धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको धवलागिरी गाउँपालिका–४ मुदीमा दशक अघिसम्म पर्यटकलाई बासपाउन हम्मेहम्मे पर्दथ्यो ।
शरद र वसन्त याममा विश्वको सातौँ अग्लो(आठ हजार एक सय ७६ मिटर) धौलागिरि हिमाल आरोहण गर्ने र धौलागिरिको फेदी हुँदै मुस्ताङको मार्फा निस्कने चक्रीय धौलागिरि पदमार्गमा आउने पर्यटकले भरिभराउ हुने मुदी अहिले सुनसान छ ।
पर्यटक, पथप्रर्दशक र मजदुरहरुको लहर देखेर मुदीमा धौलागिरि सामुदायिक घरवास स्थापना गरेका व्यवसायी गणेश घर्ती अहिले व्यवसाय बन्द गरेर बाख्रापालन शुरु गर्नुपरेको बताउनुहुन्छ । “यहाँका दुई क्याम्पमा क्षमता भन्दा बढी पर्यटक आएको देखेर उनीहरुको सुविधाका लागि ‘होमस्टे’ सञ्चालनमा थिए,” उहाँले भन्नुभयो “पछिल्लो समय पर्यटकहरु सिधै हेलिकप्टर चढेर आधार शिविर पुग्न थालेपछि ‘होमस्टे’ बन्द गरेर बाख्रा पाल्न थालेको छु ।” मुदीमा रहेका करिब ५० जना क्षमताका पाँच घरवास सञ्चालकको मात्र नभएर याममा पर्यटकको भारी बोकेर जिविकोपार्जन गरिरहेकाहरुको रोजगारी खोसिएको उहाँले गुनासो गर्नुभयो ।

पर्यटक र पर्वतारोहीहरु हेलिकप्टर चढेर सिधै आधार शिविर पुग्नुका साथै जलविद्युत आयोजनाहरुले निर्माण गरेको पहुँचमार्गले पदमार्ग मासिएको र नौ दिनको यात्रा दुई दिनमा छोटिदा मुदी, नाउरा, बगरका सन्नटा छाएको धवलागिरि–४ का वडाध्यक्ष यामप्रसाद घर्तीले बताउनुभयो । “पर्वतारोहीहरु हेलिकप्टरबाट आधार शिविर पुग्छन्, हेलिकप्टरबाटै सामान ओसार्छन, बेनीदेखि नौ दिन लाग्ने धौलागिरि आधार शिविर पुग्न दोभानसम्म सडक पुगेपछि दुई दिनमा छोटिदा पदमार्गका बस्तिहरु छलिएका हुन्,” उहाँले भन्नुभयो “धौलागिरि फेदीका बस्तिका बासिन्दाहरु प्राकृतिक स्रोतको लाभबाट बञ्चित भएका छन् ।”
मुदी–गुर्जा पदमार्गको सम्भाव्यता अध्ययन गर्न र धौलागिरि संरक्षण क्षेत्र बनाउन घर्तीद्धयले माग गर्नुभयो । ‘फोरटिन पिक्स एक्सपिडिसन’का स्थानीय प्रतिनिधी इन्द्रसिंह शेरचनका अनुसार भरियालाई सामान बोकाउनुको विकल्पमा हेलिकप्टरबाट ढुवानी गर्दा सस्तो पर्ने भएकाले पर्यटक र पर्वतारोहीहरुले पदयात्रा प्रयोग गर्न छाडेका हुन् ।

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए । उनीसहित डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धौलागिरिकोे चुचुरोमा पुगेका थिए । पर्यटन विभागका अनुसार ६६ वर्षमा सात सय ३३ जनाले धौलागिरि आरोहण गरेका छन् । धौलागिरि फेदीमा रहेको मुदीमा बुधबार ६६ औ आरोहण दिवसको अवसरमा छोटिएको पदमार्ग, जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको असर र विकल्पको खोजीमा सरोकारवालाहरुबीच बहस र छलफल भयो ।
रासस













