म्याग्दीको सदरमुकाम बेनी न्यूरोडमा अवस्थित सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रघुगंगा गाउँपालिका–२ राखु भगवती स्वास्थ्य चौकीमा डेढ लाखभन्दा बढीको स्वास्थ्य साम्रागी र खानेपानीको पाइप सहयोग गरेको छ ।
वित्तिय संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका नवजात शिशुको शरीरको तापक्रम सन्तुलन राख्ने बेबी वार्मर, बिरामीले प्रयोग गर्ने बेड, औषधि र उपकरण राख्ने मेडिसिन ट्रली र स्वच्छ खानेपानीका लागि ३ सय मिटर पाइप गरी १ लाख ६९ हजार रुपैयाँ बराबरको सहयोग गरिएको हो ।

स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका शाखा प्रबन्धक रेशम आचार्यले स्वास्थ्य चौकी प्रमुख टिकाबहादुर शाहीलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको थियो। सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै शाखा प्रबन्धक आचार्यले वित्तिय कारोबारसँगै समुदायका आवश्यकतामा समेत सहयोग गर्ने गरिएको बताउनुभयो ।

‘स्वास्थ्यचौकीलाई उपचारमा सहज हुने उपकरण सहयोग गर्न पाउँदा उत्साहित छौ,शाखामार्फत समुदायमा वित्तिय ज्ञानसहित शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने गरिएको छ’ प्रबन्धक आचार्यले भन्नुभयो । कार्यक्रममा राखु भगवती स्वास्थ्य चौकीका प्रमुख शाहीले अति आवश्यक उपकरण सहयोगले प्रसुतीपछि नवजात शिशुका साथै उपचारका लागि आउने बिरामीलाई सहज भएको बताउनुभयो ।
बैंकको शाखामार्फत गत बैशाख महिनामा बेनी नगरपालिका–४,सिंगास्थित धौलागिरी माविको बहिरा श्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई १९ औं वार्षिकोत्सको अवसरमा ३० हजार बराबरको स्टेशनरी, खेलकुद तथा आवाशीय सामग्री प्रदानका साथै मंगला गाउँपालिका–२ कोत्रबाङमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरी तीनसयभन्दा बढीको उपचार गरिएको सञ्चालन समेत गरेको शाखाका अपरेशन इन्र्चाज दिपक न्यौपानेले बताउनुभयो ।

बि.स २०६७ सालमा बेनीमा शाखा विस्तार गरेको सिटिजन्स बैंकले हरेक बर्ष नियमित समुदायस्तरमा सहयोग गर्ने गरेको छ । गतबर्ष बेनपा–६, जामुनाखर्कमा प्रतिक्षालय समेत निर्माण गरेको थियो । बैकको देशभर २ सय शाखा रहेको छ ।











