पोखराको पालिखेचोकस्थित प्रतिभा माविले नवआगन्तुक विद्यार्थीका लागि शनिबार स्वागत तथा उत्प्रेरणामूलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) उतीर्ण गरी प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरेको हो । विद्यालयले शनिबार विज्ञान विषयका विद्यार्थीलाई स्वागत गरेको छ । यस्तै, आइतबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीलाई स्वागत कार्यक्रम राखेको प्राचार्य किरण सापकोटाले जानकारी दिए ।
यस वर्ष उच्चतम् ४ जीपीए प्राप्त गर्ने २८ जना विद्यार्थीले प्रतिभा रोजेका छन् । नेपालकै एक उत्कृष्ट विद्यालयका रूपमा स्थापित प्रतिभाले यो आकर्षणलाई गौरवका रुपमा लिएको प्राचार्य सापकोटाले बताए ।

पोखरा सभागृहमा बृहत् रूपमा आयोजित स्वागत कार्यक्रममा प्रमुख अतिथि नेपाल मणिपाल शिक्षण अस्पतालका उपप्राचार्य प्रा.डा. जय बहादुर खत्रीले पोखराको शिक्षा क्षेत्रलाई प्रतिभाले परिचित बनाएको बताए ।
प्रतिभा मावि संचालक समितिका अध्यक्ष नारायण पौडेलले समयक्रमसँगै प्रतिभाले राष्ट्रिय स्तरमा ख्याती कमाउँदै गएकोमा प्रशन्नता व्यक्त गरे । विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीले देखेको सपना पूरा गर्नका लागि विद्यालय सदैव तयार रहेको बताए ।
अहिलेका चर्चित गायक प्रकाश दूतराज र उनका नयाँ ब्याण्डले आफ्ना हिट गीत प्रस्तुत गरे । विद्यार्थीहरुले पनि आफ्ना प्रस्तुति राखेका थिए । प्रतिभामा यो वर्ष सिट क्षमता अनुसार विज्ञान संकायमा ३९६ जना, व्यवस्थापन संकायमा ३९६ जना र होटल व्यवस्थापनतर्फ ८८ जना गरी कूल ८८० जना भर्ना भएका छन् । Source:- gandaknews.com















