---Advertisement---

लमसुङमा आँखाको निःशुल्क परीक्षण शिविर सम्पन्न : २ सय ३९ जनाको आँखा परीक्षणसहित औषधी र चस्मा वितरण

On: May 22, 2026 6:53 AM
Follow Us:

म्याग्दीको धवलागिरि गाउँपालिका वडानम्बर २ लमसुङमा बिहीबार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अमेरिकाको आयोजना, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दी र आँखा उपचार केन्द्रको व्यवस्थापन तथा प्राविधिक सहयोग, धवलागिरि गाउँपालिका र वडा कार्यालयको समन्वय तथा आईकेयर फाउण्डेशनको सहयोगमा आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो ।

लुलाङ स्वास्थ्यचौकीको प्राङ्गणमा सम्पन्न शिविरमा कुल २ सय ३९ जनाले आँखा परीक्षण गर्नुका साथै उनीहरुलाई निःशुल्क रुपमा औषधी र चस्मा वितरण गरिएको नेत्रज्योति संघ म्याग्दीले जनाएको छ । शिविरमा १ सय ५७ जना महिला र ८१ जना पुरुषको आँखा चेकजाँच गर्नुका साथै परामर्श सेवा पनि उपलब्ध गराइएको थियो । तीमध्ये जम्मा ७ जनामा मोतियाविन्दुको समस्या देखिएकाले उनीहरुको आगामी दिनमा हुने बृहत शिविरमा शल्यक्रिया गरिने भएको छ ।

शिविरमा नेत्रज्योति संघ म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँले सर्वसाधारण बिरामीको आँखा चेकजाँच गरी आवश्यक परामर्श सेवा समेत प्रदान गर्नुभएको थियो । निःशुल्क आँखा परीक्षण शिविरमा लुलाङ स्वास्थ्यचौकीका प्रमुख नितु पाईजासहित स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु र वडाका कर्मचारीले नामदर्ता, बिरामीको आँखामा भिजन चेकजाँच गर्नुका साथै उनीहरुलाई औषधीसहित चस्मा वितरण गरेका थिए । शिविरमा आँखाको चेकजाँच तथा परीक्षण गर्न आएका ज्येष्ठनागरिक बिरामीलाई नामदर्ता गरेको पूर्जा दिएर लुलाङका वडा अध्यक्ष अकप्रसाद विकले औपचारिक रुपमा शिविर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्दै वडाध्यक्ष विकले लमसुङमा आयोजित निःशुल्क आँखा शिविर कार्यक्रमले बिरामी तथा स्थानीयवासीहरुलाई राहत मिलेको बताउनुभयो । उहाँले लुलाङवासीलाई गाउँघरमै आँखा सम्बन्धी शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गर्नको लागि आवश्यक सहयोग गर्ने जिल्लास्थित विभिन्न संघसंस्थालाई धन्यवाद दिनुभयो । मोना आईईसीका संरक्षक तथा नेत्रज्योति संघ म्याग्दीका सदस्य सुवासकुमार श्रेष्ठले मोनामार्फत म्याग्दी जिल्लाको विभिन्न स्थानमा शिक्षा, स्वास्थ्यलगायत धेरै क्षेत्रमा सहयोग गरिएको बताउनुभयो ।

मोनाका प्रतिनिधि भक्तबहादुर सिंकिजाले विगतमा आफू प्रवासमा रहँदा पनि जिल्लाका लागि धेरै कामहरु गरेको बताउँदै अहिले आफ्नै गाउँमा आँखाको शिविर ल्याइएको जानकारी दिनुभयो । नेत्रज्योति संघ जिल्ला शाखाका सभापति अमर बानियाँले समुदायस्तरबाट अन्धोपन निवारण गर्ने उद्देश्यसहित लमसुङमा पहिलोपटक आँखा शिविर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले मानव शरिरमा रहेका अङ्गहरुमध्ये सबैभन्दा महत्वपूर्ण अङ्ग आँखा भएकाले आँखामा दृष्टिको संरक्षण गर्न आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि पालिका, वडा र स्वास्थ्यचौकीसँगको समन्वयमा थप शिविरका कार्यक्रमहरु ल्याइने बताउनुभयो ।

शिविरको उद्घाटनसत्र नेत्र अधिकृत बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । लमसुङमा आयोजित शिविरमा लमसुङसहित लुलाङ, खोरिया, मुना, दरलगायत वस्तीबाट सर्वसाधारण, बिरामी, शिक्षक विद्यार्थी, स्वास्थ्यकर्मी र कर्मचारीले समेत आँखाको परीक्षण गराएका थिए । यसअघि धवलागिरि गाउँपालिकाको वडानम्बर १ गूर्जा र ४ नम्बर वडा मुदीमा आँखा परीक्षण शिविर सम्पन्न भैसकेको छ ।

Leave a Comment