---Advertisement---

अमर बानियाँको म्याग्दी चिनाउने ‘सुन्दर म्याग्दी’ पुस्तक सार्वजनिक

On: June 17, 2026 6:48 PM
Follow Us:

धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले आफ्नो जन्मथलोको इतिहास, प्रकृति, संस्कृति र जीवनशैली समेटेर ‘सुन्दर म्याग्दी’ तस्बिर पुस्तक प्रकाशन गर्नुभएको छ ।सदरमुकाम बेनी बजारमा बसेर विगत चार दशकदेखि फोटोग्राफी गर्दै आउनुभएका बानियाँको यो पुस्तक म्याग्दी चियाउने आँखीझ्याल बनेको छ।


‘धौलागिरी पर्यटन विकास परिषद र बेनी समाज काठमाडौं’ले बुधबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्य, पूर्व मुख्य सचिव तथा अमेरिकाका लागि नेपालका पूर्व राजदूत लोकदर्शन रेग्मी, प्रा.डा. प्रेम शर्मा, नेपाल पर्यटन बोर्डका जनसम्पर्क अधिकृत सुनिल शर्मा, संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य रेशमबहादुर बानियाँ, म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष एवम् महासंघका केन्द्रीय सदस्य सुबिन श्रेष्ठ लगायतले घुुम्टो खोली पुस्तक लोकार्पण गर्नुभएको छ ।


पुस्तक लोकार्पण गर्ने अतिथिहरूसहित म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, बानियाँ समाजका अध्यक्ष नरबहादुर बानियाँ, बेनी समाजका पूर्व अध्यक्ष याम श्रेष्ठ, पर्यटन पत्रकार अमृत भादगाउँलेले ‘सुन्दर म्याग्दी’ पुस्तक सबैका लागि सुन्दर उपहार भएको टिप्पणी गर्नुभएको थियो । रङ्गीन कलेवरमा प्रकाशित पुस्तकमा नेपाली र अङ्ग्रेजी भाषामा जानकारी दिइएको छ। म्याग्दीको विषयमा जान्न चाहने अध्येता, पर्यटक र म्याग्देलीलाई यो पुस्तक उपयोगी छ ।


म्याग्दी जिल्ला भित्रका प्रमुख पर्यटकीयस्थलसहित सबै क्षेत्रलाई समेटेर तयार गरिएको छ । पुस्तकले म्याग्दी चिनाउन निकै ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ । म्याग्दीका गन्तव्यहरू, पदमार्गहरू, सांस्कृतिक सम्पदाहरू, चाडपर्व, होमस्टे, जैविक विधिता आदिको सुन्दर चित्रण गरिएको छ। धौलागिरि पर्यटन विकास परिषदले प्रकाशन गरेको पुस्तकको मूल्य एक हजार रुपैयाँ राखिएको छ ।


पुस्तकका लेखक बानियाँले जन्मभूमिको ऋण तिर्ने प्रयास भएको बताउनुभयो । ‘मैले फोटोग्राफी, पत्रकारिता र सामाजिक काममै जिन्दगी विताए, फोटोग्राफी र पत्रकारिताबाट मातृभूमि म्याग्दी चिनाउने काम गर्दै आएको छु। त्यही अभियानस्वरुप ‘सुन्दर म्याग्दी’ पुस्तक प्रकाशन गरेको हुँ’ बानियाँले भन्नुभयो । जन्मथलोको गुन तिर्न ममा अझै योगदान पु¥याउने ऊर्जा बढेको छ।

Leave a Comment