, बागलुङ जानुपर्ने बाध्यता रहेकोमा बुधबार एक समारोहका बिच बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजुर्न शर्मा र आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कपिल बिच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

नेपाल सरकारले करदाता सेवालाई स्थानीय तहमार्फत गर्ने नीति कार्यान्वयन गर्ने क्रममा म्याग्दीमा बेनी नगरपालिकाबा सेवा प्रवाह सुरु भएको हो । आन्तरिक राजश्व कार्यालय बागलुङ अन्तरगत हालसम्म बागलुङ जिल्लाको गलकोट नगरपालिका, पर्वतको पैयु गाउँपालिकापछि म्याग्दीको बेनी नगरपालिकामा कर सेवा केन्द्र सुरू भएको हो ।

स्थानीय तहबाटै करदाता सेवा उपलब्ध हुन थालेपछि उद्योगी, व्यवसायी, करदातालाई सहज र पहुँचयोग्य भएको छ । सेवा सुभारम्भ तथा समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने, वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्य, प्रथम उपाध्यक्ष लिलाराम गौतम लगायतको उपस्थिती रहेको थियो ।

विगतमा आन्तरिक राजश्य कार्यालयबाट प्रदान हुने सेवा नगरपालिकामार्फत थप सहज तरिकाले प्रदान गरिने मेयर केसीको भनाई छ। चालु आवभित्रै नगरपालिकामा करसम्बन्धि आन्तरिक राजश्व कार्यालयबाट अन्य सेवाहरु समेत विस्तार हुने छ । बेनी नगरपालिकाभित्रका करदाताका समस्या समाधानका लागि नगरपालिकाले कर सेवा कक्ष समेत बनाएर थप सहजता प्रदान गर्ने जनाएको छ ।

विगतमा स्थायी लेखा नम्बर (प्यान) लिन बागलुङ जाँदा लाग्ने समय र आर्थिकको बचत भएको छ । नेपाल सरकारले कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र लिने लगायतका धेरै सुविधाहरू अनलाइन प्रणालीमार्फत नै प्राप्त भइरहेको छ । सेवा सुभारम्भ तथा समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमको सञ्चालन बरिष्ठ प्रमुख प्रशासकीय अधिकृत यूवराज थापाले गर्नुभएको थियो ।











