म्याग्दीको बेनी बजार स्थित कालीगण्डकी नदी किनारको घाट सरसफाई गरिएको छ । शनिबार पौडेल वंश महासंघ जिल्लामा कार्यसमिति म्याग्दीले पौडेल वंश महासंघ नेपालको सामाजिक उत्तरदायित्व अन्तर्गतको एक जिल्ला एक कार्यक्रम अन्तरगत म्याग्दी र कालीगण्डकीको संगमस्थलमा शवदाहस्थल(घाट) वरपर सरसफाई गरी १२ बोरा फोहोर संकलन गरिएको समितिका सचिव मुक्ति सुबेदीले बेनीअनलाइनलाई बताउनुभयो ।
विश्वमा शालिग्राम पाइने एक पवित्र कालीगण्डकी नदीको ऐतिहासिकता, धार्मिक, सभ्यता र महत्वलाई जोगाउने अभियान अन्तरगत सरसफाई गरिएको पौडेल वंश महासंघ जिल्लामा कार्यसमिति म्याग्दीका अध्यइा रामप्रसाद पौडेलले बताउनुभयो । नदी किनारमा थुप्रिएका काठ, बोत्तल, कागज र पलास्टिक व्यवस्थापन गरिएको थियो । अभियानमा उपाध्यक्ष देवीप्रसाद पौडेल, कोषाध्यक्ष पदम बहादुर पौडेल लगायत सदस्यहरुको उपस्थिती रहेको थियो ।
धार्मिक, सांस्कृतिक महत्वको कालीगण्डकीमा सडक, ढल, जथाभावी गरिएको उत्खनन र मानवीय अतिक्रमणका कारण कालीगण्डकी (कालीगंगा) को जलसभ्यता संकटमा पर्दै जान थालेको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट म्याग्दीको सदरमुकाम बेनी हुँदै गुल्मीको रिडीसम्म पुग्दा प्रदूषित बन्दै गएको कालीगण्डकी बचाउँ अभियान समेत सञ्चालित छ ।









