त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिष्ट्रार प्रा.डा. केदार रिजालले कुलपति एवं प्रधानमन्त्री बालेन साहसमक्ष राजीनामा दिएका छन्।
शिक्षाध्यक्ष कार्यालयका उपप्रशासक गोविन्दबहादुर थापामार्फत तीनै पदाधिकारीको राजीनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गराइएको शिक्षाध्यक्ष प्रा.डा. केसीले जानकारी दिए।
उनका अनुसार सरकारको माग आएपछि तीनै जना पदाधिकारीले संयुक्त रूपमा राजीनामा दिने निर्णय गरेका हुन्। ‘सरकारको माग आएपछि हामीले राजीनामा लेखेर कुलपति कार्यालय पठायौं, प्रधानमन्त्री कार्यालयमा दर्ता भइसकेको जानकारी पायौं,’ केसीले बताए।
सरकारले अध्यादेशमार्फत १६ विश्वविद्यालय ऐन, ७ स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन तथा केही नेपाल ऐन संशोधनको प्रक्रिया अघि बढाएपछि विश्वविद्यालयका पदाधिकारीहरू पद छाड्ने अवस्थामा पुगेका हुन्।
उपकुलपति प्रा.डा. अर्यालका अनुसार प्रधानमन्त्री कार्यालयका सहसचिव प्रदीप परियारले रजिष्ट्रार रिजाललाई सन्देश पठाउँदै पद छाडेर काम गर्न सहज वातावरण बनाउन अनुरोध गरेका थिए। त्यसपछि बिहीबार बिहान बसेको बैठकले तीनै जना पदाधिकारीले राजीनामा दिने निर्णय गरेको उनले बताए।
‘आज बिहान बैठक बसेर पद छाड्ने निर्णय गर्यौं। उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार सबैले राजीनामा लेखेर कुलपतिसमक्ष पठाएका छौं,’ अर्यालले भने।
उनले देशभरका १६ विश्वविद्यालय र ७ स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरू पनि राजीनामाको तयारीमा रहेको जानकारी दिए।
उपकुलपति अर्यालले आफ्नो १० महिनाको कार्यकालमा त्रिविको शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि निरन्तर काम गरेको दाबी गरे। ‘पद छाड्दा पनि म सन्तुष्ट छु। सबैलाई मिलाएर विश्वविद्यालय सुधारको कामले गति लिएको थियो,’ उनले भने।
शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले आफूहरूले राजीनामा दिएको बताए। ‘मेरो दुई वर्षे कार्यकाल सकारात्मक सुधारतर्फ केन्द्रित रह्यो,’ उनले भने।
यसैबीच नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले सरकारले नयाँ ढंगबाट काम गर्न खोजेको अवस्थामा आवश्यक परे आफूहरू पनि मार्गप्रशस्त गर्न तयार रहेको बताए।
नयाँ सरकारले अध्यादेशमार्फत कानुनी व्यवस्था संशोधनको तयारी गरेपछि विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरू पदत्यागतर्फ उन्मुख भएका हुन्।










