सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चितवनमा जारी छ । असार ७ गते आइतबारदेखि जारी महाधिवेशनमा पहिलो दिनको उद्घाटनसत्र भव्य रुपमा सम्पन्न भएको छ । आजदेखि महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । विभिन्न कारणले बन्दसत्रको निर्धारित कार्यतालिका प्रभावित भएको रास्वपाले जनाएको छ ।
चितवनमा रास्वपाको पहिलो महाधिवेशन जारी रहँदा काठमाडौंको सिंहदरबार फरक रुपले चर्चामा छ । सिंहदरबारमा सरकारको बागडोर सम्हाल्ने रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा १७ सदस्यीय मन्त्रिपरिषद छ ।
रक्षा मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा छ भने, दोस्रो बरियतामा अर्थमन्त्री रास्वपा उपसभापति डा स्वर्णिम वाग्ले छन् । त्यस्तै सरकारको बरिताक्रम अनुसार परराष्ट्रमन्त्री शिशिर खनाल, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, विज्ञाप प्रविधि तथा नवप्रवर्तन मन्त्री महाविर पुन, हिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी तथा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव छन् ।
मन्त्रिपरिषदमा रहेका यी सदस्यमध्ये महाविर पुन बाहेकका सबै राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद हुन् । यही पार्टीको पहिलो महाधिवेशन जारी रहँदा सरकारमा रहेका सबै मन्त्री महाधिवेशन स्थल चितवन पुगेका छन् ।
प्रधानमन्त्री बालेन, अर्थमन्त्री वाग्ले, परराष्ट्रमन्त्री खनालसहितका मन्त्रीले पार्टीको महाधिवेशन उद्घाटनसत्रमा आफ्नो जिम्मेवारी अनुसार सम्बोधन गरे भने गृहमन्त्री गुरुङसहितका मन्त्री स्टेजमा देखिए । अन्य मन्त्री पनि महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी बने ।
दुई तिहाइ नजिकको बहुमतसहितको सत्तारुढको महाधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ता कार्यक्रमस्थलमा पुग्नु अनौठो र नौलो विषय होइन तर यही समयमा देशको शासन सत्ता सञ्चालनको प्रमुख केन्द्र सिंहदरबार भने एक मन्त्रीको काँधमा पुग्यो । अर्थात स्वतन्त्र उम्मेदवारका रुपमा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महाविर पुन अहिले सिंहदारबार हाँक्ने एक मन्त्री बनेका छन् ।
यद्यपि सरकार सञ्चालन संस्थागत प्रक्रिया भएकाले कुनै एक मन्त्रीको उपस्थितिले मात्र राज्य सञ्चालन हुने होइन, तर राजनीतिक प्रतीक र सार्वजनिक सन्देशका हिसाबले पुनको उपस्थितिले छुट्टै चर्चा भने पाएको छ।
महाधिवेशनलाई लक्षित गर्दै प्रतिनिधिसभाको कार्यतालिका भने सोही अनुसार मिलाइएको छ । प्रतिनिधिसभाको बैठक आगामी ११ गते बिहीबारलाई बोलाइएको छ। nagariknews.com












