बेनी नगरपालिका–२ स्थित फापरखेत क्षेत्रमा निर्माण गरिएको फापरखेत भ्यु पोइन्टमा सूचना बोर्ड स्थापना गरिएको छ। स्थानीय युवा तथा समाजसेवी सरोज सुवेदीको सक्रियता र स्थानीय युवाहरूको सहकार्यमा भ्यु पोइन्टको पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले सूचना बोर्ड स्थापना कार्य सम्पन्न गरिएको हो ।
प्रतिभा युवा क्लबको भवन भन्दा माथिल्लो डाँडामा रहेको उक्त भ्यु पोइन्टबाट धौलागिरि हिमश्रृंखलासहित आसपासका प्राकृतिक दृश्यहरू अवलोकन गर्न सकिन्छ। पछिल्लो समय आन्तरिक पर्यटक तथा स्थानीय बासिन्दाको आकर्षण बढ्दै गएपछि क्षेत्रको परिचय विस्तार गर्न सूचना बोर्ड स्थापना गरिएको जनाइएको छ।
सूचना बोर्ड स्थापना अभियानमा सहयोग पुर्याउने सम्पूर्ण स्थानीयवासी, युवा तथा सरोकारवालाप्रति आयोजकले धन्यवाद व्यक्त गरेका छन्। साथै भ्यु पोइन्ट क्षेत्रको सरसफाइ कायम राख्न, फोहोर व्यवस्थापनमा ध्यान दिन तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सबैमा आग्रह गरिएको छ। प्राकृतिक सौन्दर्य, शान्त वातावरण र हिमालको मनोरम दृश्यका कारण फापरखेत भ्यु पोइन्ट बेनी क्षेत्रको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको स्थानीयको भनाइ छ।
स्थानीय युवाहरूले आफ्नो गाउँ–ठाउँको पहिचान र पर्यटन प्रवर्द्धनका लागि यस्ता गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन्। “हाम्रो ठाउँ, हाम्रो गौरव” भन्ने नारासहित अघि बढाइएको अभियानले स्थानीय पर्यटन विकासमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।










