---Advertisement---

‘बालविवाहको न्यूनिकरण हाम्रो प्राथमिकतामा छ’

On: May 6, 2026 8:09 PM
Follow Us:

नेपालको कानुनले २० वर्ष मुनिको विवाहलाई बालविवाहको रूपमा परिभाषित गर्दै यसलाई दण्डनीय अपराध मानेको छ। तथापि, भौगोलिक विकटता, चेतनाको कमी र सामाजिक परम्पराका कारण धवलागिरी गाउँपालिकामा बालविवाह अझै पनि एक चुनौतीको रूपमा रहेको छ। गाउँपालिकाले यस सामाजिक कुरीतिलाई अन्त्य गर्न के–कस्ता नीतिगत र व्यावहारिक कदमहरू चालिरहेको छ भन्ने विषयमा केन्द्रित रहेर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मासँग बेनीअनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि के–कस्ता कार्यहरू गरिरहेको छ त?
धवलागिरी गाउँपालिकाले बालविवाह न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेको छ।हामीले समुदाय स्तरमा औपचारिक र अनौपचारिक दुवै माध्यमबाट अन्तरक्रिया सहितका कार्यक्रमहरू सम्पन्न गरेका छौँ।विशेष गरी, बालबालिकाहरूको आवाज बुलन्द गर्न बाल सञ्जाल र क्लबहरू गठन गरी उनीहरूलाई परिचालन गरिएको छ। चालु आ.व.०८२÷८३ मा वडा नं. १ गुर्जामा सरोकारवालाहरुको सहभागितामा सचेतनामूलक कार्यक्रम समेत सम्पन्न गरिसकेका छौ।

तथ्याङ्क वा वस्तुस्थितिलाई हेर्दा गाउँपालिकाभित्र बालविवाहको अवस्था कस्तो छ?
इमानदारीपूर्वक भन्नुपर्दा, गाउँपालिकाले विगत देखि नै संचालन गरेका विभिन्न सचेतनामूलक कार्यक्रमहरुको कारण केही सुधार त देखिएको छ तर बालविवाह पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।विशेष गरी दुर्गम क्षेत्रहरूमा यो अझै पनि ठुलो चुनौतीको रूपमा छ। पछिल्ला ३ वर्षको तथ्याङ्क हेर्दा वडा नं. १ गुर्जामा मात्रै १६ वटा बालविवाह भएको पाइएको छ । यो समस्या समाधानका लागि गाउँपालिकाले विभिन्न संघसंस्थासँग समेत सहकार्य गरिरहेको छ ।

समुदायसँग सबैभन्दा नजिक स्थानीय सरकार छ, तपाईँको अनुभवमा बालविवाहका प्रमुख कारणहरू के–के हुन?
यसका पछाडि बहुआयामिक कारणहरू छन्।हाम्रो समाजमा जरो गाडेर बसेको परम्परागत सोच र जनचेतनाको कमी मुख्य हुन्।पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोग र स्थानीय मेला–पर्वहरूमा विवाह गर्ने चलनले गर्दा पनि बालविवाहले प्रश्रय पाइरहेको देखिन्छ।

सामाजिक सञ्जालको दुरुपयोगले समेत बालविवाह बढ्दै गएको छ भन्नुभयो, यसलाई न्यूनीकरण गर्न पालिकाको योजना के छ?
यो निकै संवेदनशील विषय हो।हामीले सुरक्षा निकाय विशेष गरि जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी ताकमसँग समन्वय गरेर विद्यालयहरूमा ’डिजिटल सुरक्षा’र साइबर सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएका छौँ।बालबालिकालाई सुरक्षित इन्टरनेट प्रयोग र अभिभावकलाई आफ्ना छोराछोरीको निगरानी गर्ने बारे जानकारी प्रदान गरिरहेका छौँ।विगतमा भएका यस्ता छलफलहरूलाई अब अझ प्रभावकारी र निरन्तर बनाइनेछ।

बालविवाह रोक्न गाउँपालिकालाई अन्य साझेदारी संस्थाले कत्तिको सहयोग गरिरहेका छन्? के कुनै रणनीतिक योजना बनाउनुभएको छ?
विभिन्न गैरसरकारी संस्था र सम्बन्धित निकायहरूसँग हाम्रो निरन्तर समन्वय र सहकार्य भइरहेको छ।पालिका र साझेदार संस्थाहरू विशेष गरि संगम म्याग्दी तथा गूड नेवर्स इन्टरनेशनलसँग मिलेर बालविवाह न्यूनीकरणका लागि स्थानीय रणनीति, सर्वेक्षण र ’बाल कचहरी’ जस्ता कार्यक्रमहरू संचालन गरेका छौँ।आगामी दिनमा कार्यक्रमहरूमा दोहोरोपना नआओस् भनेर सुदृढ साझेदारी मार्फत अघि बढ्ने हाम्रो योजना छ।

