म्याग्दीमा एक युवतीलाई ब्ल्याकमेल गरी ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रेम सम्बन्धको नाटक गरी युवतीलाई ‘ब्ल्याकमेल’ गरेर रकम फुत्काउन खोज्ने युवक प्रहरी फन्दामा परेका हुन् । बेनी नगरपालिका–६ डम्मरा निवासी २२ वर्षीय आशिष थापाले यूवतीको अश्लिल भिडियो बनाइ सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै रकम तथा गरगहना ठगी गरेको पीडितको जाहेरी दिएपछि रहस्य खुलेको थियो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक सागर तिमिल्सिनाका अनुसार ती युवतीसँग प्रेमसम्बन्ध नाटक गरी आर्थिक असुलीको नियत देखिएको छ । युवकले पीडित युवतीसँग अस्लिल भिडियो बनाइ उक्त भिडियो सार्वजनिक गर्ने धम्की दिँदै ९ लाख १० हजार ३ सय ७० रुपैयाँ बराबरको रकम तथा गरगहना ठगी गरेको आरोप छ।
पीडितको उजुरीपछि नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदाम कास्कीको समन्वयमा उनलाई पोखरा महानगरपालिका–६ लेकसाइडबाट नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक तिमिल्सिनाले बेनीअनलाइनलाई बताउनुभयो । पक्राउ परेका थापालाई जिल्ला म्याग्दी अदालतबाट आपराधिक लाभ (ठगी) तथा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा शिर्षकमा ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ । म्याग्दीमा सामाजिक सञ्जालको प्रयोग गरी ठगि हुने गरेको छ ।













