धवलागिरी गाउँपालिका–७ फेदिखोला क्षेत्रमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई वटा बोलेरो जिप एकआपसमा ठोक्किँदा केही यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज अपराह्न करिब ३:०० बजे ताकमबाट दरबाङतर्फ आउँदै गरेको बा ७ च ७७९५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकको घुम्तीबाट पल्टिएको थियो। पल्टिएको जिप सोही समयमा विपरीत दिशाबाट आइरहेको ग ३ च ३३१४ नम्बरको यात्रुबाहक बोलेरो जिपमाथि खस्दा दुर्घटना भएको हो।
दुर्घटनाको जानकारी स्थानीयवासीबाट प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो। घाइतेहरूलाई प्राथमिक उद्धारपछि उपचारका लागि दरवाङ आधारभूत अस्पताल, म्याग्दी पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका व्यक्तिहरूको पहिचान तथा स्वास्थ्य अवस्थासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।












