स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट आवासीय मावि र प्रकाश माविले जितेको छ ।

शनिबार जिल्ला खेलकुद विकास समितिमा आयोजित अन्डर २० अन्तर मावि÷क्याम्पस छात्र प्रतियोगिताको फाइनलमा छात्रतर्फ न्यू वेष्ट प्वाइन्ट आवासीय माविले प्रभा मावि नारच्याङ र छात्रातर्फ प्रकाश माविले प्रभा माविलाई पराजित गदैं उपाधि जितेको स्ववियु सचिव मञ्जुल कटुवाल क्षेत्रीले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्रतर्फ न्यु वेष्ट प्वाइन्टका बसन्त विक र छात्रातर्फ प्रकाश माविकी सोनिया गुरुङ उत्कृष्ट छात्रा घोषित हुनुभएको थियो । प्रतियोगिताका बिजेता र उपविजेतालाई क्रमश रु २५ हजार, दोस्रो हुने टोलीलाई रु १५ हजार, ट्र«फी, मेडल र प्रमाणपत्र प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिना, भुपेन गोतामे,महिला उद्यम विकास समितिकी महासचिव प्रमिला जोशी श्रेष्ठ, स्ववियू सभापति संगम चोखाल क्षेत्रीले वितरण गर्नुभएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा जिल्लाभित्र विभिन्न खेलका खेलाडीलाई प्रोत्साहन गर्ने निति अनुसार विभिन्न सहयोग गरिएको प्रमुख अतिथि श्रेष्ठले बताउनुभयो । खेलकुदमार्फत जिल्लाको सम्पत्तिका रूपमा धेरै खेलाडी उत्पादन गर्न तालिमसहित प्रोत्साहनको निति समेत लिइएको श्रेष्ठको भनाई छ ।

सोही अवसरमा स्ववियू सभापति संगम चोखाल क्षेत्रीले विजेता तथा उपविजेता टोलीलाई हार्दिक बधाई तथा प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, प्रशिक्षक, विद्यालय परिवार, स्वयंसेवक तथा सहयोगीप्रति आभार प्रकट गर्नुभएको थियो । विद्यार्थीको मेहनत, अनुशासन, समर्पणले पहिलो खेल सफल भएको र आगामी दिनमा पनि विद्यार्थी केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
प्रतियोगितामा छात्रतर्फ ९ विद्यालय र छात्रतर्फ ७ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष नगेन्द मल्ल, बेनी नगरपालिका वडा नं ७ का वडा सदस्य सोहन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।












