रोजगारीको क्रममा सर्बियादेखि इटली जाने क्रममा बेपत्ता भएका बेनी नगरपालिका–९,काउलेगौँडाका विष्णु सार्की ७ महिनदेखि घरपरिवारसँग सम्पर्कविहिन हुनुहुन्छ । ऋण खोजेर पैसा कमाउन गएका सार्की कात्तिक २२ गतेदेखि घरपरिवारसँग सम्र्पक हुन सकेको छैन । सम्पर्कविहिन भएका सार्कीको खोजीकार्यका लागि हालसम्म गरिएका प्रयास सफल हुन सकेको छैन ।
सर्वियामा रहेका म्याग्देलीले समेत सार्की सम्पर्कविहिन भएका रुटमा खोजीकार्य गरेपनि विभिन्न कानुनी प्रक्रियाका कारण परिणामुखी हुन नसकेको बताएका छन् । इटली जाने क्रममा खोलामा डुङ्गा दुर्घटना भएको खवर आएपछि खोजीकार्य भएपनि त्यहाँको प्रहरीसँगको पहुँचको अभावका कारण बास्तविकता पहिचान गर्न समस्या भइरहेको छ ।
बेपत्ता सार्की सम्पर्कविहिन भएको क्षेत्रमा कार्यरत सर्विएन प्रहरीसँग अभिलेख खोजीको प्रयास भइरहेको मोना अन्तराष्ट्रि«यका अध्यक्ष मिम पूर्जाले बताउनुभयो । ‘बेपत्ता भएपछि विभिन्न माध्यमबाट खोजीको प्रयास भइरहेको छ, विशेषगरी यूरोपको टिमको सक्रियता छ, हामीले सत्यतथ्य फेला पारेपछि परिवारलाई जानकारी गराउँछौ’ अध्यक्ष पूर्जाले बेनीअनलाइनलाई भन्नुभयो ।
सर्वियामाबाट यूरोपका अन्य देशमा राम्रो तलबसुविधा हुने भएकाले दैनिक हजारौं आप्रवासीहरू जोखिम मोलेर यात्रा गर्ने गरेका छन्। बेपत्ता सार्कीको तस्वीर, पासपोर्ट विवरणसहित सामाजिक सञ्जालमार्फत एनआरएनए सहित अन्य संघसंस्थासँग समेत खोजी गरिदिनुहुन अनुरोध गरिएको छ। बेपत्ता सार्कीको बास्तविकता पहिचान नहुदाँसम्म खोजीकार्यलाई जारी राखिने जनाइएको छ ।
बेपत्ता सार्कीकी श्रीमति सरिता सार्कीले विदेशबाट श्रीमानको फोन आँउछ की भन्दै टेलिफोनको आशामा दिनरात बित्ने गरेको बताउँदै धेरै समय हुदाँसम्म पनि श्रीमानका बारेमा कुनै जानकारी नभएको बताउनुभयो । सरिताले भाबुक हुदै भन्नुभयो,‘खोजीकार्य राम्रो भएको छैन, छोराछोरीले बुबालाई खोज्छन्, मैले केही जवाफ दिन सकेको छैन ।’

जिल्ला प्रशासन कार्यालय अन्तर्गतको आप्रवासी स्रोत केन्द्रको समन्वयमा वैदेशिक रोजगार बोर्ड, परराष्ट्र मन्त्रालय र जर्मनमा रहेको नेपाली राजदूतावासको समन्वयमा डुङ्गा दुर्घटना हुँदा घाइते र अलपत्र बनेकाको उद्धार भएपनि सार्कीको अत्तोपत्तो छैन् ।
सर्वियामा काम र ज्याला नपाएपछि इटली जान हिँडेका १३ जना नेपाली चढेको डुंगा दुर्घटना हुँदा पानीमा डुबेर घाइते अवस्थामा त्यहाँको प्रहरीले उद्धार गरेर उपचार गरे पनि राहदानी लगायत कागजात नहुँदा अलपत्र परेकाहरूमा सार्की समेत हुनसक्ने भन्दै खोजीकार्य गरिएको छ।
आप्रवासी स्रोत केन्द्र म्याग्दीकाले गृह, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, जर्मन राजदूतावाससँग समन्वय गरिरहेको छ । खोजीकार्य चुनौतीपूर्ण भएपनि दुर्घटना भएको नदीबाट उद्धार गरिएकाहरु अझैै अस्पतालमा रहेको बताइएकाले त्यहाँ सार्की समेत हुनसक्ने भन्दै उक्तदिन उद्धार भएको विवरण नेपाली सँंघसंस्थालाई प्रहरीबाट लिन परिवारले अपिल गरेका छन् ।












