---Advertisement---

मङ्गलाका किसानलाई कृषि औजार वितरण

On: May 20, 2026 11:10 AM
Follow Us:

म्याग्दीको मङ्गला गाउँपालिकाले करिब दुई सय जना किसानलाई रु एक करोड मूल्य बराबरका कृषि औजार वितरण गरेको छ । 

गाउँपालिकाको केन्द्र बाबियाचौरको माटेबगरमा मङ्गलबार ५० प्रतिशत अनुदानमा मिनिटेलर हलो, मिल र थ्रेसर मेसिन वितरण गरिएको हो । गाउँपालिकाको कृषि शाखाका प्रमुख विमल रोकाले १४९ वटा मिनिटेलर हलो, ३५ वटा मिल र ११ थान थ्रेसर वितरण गरेको जानकारी दिनुभयो । 

कृषि कार्यको लागत घटाउन, कृषकहरुको सहजता र समयको बचतका लागि यान्त्रिकरणका कार्यक्रममा जोड दिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । खेतबारी खनजोतका लागि गोरुको विकल्पमा मिनिटेलरको प्रयोग बढेको छ । 

एक हल गोरुले तीन दिन लगाउने खेतबारी मिनिटेलरले तीन घण्टामै जोत्न थालेपछि समय र खर्चको बचत हुनुका साथै हलगोरु पाल्नुपर्ने झञ्जट हटेको मङ्गला गाउँपालिका–४ का किसान धनमाया रोकाले बताउनुभयो । 

मिनिटेलरको सुविधा भएपछि हलगोरु पाल्दा घाँस, पानीको जोहो गर्दा हुने झञ्जट हटेको किसान नन्दकला सुनारले बताउनुभयो । किसान जगत घर्तीले मिनिटेलरलगायतका उपकरणको प्रयोगबाट कृषि मजदुर नपाउने समस्याबाट मुक्ति मिलेको र समयको बचत भएको बताउनुभयो । रासस

Leave a Comment