म्याग्दीको रघुगङ्गा गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरेको छ । चालु शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म पठनपाठन हुने गरी गाउँपालिकाले ‘हाम्रो रघुगङ्गा’ नामक स्थानीय पाठ्यपुस्तक तयार गरेको हो ।
गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक निर्माणका लागि जनता मावि दग्नामका प्रधानाध्यापक गुन पुनको नेतृत्वमा शिक्षकहरूको कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले पुस्तक तयार गरी प्रकाशन गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख नहेन्द्र आचार्यले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल तथा शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख विदुर चापागाईंले बुधबार पाठ्यपुस्तकको विमोचन गर्नुभयो ।
हो ।
एक सय पूर्णाङ्कको पठनपाठन हुने गरी तयार गरिएको स्थानीय पाठ्यपुस्तक पालिकाभित्रका ३३ सामुदायिक र एक संस्थागत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई पढाइने छ ।
विद्यालय तहका बालबालिकालाई पालिकाभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, कला, स्थानीय सीप तथा प्रविधि, कृषि, पशुपालनलगायत विषयबारे जानकारी गराउन स्थानीय पाठ्यपुस्तकले सहयोग पुग्ने गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।
उहाँले अर्को शैक्षिक सत्रदेखि कक्षा ४ र ५ का लागि समेत पाठ्यपुस्तक तयार गरिने जानकारी दिनुभयो । स्थानीय पाठ्यपुस्तकले विद्यार्थीलाई आफ्नै पालिकाको समग्र चिनारी गराउने विश्वास गरिएको छ । पालिकाका सबै बस्तीमा पुगेर आवश्यक विवरण, तस्बिर तथा सुझाव सङ्कलन गरी पालिकाको पहिचान झल्किने गरी पाठ्यपुस्तक तयार गरिएको पुस्तक निर्माण कार्यदलका संयोजक गुन पुनले बताउनुभयो ।
पुस्तक विमोचन कार्यक्रममा पुस्तक निर्माण तथा लेखन कार्यदलका संयोजक गुन पुन, सदस्यहरू अर्जुन पौडेल, भगवानबहादुर खत्री, विजय शर्मा, कुसुम पुर्जा, भाषा सम्पादन गर्ने दुर्गादत्त रिजाल र रामचन्द्र सुवेदी तथा तस्बिर सङ्कलन गर्ने कमल खत्री, याम घर्तीमगर र राजन बानियाँलाई गाउँपालिकाले प्रशंसापत्रद्वारा सम्मान गरेको थियो ।









