म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको बगर क्षेत्रस्थित जंगलमा लुकाइराखेको अवस्थामा ६ थान बन्दुक फेला परेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको ‘ब्राभो सेरा अपरेसन’ अन्तर्गत खोजीकार्यको क्रममा भरुवा बन्दुक बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार इलाका प्रहरी कार्यालय दरबाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले बुधबार उक्त बन्दुक बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले २०८२ मङ्सिर १५ गतेदेखि सुरु गरेको ‘ब्राभो सेरा अपरेसन’ अन्तर्गत हालसम्म जिल्लाका विभिन्न क्षेत्रबाट इजाजतबिनाका १४२ थान भरुवा बन्दुक नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाले बताउनुभयो ।
अवैध हतियार चोरी–सिकारीका साथै विभिन्न अप्रिय घटनामा प्रयोग हुन सक्ने भएकाले अभियानलाई निरन्तरता दिइएको छ । म्याग्दीमा लामो समयदेखि प्रयोगविहिन अवस्थामा रहेका बन्दुकको खोजीकार्यलाई तिब्र पारेपछि प्रयोगकर्ताले सार्वैजनिक ठाउँमा फाल्न थालेपछि बरामद हुने क्रम बढेको छ ।
प्रहरीले बन्दुक सहित पक्राउ गरेमा मुद्धा चलाउने डरले समेत बनजंगलमै छोडेर भाग्ने गरेका छन् । ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) तथा विभिन्न सामुदायिक वन क्षेत्रमा वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण गर्न अभियान प्रभावकारी देखिएको छ । जिल्लाको ६ वटै स्थानीय तहमा बन्दुक बरामद भइरहेको छ ।











