“उद्यमी बनौं, स्वरोजगारको सिर्जना गरौं” भन्ने मूल नाराका साथ १५ दिने स्तरोन्नती ब्याग सिलाई सम्बन्धी तालिम बेनीस्थित म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा सुरु भएको छ।
महिला उद्यम विकास समिति, म्याग्दी उद्योग वाणिज्य संघ र बेनी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको तालिम २०८३ साल जेठ ५ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ। तालिमको उद्देश्य महिलाहरूलाई सीपमूलक ज्ञान प्रदान गरी स्वरोजगार र आत्मनिर्भरतातर्फ उन्मुख गराउनु रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको सभापतित्व महिला उद्यम विकास समितिकी सभापति अम्बिका श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछाने पौडेलको उपस्थिति रहेको थियो।
त्यसैगरी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, निवर्तमान अध्यक्ष बेलबहादुर कटुवाल क्षेत्री तथा संघका पूर्व अध्यक्ष एवं बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य अतिथिका रूपमा सहभागी हुनुभएको थियो। तालिमको व्यवस्थापन चन्द्रा घलेले गर्नुभएको छ भने प्रशिक्षकका रूपमा कुमारी थापाले सहजीकरण गरिरहनुभएको छ।
आयोजकका अनुसार तालिमबाट सहभागी महिलाहरूले ब्याग सिलाईसम्बन्धी उन्नत सीप हासिल गरी घरेलु उद्यम सञ्चालन गर्न सक्षम हुने अपेक्षा गरिएको छ। यसले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुका साथै महिलाहरूको आयआर्जनमा टेवा पुग्ने विश्वास लिइएको छ।









