---Advertisement---

डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट

On: June 10, 2026 3:40 PM
Follow Us:

सरकारी निकायका वेबसाइटहरूलाई सबै नागरिकका लागि समावेशी र पहुँचयोग्य बनाउन सरकारले विशेष पहल सुरु गरेको छ।

सूचना प्रविधि विभागले देशभरका सरकारी वेबसाइटहरूमा ‘एक्सेसिबिलिटी टुल’ (पहुँचमैत्री उपकरण) समावेश गर्दै विशेष आवश्यकता भएका व्यक्तिहरूका लागि डिजिटल सेवामा सहज पहुँच सुनिश्चित गरेको हो।

दृष्टिविहीन, न्यून दृष्टि भएका, रङ्ग पहिचानमा समस्या भएका (कलर ब्लाइन्ड), पढाइसम्बन्धी कठिनाइ भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूले अब सरकारी वेबसाइटका सामग्रीहरू थप सहज रूपमा प्रयोग गर्न सक्नेछन्।

सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाडीका अनुसार सबै नागरिकको सूचना प्राप्त गर्ने अधिकारलाई प्रभावकारी बनाउन र डिजिटल डिभाइड कम गर्न यो प्रविधि कार्यान्वयनमा ल्याइएको हो।

सरकारले गत चैतमा सार्वजनिक गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ को बुँदा नम्बर ३० मा सरकारी एप तथा पोर्टलहरूलाई अपाङ्गता भएका व्यक्ति र न्यून प्राविधिक ज्ञान भएका नागरिकले पनि चलाउन सक्ने गरी सरल बनाउने उल्लेख थियो।

सोही प्रतिबद्धता अनुरूप विभागले यो प्रणाली कार्यान्वयनमा ल्याएको हो। हाल सरकारी वेबसाइटहरू खोल्दा स्क्रिनको तलपट्टी मध्यभागमा ‘एक्सेसिबिलिटी टुल आइकन’ उपलब्ध गराइएको छ।

यस सुविधा मार्फत प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार वेबसाइटको स्वरूप र सामग्रीलाई तत्कालै समायोजन गर्न सक्नेछन्। जसमा अक्षरको आकार सानो वा ठूलो बनाउने, अक्षर र पृष्ठभूमिको ‘कन्ट्रास्ट’ बढाएर सामग्री स्पष्ट देखिने बनाउने जस्ता सुविधाहरू रहेका छन्।

यसका साथै, प्रयोगकर्ताले विभिन्न प्रकारका रङ्ग फिल्टरहरू प्रयोग गर्न, अक्षर तथा हरफबीचको दूरी घटाउन वा बढाउन र आफू अनुकूल फन्ट छनोट गर्न सक्ने व्यवस्था गरिएको छ। वेबसाइट चलाउँदा थप सहजताका लागि ‘माउस कर्सर’ लाई ठूलो बनाउन मिल्ने, सबै तस्बिरहरू लुकाएर केवल अक्षर मात्र पढ्न मिल्ने र चलायमान दृश्य तथा एनिमेसनहरूलाई रोक्न सकिने सुविधा समेत उपलब्ध छ।

सूचना प्रविधि विभागका अनुसार यी वेबसाइटहरू अन्तर्राष्ट्रिय मापदण्ड ‘वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन’ (डब्ल्युसीएजी) अनुरुप विकास गरिएका हुन्।

यसले गर्दा माउस प्रयोग गर्न नसक्ने व्यक्तिहरूले किबोर्डको सहायताले मात्र पनि वेबसाइट सञ्चालन गर्न सक्नेछन्। वेबसाइटमा राखिएको ‘स्किप नेभिगेसन’ लिङ्कले किबोर्ड तथा स्क्रिन रिडर प्रयोगकर्तालाई सिधै मुख्य विषयवस्तुमा पुग्न मद्दत पुर्‍याउँछ।

दृष्टिविहीन प्रयोगकर्ताहरूको सहजताका लागि वेबसाइटमा रहेका महत्त्वपूर्ण तस्बिर, लोगो तथा सेवासम्बन्धी सामग्रीमा ‘अल्ट टेक्स्ट’ राखिएको छ। यसले अक्षरहरु पढेर सुनाउनेछ।

अनलाइन फाराम भर्ने क्रममा हुन सक्ने त्रुटिहरूका बारेमा जानकारी दिने ‘इरर म्यासेज’ र सुझावहरू पनि सजिलै सुन्न र बुझ्न मिल्ने गरी विकास गरिएको छ।

सर्च बक्स तथा सम्पर्क फारामजस्ता ‘इनपुट’ क्षेत्रहरूमा स्पष्ट नाम र सङ्केतहरू राखिएकाले स्क्रिन रिडर प्रयोगकर्तालाई कुन ठाउँमा के भर्ने भन्ने अलमल हुने छैन।

किबोर्ड प्रयोगकर्ताले आफू वेबसाइटको कुन खण्डमा सक्रिय छ भन्ने कुरा स्पष्ट रूपमा देख्न सक्ने गरी ‘फोकस इन्डिकेटर’ को व्यवस्था गरिएको विभागले जनाएको छ।

यसअघि गत वैशाख महिनामा विभागले विभिन्न मन्त्रालय तथा विभागका कर्मचारीहरूलाई लक्षित गरी सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई अपाङ्गमैत्री बनाउने विषयमा विशेष प्राविधिक तालिम समेत प्रदान गरेको थियो।

यो नयाँ व्यवस्थासँगै सरकारी सूचना र सेवामा अब कोही पनि नागरिक वञ्चित नहुने विश्वास विभागले लिएको छ।

Leave a Comment