युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी जेसीजले जिल्लामा रहेर विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका चारजना यूवालाई सम्मान गरेको छ । २८ औँ स्थापना दिवसको उद्घाटन समारोहको अवसरमा ब्यक्तिगत, ब्यवसायिक, सामुदायिक र अन्तराष्ट्रि«य क्षेत्रमा म्याग्दीलाई चिनाउन योगदान दिने यूवालाई सम्मान गरिएको हो । सम्मानित हुनेमा नेपालका चर्चित मोटो भ्लगर विविदजंग थापा (एमआरबी भ्लग), गण्डकी प्रदेशका महिला टिम भलिबल प्रशिक्षक मलिनकुमार रोका, होटल ब्यवसायी राजन लामा र स्वास्थ्यकर्मी एलिना पुर्जा पुन रहनुभएको छ ।

नेपाल भाषा मंका खलको सभाहलमा आयोजित सम्मान कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरी भण्डारी, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, प्रहरी नायव उपरीक्षक राजन कार्की, म्याग्दी जेसीजका अध्यक्ष दिनेशकुमार विश्वकर्मा लगायतले दोसल्ला र कदरपत्रले सम्मान गर्नुभएको छ । सम्मानित हुनेबाट प्रशिक्षक रोका र पूर्जा पुनले आफ्नो कार्यक्षेत्रमा काम गर्न थप उर्जा मिलेको बताउनुभयो ।

म्याग्दी जेसिजले २८ औ स्थापना दिवसको अवसरमा शनिबारदेखि शरु भएको जेसिज सप्ताहको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि जुग्जालीले संघर्षबाट स्थापित भएकाहरु हरेक क्षेत्रमा सफल हुने बताउनुभयो । प्रमुख अतिथि जुग्जालीले सम्मानित चारैजना यूवाले आफ्नो क्षेत्रमा प्रेरणादायी सफलता हात पारेको बताउनुभयो ।

सोही अवसरमा प्रदेशसभा सदस्य हरि भण्डारी, प्रअिज आचार्य, प्रहरी नायव उपरीक्षक राजन कार्की, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले मन्तब्य राख्नुभएको थियो । शाखा अध्यक्ष दिनेश विश्वकर्माको अध्यक्षता,स्वागत मुल संयोजक डेकमायाँ केसी र सञ्चालन महासचिव गोकुल विक, सहसचिव कपिल बानियाँले गर्नुभएको थियो ।

म्याग्दी जेसीजसको सप्ताह जेठ ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने छ । सप्ताहको अवसरमा २२ औँ अन्तरमावि रनिङ्गशील्ड नृत्य प्रतियोगिता, अन्तर विद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगिता, रक्तदान, मेरो विद्यालय कार्यक्रम अन्तरमावि बक्तृत्वकला प्रतियोगिता, मैत्रीपूर्ण फुटसल लगायतका प्रतियोगिता आयोजना गरिएको छ ।












