---Advertisement---

गलेश्वरधाम मन्दिरमा साउने सोमवारको पूजाका लागि २५ वटा उपसमितिहरु गठन

On: July 17, 2026 8:12 PM
Follow Us:

गलेश्वर शिवालय क्षेत्र विकास कोषले साउन महिनाभर हुने सोमबारे पर्वलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन विभिन्न २५ वटा उपसमितिहरु गठन गरेको छ । हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र प्रसिद्ध तीर्थस्थल गलेश्वरधाममा साउने सोमबारका अवसरमा दर्शनार्थीको बढ्दो भीडलाई व्यवस्थित गर्नका लागि आवस्यक तयारी पुरा भएको कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताउनुभयो ।

कोषका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले साउन महिनाको ४, ११, १८ र २५ गते पर्ने सोमबारका दिन गलेश्वर धाममा आउने भक्तजनलाई सहज रूपमा दर्शन, पूजा–अर्चना र धार्मिक अनुष्ठान गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले उपसमितिहरू गठन गरेको कोषका कार्यालय सचिव तेजेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।


उपसमितिअन्तर्गत बमबहादुर पुनको संयोजकत्वमा शिवलिङ्ग पूजा व्यवस्थापन, मनोज पौडेलको संयोजकत्वमा मण्डपभित्र पूजा, टीका तथा प्रसाद व्यवस्थापन,गंगाबहादुर बानियाँको संयोजकत्वमा बसाहा तथा हनुमान पूजा व्यवस्थापन, कुमारी रोकाको संयोजकत्वमा गणेश मन्दिर पूजा व्यवस्थापन तथा इन्द्र बरुवालको संयोजकत्वमा स्वयंसेवक परिचालन तथा भित्री प्रवेशद्वार व्यवस्थापन उपसमिति गठन गरिएको छ ।


त्यसैगरी गलेश्वरधाम आमा समूहलाई भोजन तथा जलपान व्यवस्थापनको जिम्मेवारी दिइएको छ भने गोपाल पुरीको संयोजकत्वमा नरिवल स्थल व्यवस्थापन, हिराबहादुर बरुवालको संयोजकत्वमा मन्दिर अगाडिको बत्ती व्यवस्थापन, तेजेन्द्रबहादुर खत्रीको संयोजकत्वमा सरसफाइ, सुरक्षा तथा ट्राफिक व्यवस्थापन र बेलपत्र व्यवस्थापन, लोकेन्द्रबहादुर खड्काको संयोजकत्वमा मूल गेट रसिद व्यवस्थापन, राधिका आचार्यको संयोजकत्वमा लक्ष्मीनारायण मन्दिर तथा जलकुण्ड व्यवस्थापन, सम्मरबहादुर थापाको संयोजकत्वमा प्रचार–प्रसार, मनु पुन फगामीको संयोजकत्वमा भगवती मूर्ति व्यवस्थापन तथा माधवप्रसाद रेग्मीकै संयोजकत्वमा शिवालय परिसर अनुगमन उपसमिति गठन गरिएको छ ।


हरियो चुरा, हरियो तथा पहेलो वस्त्रमा सजिएका विवाहीत महिला पारिवारिक सुख र अविवाहीत राम्रो बर पाइयोस् भन्ने कामनासहित साउनको सोमबार शिवालयमा पुगेर पूजा गरी व्रत बस्ने चलन रहेको छ । गलेश्वर शिवालयको दर्शन तथा पूजापाठका साथै १०८ शिवलिङ्मा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।हिन्दू धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको छ ।

पवित्र कालीगण्डकी नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित मन्दिर सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरिएको पाइन्छ। मन्दिरमा संकलन भएको भेटी भोली मंगलबार सार्वजनिक स्थानमा गनेर बैंकमा जम्मा गर्ने गरिन्छ ।

Leave a Comment