---Advertisement---

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

On: July 11, 2026 5:32 PM
Follow Us:

ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ गन्तव्यतर्फ लाग्नुहुन्छ । सारङ्गीको धुन र गीतमार्फत उहाँले आफ्नो जीवनयापन मात्र गरिरहनुभएको छैन, गन्धर्व समुदायको मौलिक कला, संस्कृति र पहिचानलाई निरन्तरता दिइरहनुभएको छ ।

लमजुङको सुन्दरबजार क्षेत्र नजिकै लमजुङ र तनहुँको सीमाक्षेत्रमा बसोबास गर्दै आउनुभएका यमबहादुरले विगत ३६ वर्षदेखि सारङ्गी बजाउने र गीत गाउने पेसालाई निरन्तरता दिँदै आउनुभएको छ । बुबा–बाजेको पालादेखि चल्दै आएको पुख्र्यौली पेसालाई अँगालेर उहाँले आफ्नो जीवनयात्रा अघि बढाइ रहनुभएको हो ।

“पढाइ पनि धेरै गर्न सकिनँ, अरू काम पनि जानेको छैन । अब यही पेसाबाट जीवन चलिरहेको छ,” यमबहादुरले भन्नुभयो, “हातगोडा चलुन्जेल यही काम गर्छु । आफ्नो कमाइ आफैँ गर्छु र आफ्नो खर्च आफैँ चलाउँछु ।”

विगतमा गाउँ–बस्तीमा पुग्दा गन्धर्वका गीत सुन्ने र सहयोग गर्ने मानिस धेरै हुने गरेको अनुभव उहाँसँग छ । तर समय परिवर्तनसँगै मानिसको रुचि र व्यवहारमा आएको परिवर्तनका कारण अहिले पहिले जस्तो सहयोग पाउन कठिन हुँदै गएको यमबहादुरले बताउनुभयो । लमजुङका विभिन्न स्थानसँगै मनाङ, गोरखा, काठमाडौँ, पोखरा, चितवनलगायत क्षेत्रमा पुगेर उहाँले सारङ्गी बजाउँदै गीत गाउँदै आउनुभएको छ ।

बिहानैखि बेलुका अबेरसम्म विभिन्न ठाउँमा हिँडेर गन्धर्वले आफ्नो कला प्रस्तुत गर्नुहुन्छ । यमबहादुरको आम्दानी निश्चित छैन । गन्धर्वका अनुसार कसैले १०–२० रुपैयाँ सहयोग गर्नुहुन्छ भने कसैले ४०–५० रुपैयाँसम्म पनि दिने गर्नुहुन्छ । कतिपय अवस्थामा राम्रो व्यवहार पाए पनि कहिलेकाहीँ अपमानजनक शब्दसमेत सुन्नुपर्ने अवस्था आउने गरेको उहाँले बताउनुभयो ।

यही पेसाबाट परिवारको खर्च चलाउँदै आउनुभएका यमबहादुरले सामान्यतया महिनामा रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी हुने र कहिलेकाहीँ त्यसमा वृद्धि हुने गरेको बताउनुभयो । वर्षायाम भने उहाँका लागि थप कठिन समय हुने गरेको छ । असार–साउनमा पानी पर्ने, बाटो बिग्रने र लामो दूरी हिँड्न समस्या हुने भएकाले पेसामा असर पर्ने गरेको गन्धर्वको भनाइ छ ।

“पानी परेको बेला धेरै समस्या हुन्छ । हिँड्न गाह्रो हुन्छ । तर यही मेरो जीवनको आधार हो,” उहाँले भन्नुभयो ।

यमबहादुरका लागि सारङ्गी केवल आम्दानीको माध्यम मात्र होइन, आफ्नो पहिचान र संस्कृतिसँग जोडिएको सम्पत्ति हो । गन्धर्व समुदायमा गीत–सङ्गीत र सारङ्गी बजाउने परम्परा पुस्तौँदेखि चल्दै आएको उहाँले बताउनुभयो । धार्मिक तथा सांस्कृतिक विश्वासअनुसार गन्धर्व समुदायलाई गीत–सङ्गीतको वरदान प्राप्त भएको र गीत गाउँदै, सारङ्गी बजाउँदै विभिन्न ठाउँमा पुग्ने परम्परा रहेको विश्वास रहेको गन्धर्वले बताउनुभयो ।

सारङ्गी बजाउनुका साथै गन्धर्वले समाज र देशमा भएका विभिन्न घटना, सामाजिक विषय तथा जनचेतनामूलक सन्देश समेटिएका गीतसमेत गाउँदै आउनुभएको छ । आफ्नो कलामार्फत समाजलाई सन्देश दिन पाउँदा खुसी लाग्ने उहाँले बताउनुभयो । तर पछिल्लो समय गन्धर्व समुदायको मौलिक कला, संस्कार र संस्कृति संरक्षणमा चुनौती थपिँदै गएकामा यमबहादुरको चिन्ता छ ।

नयाँ पुस्ताले यो पेसा अँगाल्न चासो नदेखाउँदा परम्परागत कला विस्तारै हराउने जोखिम बढेको गन्धर्वले बताउनुभयो । “अहिलेका सन्तान यो पेसामा आउन चाहँदैनन् । उनीहरू अरू कामतिर जान थालेका छन्,” उहाँले भन्नुभयो, “यसले गर्दा हाम्रो कला र पहिचान हराउने चिन्ता छ ।”

गन्धर्व समुदायको कला र संस्कृति संरक्षणका लागि सरकारी तथा सम्बन्धित निकायबाट पनि पहल आवश्यक छ । गन्धर्व समुदायलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्न सके नयाँ पुस्तालाई यो पेसाप्रति आकर्षित गर्न सकिने यमबहादुरले बताउनुभयो ।

सारङ्गी बजाउने, गीत गाउनेजस्ता परम्परागत सीप नयाँ पुस्तालाई सिकाउन तालिम सञ्चालन गर्न सके युवाले आफ्नो पुख्र्यौली कला सिक्ने अवसर पाउने र यसलाई जीवनयापनसँग जोड्नसमेत सहयोग पुग्ने गन्धर्वको विश्वास छ । श्रीमती, छोराबुहारी, नातिनातिनासहित पारिवारिक जिम्मेवारी सम्हाल्दै आउनुभएका यमबहादुरले आफूले सक्ने समयसम्म यही पेसालाई निरन्तरता दिने बताउनुभयो ।

घाम, पानी र कठिनाइसँग सङ्घर्ष गर्दै काँधमा सारङ्गी बोकेर यात्रामा निस्कनुहुने यमबहादुरका लागि यो केवल जीविकोपार्जनको माध्यम होइन, पुर्खाले हस्तान्तरण गरेको अमूल्य सम्पदा हो । उहाँजस्ता कलाकारकै कारण गन्धर्व समुदायको मौलिक कला र संस्कृति अझै जीवित छ । तर यो पहिचान जोगाउन नयाँ पुस्तालाई जोड्ने र संरक्षणका कार्यक्रम अघि बढाउने आवश्यकता देखिएको छ ।

Leave a Comment