गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चलचित्र निर्देशक, वृत्तचित्र निर्माता तथा सञ्चारकर्मी भूपेन्द्र बानियाँलाई गण्डकी प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य पदमा मनोनयन गरेको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ बमोजिम गण्डकी प्रदेश सरकारले असार २२ गतेको निर्णयअनुसार आउँदो चार वर्षका लागि बानियाँलाई मनोनयन गरिएको जनाएको छ । बानियाँले बिहीबार गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहल, पोखरामा आयोजित एक समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रतिष्ठानका कुलपति कुसुमाकर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवमनोनित प्राज्ञ सभा सदस्यहरूको पदस्थापन समेत गरिएको थियो ।

म्याग्दीको बेनी नगरपालिका–६, स्थायी घर भई हाल पोखरा महानगरपालिका–९, चिप्लेढुङ्गा निवासी बानियाँ विगत डेढ दशकदेखि चलचित्र, वृत्तचित्र, फोटोग्राफी, दृश्य–श्रव्य सञ्चार तथा सांस्कृतिक दस्तावेजीकरणको क्षेत्रमा निरन्तर सक्रिय रहनुभएको छ । उहाँ क्रियटिभ मिडिया प्रोडक्सनुका संस्थापक तथा निर्देशक पनि हुनुहुन्छ ।
उहाँले हालसम्म नेपालका विभिन्न भाषा, कला, साहित्य, संस्कृति, पर्यटन, सम्पदा तथा सामाजिक विषयवस्तुहरूमा केन्द्रित रहेर ८० भन्दाबढी वृत्तचित्र र २०० वटा भन्दाबढी म्युजिक भिडियोहरूको सफल निर्देशन तथा निर्माण गरिसक्नुभएको छ ।
लोकनृत्य कलाकारका रूपमा आफ्नो सांस्कृतिक यात्रा प्रारम्भ गर्नुभएका बानियाँले म्याग्दीको बेनीमा सञ्चालित म्याग्दीकाली एफएममार्फत रेडियो पत्रकारिताको सुरुवात गर्नुभएको थियो । विगत लामो समयदेखि फोटोग्राफी, सिनेमाटोग्राफी, वृत्तचित्र निर्माण, अभिनय तथा डिजिटल मिडियामार्फत नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा क्रियाशील बानियाँ हाल लोकप्रिय पोडकास्ट हाम्रो अड्डा (Hamro Adda Podcast) का सञ्चालक तथा प्रस्तोता समेत हुनुहुन्छ ।
मनोनयनपछि प्रतिक्रिया दिँदै प्राज्ञ सभा सदस्य बानियाँले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई सम्मानपूर्वक स्वीकार गरी गण्डकी प्रदेशको कला, भाषा, साहित्य, चलचित्र तथा सांस्कृतिक सम्पदाको संस्थागत संरक्षण, प्रवर्द्धन र अभिलेखीकरणमा आफ्नो अनुभव र क्षमताले भ्याएसम्म योगदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सदस्य बानियाँले विशेष गरी मौलिक एवं रैथाने सांस्कृतिक सम्पदाको डिजिटल अभिलेखीकरण गर्ने, चलचित्र तथा वृत्तचित्रमार्फत गण्डकी प्रदेशको पहिचानलाई विश्वमाझ पुर्याउने, युवा कलाकार तथा स्रष्टाहरूको क्षमता अभिवृद्धि गर्ने र नयाँ पुस्तालाई सिर्जनात्मक क्षेत्रमा आकर्षित गर्ने कार्यक्रमहरूलाई आफ्नो कार्यकालमा प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो














