म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले संसद्मा बोल्न ५ मिनेट दिइएकोमा असन्तुष्टि जनाउनुभएको छ । सभामुख डोलप्रसाद अर्यालले उनलाई आज ५ मिनेटको समय दिएपछि रोस्टमबाट सांसद पुनले भन्नुभयो,‘म एक्लो माननीय भनेर हेला नगरियोस् । अरूले १०, १५, २०, ३० मिनेट पाउँदा मलाई ५ मिनेट नदिइयोस् ।’
पार्टीका सांसदभन्दा आफ्नो समर्थक धेरै रहेको सभामुखलाई स्मरण गराउनुभएको थियो । ‘मेरो समर्थन धेरै छन् नेपालमा । म एक्लो छैन । सारा नेपालीले चिन्छन् । ५ मिनेट स्वीकार्य छैन,’ पुनले भन्नुभयो । त्यसपछि आफू मन्त्री भएको बेला ल्याउन लागेको अध्यादेश अहिलेको सरकारले पनि नल्याएको बताउनुभयो । ‘तीन वटा अध्यादेश ल्याउन खोजेको थिएँ । त्यतिबेल गर्न खोजेको, सकिएन,’ उहाँले भन्नुभयो । ‘सरकारले ८ वटा अध्यादेश ल्यायो तर मैले ल्याउन खोजेको आएको छैन ।’
विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउने अध्यादेश ल्याउन लागेको तर अहिलेको अध्यादेशमा त्यो विषय नआएको उहाँको भनाई छ।‘विश्वविद्यालय राजनीति मुक्त गर्ने भनेको छ । तर अहिले पनि कुलपति प्रधानमन्त्री हुने व्यवस्था छ नि,’ उहाँले भन्नुभयो । विज्ञान प्रविधिको विकास गर्न विज्ञान प्रविधि मन्त्रालय छुट्टै बनाउन पनि माग गर्नुभएको छ । सांसद पुनले सामाजिक सञ्जालबाट गरेको आफ्नो पोष्टका बारेमा समेत संसदमा सुनाउँदै ब्यंग्य गर्नुभएको थियो ।










