---Advertisement---

मंगलाले ल्यायो ४६ करोड ५० लाख वढिको बजेट

On: June 23, 2026 7:04 PM
Follow Us:


म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४६ करोड ५० लाख १८ हजार ७ सय ५९ रुपैयाँको बजेट पारित गरेको छ ।

मंगलबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न २३ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले प्रस्तुत गर्नुभएको सो बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।
उपाध्यक्ष क्षेत्रीले प्रस्तुत गर्नुभएको बजेटका श्रोतहरुमा संघीय सरकारबाट सशर्त अनुदान चालुतर्फ २० करोड ७१ लाख, संघीय समानिकरण अनुदान तर्फ ७ करोड ९४ लाख, संघीय विशेष अनुदान पुँजीगततर्फ १ करोड १० लाख, विशेष अनुदान चालुतर्फ ५८ लाख र समपुरक अनुदान पूँजीगततर्फ १ करोड ९५ लाख रुपैयाँ अनुमान गरिएको छ ।

त्यस्तै गण्डकी प्रदेश सरकार प्रदेश विशेष अनुदान ४० लाख, प्रदेश समपुरक अनुदान पूँजीगततर्फ ६० लाख र समानिकरण तर्फ ९६ लाख ५० हजार आय अनुमान गरिएको छ ।


यसैगरि नेपाल सरकार राजस्व बाँडफाँडबापत ७ करोड ८२ लाख, प्रदेश सरकार राजस्व बाँडफाँडबापत ९१ लाख ८७ हजार र गाउँपालिकाको आन्तरिक आम्दानी २ करोड ७८ लाख (वैक मौज्दात सहित) अनुमान गरिएको छ । आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चालुखर्चतर्फ ३३ करोड ५३ लाख २८ हजार ७ सय ५९ रुपैयाँ र पूँजीगत खर्चतर्फ १२ करोड ९६ लाख ९० हजार रकम विनियोजन गरेको उपाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।


बजेटले सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, कार्यालय संचालन तथा प्रशासनिक, सुशासन तथा अन्तर सम्वन्धीत लगायतका क्षेत्रमा प्राथमिकताका साथ सम्वोधन गरेको छ ।


यसअघि गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई गाउँसभाले पारित गरेको छ । ‘समृद्ध मंगला गाउँपालिका सुखी मंगला बासी जनता’ को लक्ष्य हासिल गर्न दिगो एवम् टिकाउपूर्ण पूर्वाधार निर्माण, गुणस्तरीय विद्यालय शिक्षा, पहुँचयोग्य आधारभूत स्वास्थ्य सेवा प्रवर्धन, कृषि, उद्योग र पर्यटन क्षेत्रको प्रवर्धन, रोजगारी प्रवर्धन, विपन्न तथा लक्षित वर्गको उत्थान पर्यावरण संरक्षण र विपद व्यवस्थापनलाई नीति तथा कार्यक्रमको प्राथमिकताका क्षेत्रको रुपमा लिईएको छ ।


गाउँपालिकाले खाद्य सुरक्षाका लागि व्यवस्थित दिगो सिचाई, गाउँपालिकाबासीका लागि सुरक्षित, स्वच्छ र सुलभ खानेपानी तथा पूर्ण सरसफाईको प्रत्याभुति, उत्पादनशिल दिगो तथा व्यावसायीक कृषि, गाउँपालिकाको समृद्धिको आधार दिगो पर्यटकीय पूर्वाधार, एक वस्ती एक उद्यम, एक व्यक्ति एक सीप, विपद व्यवस्थापन कोष निर्माण, सुत्केरी संग उपाध्यक्ष कार्यक्रम, अधयक्षसंग सहायता कार्यक्रम, मातृत्व सम्मान तथा शैक्षिक निरन्तरता, सुरक्षित प्रविधि, अनुशासित सिकाई लगायतका विशेष कार्यक्रमहरु आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयलाई प्रभावकारी बनाईने बताउनुभयो ।

Leave a Comment