बालविवाह गैरकानुनी भए तापनि यसविरुद्ध प्रभावकारी आवाज किन उठ्न नसकेको होला?
यसको मुख्य कारण सामाजिक डर, परम्परागत सोच र कानुनी साक्षरताको कमी नै हो।कतिपय अवस्थामा बालविवाह भइहाले पनि त्यसलाई ’इज्जत’ सँग जोडेर समुदायमै लुकाउने प्रवृत्ति छ।त्यसैले कानुनी कारबाहीसँगै सामाजिक सोचमा परिवर्तन ल्याउनु अनिवार्य देखिएको छ।

कानुनी सचेतनामूलक कार्यक्रमहरूलाई पालिकाले किन प्राथमिकता दिन नसकेको?
त्यसो होइन, हामीले कानुनी सचेतनालाई प्राथमिकतामै राखेका छौँ।यद्यपि, यसको पहुँच र प्रभाव विस्तारमा अझै सुधारको खाँचो छ भन्ने हामीले महसुस गरेका छौँ।अबका दिनमा कानुनी साक्षरतालाई विद्यालय र समुदाय स्तरको समन्वयसँग जोडेर थप प्रभावकारी बनाउनेछौँ। यसका लागि गाउँपालिकामा रहनुभएका स. महिला विकास निरीक्षक तथा न्यायीक सहजकर्तालाई परिचालन गर्ने गरि योजना बनाएका छौँ । हामीले प्राथमिकता दिएर काम गरेको अवस्थमा केृही सुधारका सूचकहरु समेत देखिएको छ ।

उमेर नपुग्दै हुने विवाह र त्यसले स्वास्थ्यमा पार्ने असरबारे जानकारीको कमीले पनि समस्या उग्र बनेको हो कि?
हजुर, उमेर नपुग्दै हुने विवाहले गर्दा हुने बाल गर्भाधान र त्यसका स्वास्थ्य जटिलताहरूबारे जानकारीको कमी पक्कै पनि एउटा कारण हो।यसका लागि हामीले स्वास्थ्य शाखा तथा मातहतका स्वास्थ्य संस्थाहरुसँगको समन्वयमा जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ। उमेर नपुग्दै विवाह गरेका जटिल समस्याहरुका बारेमा सचेतनामुलक अभियानमा समेत जोडिएको छ ।

बालविवाह उन्मूलन गर्न छोरीहरूको सशक्तीकरणमा गाउँपालिकाको योजना के छ?
’छोरी सशक्तिकरण’ हाम्रो योजनाको केन्द्रमा छ।हामीले छोरीहरूको शिक्षामा पहुँच पु¥याउन छात्रवृत्ति, सीप विकास तालिम र बाल सञ्जालहरूको क्षमता विकासमा जोड दिएका छौँ।उनीहरूमा आत्मनिर्भरता र आत्मविश्वास बढाउने किसिमका कार्यक्रमहरू आगामी दिनमा सञ्चालन गरिनेछ। अशिक्षा र गरिबीका कारण भइरहेका समस्या समाधानका लागि हामीले प्राथमिकता दिएर काम गरिरहेका छौ ।

अन्त्यमा, बालविवाह न्यूनीकरणमा के भयो भने सफल भइन्छ जस्तो लाग्छ?
बालविवाह अन्त्य गर्न केवल एउटा पक्षको प्रयासले पुग्दैन।यसका लागि कानुनको प्रभावकारी र पूर्ण कार्यान्वयन, व्यापक जनचेतना, समुदायको सक्रिय सहभागिता र बहुक्षेत्रीय समन्वय आवश्यक छ।सबैको सहकार्य र साझा सङ्कल्पबाट मात्रै हामीले दीर्घकालीन सफलता प्राप्त गर्न सक्छौँ।

यहाँको व्यस्त समयका बाबजुद गाउँपालिकाले बालविवाह विरुद्ध चालेका कदम र भावी योजनाका बारेमा प्रस्ट पारिदिनुभयो, यसका लागि बेनीअनलाइनलाई धेरै–धेरै धन्यवाद।

आशा छ, यहाँहरूको यो सक्रियताले धवलागिरी गाउँपालिकालाई छिट्टै बालविवाह मुक्त बनाउन सफल हुनेछ। महत्वपूर्ण सामाजिक विषयमा चासो राखेर पालिकाको आवाज समुदायसम्म पु¥याउने अवसर दिनुभएकोमा तपाईँ र तपाईँको सञ्चार माध्यमलाई पनि धेरै धेरै धन्यवाद। हामी सबै मिलेर मात्र यो कुरीतिलाई समाजबाट हटाउन सक्छौँ ।

Leave a Comment