राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले जेठ महिनाभित्र वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । शनिबार बेनीमा सम्पन्न ११औँ पूर्ण बैठकले जेठ महिना भित्र जिल्लाका ४५ वटै वडामा अधिवेशन सम्पन्न गर्ने गरी जिम्मेवारी बाँडफाँड गरेको छ ।
जिल्ला सभापति यूवराज रोकाले जिल्लाका ६ वटै स्थानीय तहमा वडा अधिवेशन सम्पन्न गर्ने टोली परिचालन गरिएको बेनीअनलाइनलाई बताउनुभयो। “निर्वानपछिको अवस्थाको समीक्षासंगै वडा अधिवेशन सुरु गर्ने निर्णय गरेका थियौँ । वडा अधिवेशनमा समस्या पनि संकलन गरी केन्द्रसम्म पुर्याउछौ’’ सभापति रोकाले भन्नुभयो ।

प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिनेछ । ११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य गरेको छ । चार जनामध्ये पनि एक जना अनिवार्यरुपमा दलित महिलाको व्यवस्था गरिएको छ । २ जना ४५ वर्षमुनिका युवा हुनुपर्छ । बैठकले जिल्लाका समस्यालाई लिएर केन्द्रसम्म डेलिगेशन पठाउने तयारी समेत गरेको छ ।

जिल्ला सचिव राजाराम बरुवालले पार्टी संगठनलाई थप सुदृढ र सक्रिय बनाउन जिल्ला, पालिका तथा वडा तहका समितिहरूलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरेको बताउनुभयो । उक्त प्रशिक्षण कार्यक्रम दिपक श्रेष्ठद्वारा प्रदान गर्नुभएको थियो । प्रशिक्षणमा संगठन विस्तार, कार्यशैली सुधार तथा पार्टीका नीति–दर्शनका विषयमा विशेष जोड दिइएको सहभागीहरूले बताएका छन्। पार्टीले समयमै वडा अधिवेशन सम्पन्न गरी संगठनलाई थप व्यवस्थित र सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ।










