राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार हुन सक्ने भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार असार २८ गते आइतबार र २९ गते सोमबार म्याग्दीसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले अचानक बाढी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम हुन सक्ने प्राधिकरणको जनाएकले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी रविन्द आचार्यले अनुरोध गर्नुभएको छ ।
प्राधिकरणले अकस्मात बाढी आउन सक्ने खोला, खहरे तथा नदी आसपासको क्षेत्रमा यात्रा गर्ने, पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने र नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढी तथा पहिरोको सम्भावित जोखिम व्यवस्थापनका लागि तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन भनिएको छ। जोखिमयुक्त सडक तथा राजमार्गमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ। विपद् व्यवस्थापनमा सहयोग गर्ने साझेदार संस्थाहरुलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर सम्पर्कमा रहन प्राधिकरणले अनुरोध गरेको छ।
प्राधिकरणले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता माग्न १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ नम्बर मोबाइलमा सुरक्षित राख्न तथा आवश्यक पर्दा सम्पर्क गर्न आग्रह गरेको छ ।












