---Advertisement---

प्रधानाध्यापकका सहपाठीहरूले गरे विद्यालयलाई सहयोग

On: July 6, 2026 10:54 AM
Follow Us:

बेनी नगरपालिका वडा नं. ८ कालीपुलस्थित बालमन्दिर माविमा नयाँ प्रधानाध्यापक नियुक्त भएपछि प्रधानाध्यापकसँगै अध्ययन गरेका साथीहरूले इन्भर्टर र ब्याट्री जडान गरिदिएका छन् । विद्यालयमा स्मार्टबोर्ड र सिसी टिभी जडान गरिएको तर विद्युत अफ हुने समस्याले पठनपाठन, सिसी टिभी र प्रशासनिक काम अबरुद्ध हुने गरेको समस्या नवनियुक्त प्रधानाध्यापक देवीप्रसाद शर्माले आफ्ना साथीहरूसँग राखेपछि देश विदेशमा रहेका साथीहरूबाट रकम सङ्कलन गरी उक्त सहयोग गरिएको हो ।

सहपाठीहरूबाट एकलाख तीसहजार रुपैयाँ सङ्कलन गरी तत्कालको समस्या समाधानका लागि दुईवटा ब्याट्री र इन्भर्टर खरिद गरेर जडान गरिएको रकम सङ्कलन संयोजक कमल विश्वकर्माले बताउनुभयो । बेनी स्थित प्रकाश माविमा प्रधानाध्यापकसँगै अध्ययन गरेका जगत घिमिरे (हाल अमेरिका), डिल्लीराम शर्मा (हाल अस्ट्रेलिया), झरना श्रेष्ठ (हाल जापान), डा. गोविन्दराज पाण्डे, कमल विश्वकर्मा, रम्भा श्रेष्ठ, दिपा केसी, सञ्जु श्रेष्ठ जोशी, सविना शेरचन, अर्विन श्रेष्ठ, सम्मर कार्की, जीवन मल्ल, साधना श्रेष्ठलगायतले रकम सङ्कलन गरी उक्त सहयोग गरेको कुरा पनि विश्वकर्माले बताउनुभयो ।

सँगै अध्ययन गरेका साथीहरूले आपूm प्रधानाध्यापक भएलगत्तै विद्यालयमा गरेको सहयोगले सहपाठीहरूसँगको आत्मीयता झनै प्रगाढ भएको साथै साथीहरूको सामाजिक भावना र सोचलाई उजागर गरिदिएको कुरा प्रधानाध्यापक शर्माले बताउनुभयो ।

इन्भर्टर र ब्याट्री हस्तान्तरण कार्यक्रममा सहयोगदाताका तर्फबाट बोल्दै साधना श्रेष्ठले यो सहयोग अन्तिम नभएर सुरुवात मात्रै भएको र विद्यालयको आवश्यकता अनुसार निरन्तर सहयोग रहने कुरा व्यक्त गर्नुभयो । विद्यालयको तत्कालीन आवश्यकतालाई मध्यनजर गरेर प्रधानाध्यापकका सहपाठीहरू मिलेर गरिएको यस खालको सहयोगप्रति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् बेनी नगरपालिका वडा नं. ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्यले खुशी व्यक्त गर्दै सहयोगदाताहरूलाई धन्यवाद दिनुभयो । साथै उहाँले विद्यालयलाई यस खालको सहयोगको निरन्तरताको अपेक्षा गर्नुभयो ।

हस्तान्तरण कार्यक्रममा सहयोगदाताहरू कमल विश्वकर्मा, रम्भा श्रेष्ठ, दिपा केसी, साधना श्रेष्ठ, जीवन मल्ल साथै विद्यालय व्यवस्थापन समितिका सल्लाहकार मनबहादुर चर्मकार, विव्यस सदस्य लक्ष्मी विश्वकर्मा र शिक्षक अभिभावक सङ्घ सदस्य मनकुमारी मिजार, विद्यालयका निवर्तमान प्रअ सुरेन्द्रप्रसाद केसी, सहायक प्रअ गीता सुवेदीलगायत शिक्षकहरूको उपस्थिति रहेको थियो । यसैबिच विद्यालयले सहयोगदाताहरूलाई खादा र अबिर लगाइदिइ सम्मान गरेको थियो ।

Leave a Comment