विपद्जन्य घटनाको पूर्वसूचना प्रभावकारी बनाउन सके विपद्को क्षति न्यूनीकरण गर्न सकिने सरोकार भएका निकायका प्रतिनिधिहरूले बताएका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आयोजित विपद् ब्यवस्थापन समितिको बैठकमा पूर्व तयारी र सूचनाबाट जनधनको क्षती हुनबाट जोगाउन सकिने बताइएको थियो ।
प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले पूर्वसूचना प्रभावकारी र समयसापेक्ष हुँदा पूर्वतयारी र प्रतिकार्य प्रभावकारी भई क्षति न्यूनीकरणमा टेवा पुग्ने भएकाले जिल्लाका सबै स्थानीय तहले प्रयाप्त स्रोतसाधनको ब्यवस्थापन तथा सुरक्षा निकायसँग समेत समन्वय गर्न अनुरोध गरेका थिए ।
प्रजिअ आचार्यले चालु आर्थिक बर्ष २०८२ साउनदेखि चैत महिनासम्म जिल्लाभर ३१ विपत्तजन्य घटना भएकोमा ७ जनाको ज्यान गएकोमा १३ जना घाईते र ३ जना बेपत्ता रहेको बताए । यसैबीच बेनी अस्पतालले सडक दुर्घटनाबाट आपतकालिन उद्धारका लागि अस्पतालमा कृत्रिम घटना अभ्यास समेत गरेको छ । अस्पतालका प्रमुख डा. हेमन्त बास्तोलाका अनुसार विपद् जोखिमको ज्ञान,अवलोकन, विश्लेषण र पूर्वानुमान चेतावनीको प्रवाह र सञ्चार पूर्वतयारी, प्रतिकार्य र क्षमता विकासको अभ्यास गरिएको थियो।













