गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ भन्ने दीर्घकालीन सोचसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलबार प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, पूर्वाधार, ऊर्जा, खेलकुद तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ ।
सरकारले कृषिको आधुनिकीकरण तथा उत्पादन वृद्धि गर्ने उद्देश्यसहित ‘रिटर्न टु भिलेज’ अभियान सञ्चालन गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँमा उद्यम गर्न चाहने युवालाई सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान उपलब्ध गराइने उल्लेख गरिएको छ ।
पर्यटन क्षेत्रतर्फ पोखरालाई पर्यटकीय राजधानीका रूपमा थप स्थापित गर्न ‘राउन्ड फेवाः भ्यु फेवा’ कार्यक्रम सञ्चालन गरिने भएको छ । दामोदर कुण्डदेखि त्रिवेणीधामसम्म धार्मिक पर्यटन परिपथ निर्माण गर्ने तथा स्काई डाइभिङ र बन्जी जम्पिङजस्ता साहसिक पर्यटन गतिविधि विस्तार गरिने नीति लिइएको छ ।
स्वास्थ्य क्षेत्रमा क्यान्सर तथा मिर्गौला रोगीलाई राहत तथा नियमित डायलासिस सेवालाई थप प्रभावकारी बनाइने भएको छ । प्रत्येक जिल्ला अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्ने तथा ‘मर्यादित महिनावारी’ कार्यक्रमअन्तर्गत निःशुल्क सेनिटरी प्याड वितरणलाई निरन्तरता दिइने उल्लेख छ ।
प्रदेश सरकारले ‘एक घरः एक धारा’ कार्यक्रमलाई निरन्तरता दिने, शालिग्राम करिडोर तथा कोरला–पोखरा–त्रिवेणी सडक आयोजनालाई रूपान्तरणकारी आयोजनाका रूपमा अघि बढाउने जनाएको छ । साथै ‘उज्यालो गण्डकी’ अभियानलाई पूर्णता दिँदै ‘एक जिल्ला, एक जलाशय’ अवधारणाअनुसार जलाशय विकासको योजना अघि सारिएको छ । शिक्षा क्षेत्रमा विद्यालय तहदेखि नै कृत्रिम बुद्धिमत्ता (एआई), ब्लकचेन तथा साइबर सुरक्षासम्बन्धी ज्ञान प्रदान गरिने भएको छ । ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रमलाई निरन्तरता दिँदै प्राविधिक तथा व्यावसायिक शिक्षालाई श्रम बजारसँग जोड्ने नीति लिइएको छ ।
यस्तै, घरेलु मदिरा ऐन कार्यान्वयनमा ल्याउने, औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती नियमनसम्बन्धी कानुन पारित गर्ने, सरकारी सेवामा एआईको प्रयोग बढाउने तथा सेवा प्रवाहलाई डिजिटल माध्यमबाट प्रभावकारी बनाउने कार्यक्रम पनि समेटिएको छ ।
खेलकुद क्षेत्रको विकासका लागि प्रत्येक जिल्लामा बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्ने तथा साहसिक खेललाई पर्यटनसँग जोडेर गण्डकीलाई खेल पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सरकारको छ । प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफलपछि आगामी आर्थिक वर्षको बजेट ल्याइनेछ ।
हेर्नुहाेस् पूर्णपाठ ।












