---Advertisement---

मालिकाको वडामै पुगेर छापिएको राष्ट्रिय परिचयपत्र वितरण, बेनी आउनुपर्ने बाध्यताको अन्त्य

On: April 26, 2026 8:00 PM
Follow Us:

स्थानीय तहको घरदैलोमै सेवा दिने उद्देश्यले राष्ट्रिय परिचयपत्र वितरणलाई वडास्तरमै पुगेर वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा लामो समयदेखि थन्किएका राष्ट्रिय परिचयपत्र वडाबाटै वितरण अभियान अन्तरगत शनिबार मालिका गाउँपालिका–३ रुम डाँडागाउँमा ३० जना र वडा नं ४ ओखरबोटमा १२ जनालाई वितरण गरिएको थियो ।

त्यसैगरी आइतबार वडा नं ५ देविस्थानमा ६२ जना सेवाग्राहीलाई बस्तीमै पुगेर वितरण गरेको जिल्ला प्रशासन कार्यालयकी कम्प्यूटर अपरेटर बिष्णु खत्रीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमै पुगेर परिचपत्रका लागि विवरण दिनुभएकाको कार्ड वितरण भइरहेको छ । स्थानीय जनप्रतिनिधिले समेत समन्वय गरेकाले सहज भएको कम्प्यूटर अपरेटर खत्रीको भनाई छ ।

पालिकाबाटै वितरण थालिएपछि सेवाग्राहीलाई परिचयपत्र लिनका लागि सदरमुकाम बेनी जानुपर्ने बाध्यताको अन्त्य भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी राष्ट्रिय परिचयपत्र वितरण तथा जिल्ला हुलाक कार्यालयसँग समन्वय गरी राहदानीलाई घरदैलोमै पुर्याउने जनाएको छ।जनशक्ती र उपकरणको अभावले सबै पालिकाका एकैपटक राष्ट्रियपत्र वितरण नगर्न नसकिएपनि आवश्यक समन्वयमा सेवालाई निरन्तरता दिने प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले बताउनुभयो ।

राहदानी तथा विभिन्न सेवा लिन जिल्ला प्रशासनमा आएका सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको फारम भरेको लामो समयसम्म पनि परिचयपत्र लिन नआएको धेरै परिचयपत्रको कार्ड वितरण हुन सकेको छैन । परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै आउनुपर्ने र पुनःबायोमेट्रिक गर्नुपर्छ ।

Leave a Comment