पर्यटनको राजधानी पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने दिशामा एक ऐतिहासिक सफलता हासिल भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ देखि फ्लाईदुबईले नियमित रूपमा दैनिक उडान सञ्चालन गर्ने अनुमति पाएको छ।
उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण सम्पन्न भएपछि नागरिक उड्डयन प्राधिकरणले फ्लाईदुबईलाई यो अनुमति दिएको हो। यो ऐतिहासिक उपलब्धिप्रति खुसी व्यक्त गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जालमार्फत सम्पूर्ण पोख्रेलीहरूमा बधाई ज्ञापन गरेका छन् ।
प्रमुख आचार्यले यो केवल एउटा हवाई सेवा थपिने विषय मात्र नभई पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधिको विस्तार र काठमाडौं केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने एउटा महत्त्वपूर्ण अवसर भएको उल्लेख गरेका छन् । दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएसँगै अब पोखराको पहुँच मध्यपूर्व, युरोप, अफ्रिका लगायतका ३०० भन्दा बढी सहरहरूसँग सिधै जोडिने उनले बताए ।
लामो प्रयासपछि प्राप्त भएको यो उपलब्धिलाई सफल बनाउन सहयोग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेल, युनिभर्सल ट्राभल्सका चेयरमेन पराशर प्रसाई सहित सम्बन्धित सम्पूर्ण टिम र निकायप्रति प्रमुख आचार्यले हार्दिक कृतज्ञता व्यक्त गरेका छन् । उनले सम्पूर्ण पर्यटन व्यवसायी, पोख्रेली नागरिक तथा स्वदेश र विदेशमा रहेका नेपालीहरूलाई पोखरा–दुबई रुटबाट यात्रा गरी प्रारम्भिक महिनाको चुनौतीलाई सफल बनाउन विशेष आग्रह गरेका छन् ।














