म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–२, राखु भगवती पखटोल निवासी रुपा खत्रीको घर असार ५ गते राति भएको आगलागीबाट पूर्ण रूपमा क्षति भएपछि म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले राहत स्वरूप अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ । मोना कतारका संस्थापक सदस्य तथा निवर्तमान सल्लाहकार टिका कार्कीको उपस्थितिमा पीडित खत्रीलाई करिब १८ हजार रुपैयाँ बराबरका अत्यावश्यक सामग्री मङ्गलवार बिहान घरमै पुगेर हस्तान्तरण गरिएको हो ।
सहयोग स्वरूप ग्यास सिलिन्डर, थाल–कचौरा तथा दैनिक जीवनयापनका लागि आवश्यक विभिन्न गृहस्थी सामग्री प्रदान गरिएको मोना कतारले जनाएको छ । आगलागीबाट खत्रीको दुई तले घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो । सोही क्रममा पीडित खत्रीले सहयोगप्रति आभार व्यक्त गर्दै मोना कतारलाई धेरै धेरै धन्यवाद ज्ञापन गरेकी छन् ।
खत्रीले कार्कीमार्फत प्रतिक्रिया दिँदै आफू हाल माइतीमा बसिरहेको र घरतर्फ फर्किन समेत मन नलाग्ने अवस्था रहेको बताएकी छन् । उनले आगलागीपछि आफूलाई ठुलो पीडा (दशा) परेको उल्लेख गर्दै भनिन्, “घर मात्र होइन, घरभित्र भएको सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि जीवनयापन नै निकै कठिन बनेको छ।”
आगलागीमा कुनै मानवीय क्षति नभए पनि घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न तथा अन्य महत्त्वपूर्ण घरेलु सामग्रीहरू पूर्ण रूपमा नष्ट भएको स्थानीय युवा विमल केसीले बताए । विपद् तथा विभिन्न सामाजिक समस्यामा परेका म्याग्देलीहरूलाई निरन्तर सहयोग गर्दै आएको मोना कतारले पीडित परिवारको तत्काल आवश्यकता सम्बोधन गर्न राहत सामग्री उपलब्ध गराएको जनाएको छ । कतारमा रहेका म्याग्देलीहरूको साझा संस्था मोना कतार सामाजिक तथा मानवीय सेवामूलक गतिविधिहरूमा सक्रिय रहँदै आएको छ।
मोना कतारका अध्यक्ष बाबुराम भण्डारीले पीडित परिवारलाई थप सहयोग आवश्यक परेमा अतिरिक्त आर्थिक सहयोग संकलन गरेर समेत साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले उक्त सहयोग संस्थाको मूल कोषबाट उपलब्ध गराइएको जानकारी दिए ।
तिलु शर्मा पौडेल











