३०औँ राष्ट्रिय चिया दिवसको अवसरमा आयोजित चिया स्वाद परीक्षण (टी–टेस्टिङ) प्रतियोगितामा गण्डकी प्रदेशको चियाले उत्कृष्टता हासिल गरेको छ। बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ शिरूवारीस्थित गोल्डेन टी इस्टेट प्रा.लि.का दुई प्रकारका चियाले प्रतियोगितामा प्रथम स्थान हासिल गरेका हुन्।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सम्पन्न प्रतियोगितामा देशभरका ४५ चिया उद्योगबाट संकलित १२० नमुना चियाको अर्गानोलेप्टिक परीक्षण गरिएको थियो। चार क्याटागोरी—ग्रिनिस अर्थोडक्स, गोल्डेन टी, ह्वाइट टी र ग्रिन टी—मध्ये गोल्डेन टी इस्टेटले ग्रिनिस अर्थोडक्स र गोल्डेन टी विधामा प्रथम स्थान हात पारेको हो।
प्रतियोगितामा भारतका वरिष्ठ टी–टेस्टर कौषिक भट्टाचार्य र डेविड जोनसन तथा बोर्डका वरिष्ठ चिया प्राविधिक नविन कोइरालले चियाको गुणस्तर परीक्षण गरेका थिए। परीक्षणका क्रममा सुख्खा चियाको बनावट, बासना, तातोपानीमा डुबाइसकेपछिको रंग र सुगन्ध तथा अन्ततः स्वादको मूल्यांकन गरिएको थियो।
समुद्री सतहबाट करिब २२०० देखि २४०० मिटर उचाइमा अवस्थित चिया बगानबाट उत्पादित चियाले उच्च गुणस्तर प्रदर्शन गर्दै प्रतिस्पर्धामा अग्रस्थान हासिल गरेको हो। उच्च उचाइमा उत्पादित चियाको उत्पादन परिमाण कम भए पनि गुणस्तर उच्च हुने विशेषता रहेको प्राविधिकहरूले बताएका छन्।
३०औँ राष्ट्रिय चिया दिवसको मुख्य समारोहमा विजेताहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चिया क्षेत्रका विशिष्ट व्यक्तित्व, उद्योगी, किसान तथा पारखीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वि.सं. २०७२ सालमा स्थापना भएको गोल्डेन टी इस्टेट प्रा.लि.ले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा यसै चिया सिजनदेखि व्यावसायिक उत्पादन थालेको हो। छोटो अवधिमै राष्ट्रिय स्तरको प्रतिस्पर्धामा उत्कृष्टता हासिल गर्नुले संस्थाको सम्भावना उजागर गरेको छ।
क्षेत्रीय कार्यालय पोखराका प्रमुख चन्द्र पुरीका अनुसार गण्डकी प्रदेशको चिया उत्कृष्ट घोषित हुनु प्रदेशका लागि उत्साहजनक उपलब्धि हो। ‘यस सफलताले चिया उत्पादन र प्रशोधनमा संलग्न किसान तथा उद्योगीहरूलाई थप प्रेरणा र जिम्मेवारी दिएको छ,’ उनले बताए।
गोल्डेन टी इस्टेटका अध्यक्ष सरोज दाहालले विविध चुनौतीबीच बोर्डको सहयोगमा चिया प्रशोधन सुरु गरी उच्च गुणस्तर कायम गर्न सफल हुनु गर्वको विषय भएको बताए। ‘यस उपलब्धिले हामीलाई अझ जिम्मेवार बनाएको छ। आगामी दिनमा अझ समर्पण, निष्ठा र प्रतिबद्धताका साथ अघि बढ्नेछौं,’ उनले भने। उनले चियाको स्वादले दिने सन्तुष्टिजस्तै यो सफलताले पनि आत्मसन्तुष्टि प्रदान गरेको उल्लेख गरे।
बोर्डका प्राविधिक नगेन्द्र सुबेदीका अनुसार नेपालका पहाडी क्षेत्रमा चिनियाँ जातको चिया खेती उपयुक्त मानिन्छ, जसबाट अर्थोडक्स तथा ग्रिन टी जस्ता उच्चस्तरीय चिया उत्पादन गर्न सकिन्छ। ‘उचाइ बढ्दै जाँदा उत्पादन घटे पनि गुणस्तर वृद्धि हुन्छ। नेपालमा २२०० मिटरभन्दा माथि चिया बगान विरलै पाइन्छ, त्यसैले उच्च उचाइको चिया विशेष महत्वको हुन्छ,’ उनले बताए।
बोर्डका अनुसार गण्डकी प्रदेशमा बागलुङसँगै कास्की र लमजुङ जिल्लामा पनि व्यावसायिक चिया खेती विस्तार हुँदै गएको छ। पछिल्ला वर्षहरूमा आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग बढ्दै जाँदा गुणस्तरीय उत्पादनतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ।
गण्डकी प्रदेशको चियाले राष्ट्रिय स्तरमा उत्कृष्टता हासिल गर्नुले नेपाली चिया उद्योगको सम्भावना उजागर गरेको छ। यसले उच्च पहाडी क्षेत्रमा उत्पादन हुने चियाको ब्रान्डिङ, बजार विस्तार र निर्यात प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।













