बेनी नगरपालिका म्याग्दीको आयोजनामा बुधवार सदरमुकाम बेनीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत सर्वसाधारण नागरिकहरुको गुनासो, सुझाव र अपेक्षा सम्बोधन गरिएको हो ।

गएको आर्थिक वर्ष २०८२÷०८३ को तेस्रो चौमासिक अवधिसम्म भए गरेका विकास निर्माण तथा सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको बेनी नगरपालिकाले जनाएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा गत आवमा सञ्चालित योजना तथा कार्यक्रम र सम्पादित कामहरुको बारेमा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले प्रस्तुतीकरण गर्नुभएको थियो ।

गतवर्ष कुल ७४ करोड ४६ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ६३ करोड ६७ लाख २३ हजार रुपैयाँ अर्थात् ८५ दशमलव पाँच प्रतिशत बजेट खर्च भएको छ । गएको आवमा चालुतर्फ ५५ करोड १९ लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ४८ करोड २२ लाख ७६ हजार अर्थात् ८७ दशमलव ३८ प्रतिशत बजेट खर्च भएको छ । पूँजीगततर्फ १९ करोड २७ लाख दुई हजार रुपैयाँ बजेट विनियोजन भएकोमा १५ करोड ४४ लाख ४६ हजार अर्थात् ८० दशमलव १५ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

बेनी नगरपालिकाले विनियोजन गरेको बजेटतर्फ क्षेत्र र उपक्षेत्रगत अन्तर्गत आर्थिक विकासतर्फ कुल दुई करोड २५ लाख सातहजार, सामाजिक विकासतर्फ ३९ करोड ९३ लाख ६५ हजार, पूर्वाधार विकासतर्फ १० करोड ८० लाख ४२ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ एक करोड ६३ लाख ११ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ नौ करोड चारलाख ९५ हजार रुपैयाँ बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैगरी सामाजिक सुरक्षा तथा संरक्षणतर्फ नगरपालिकाबाट ९९ दशमलव ८५ प्रतिशत बजेट खर्च भएको छ ।

गतवर्ष बेनी नगरपालिकाले आन्तरिक राजश्व सङ्कलनतर्फ कुल चार करोड ३३ लाख ५० हजार रुपैयाँ उठाउने लक्ष्य राखेकोमा मङ्गलवारसम्म कुल तीन करोड ६१ लाख ८३ हजार छ सय ८८ रुपैयाँ ९४ पैसा राजश्व सङ्कलन भएको लेखा शाखाले जनाएको छ । भौतिक पूर्वाधार, शिक्षा, यूवा तथा खेलकुद, स्वास्थ्य सेवा, कृषि विकास, पशु सेवा, रोजगार, आप्रवासी, मनोसामाजिक परामर्श, वन वातावरण तथा विपद् व्यवस्थापन, महिला बालिबालिका ज्येष्ठनागरिक तथा अपाङ्गताको क्षेत्र, सहकारी व्यवस्थापन, मेड्पा कार्यक्रम, न्यायिक तथा अल्पकालीन सेवालगायत क्षेत्रमा बजेट परिचालन गरी कार्यक्रमहरु सञ्चालन गरिएको बेनी नगरपालिकाले जनाएको छ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरु क्रेन घिमिरे, राजु बानियाँ, लक्ष्मी जोशी, पूर्णबहादुर जिसी, हिराबहादुर कटुवाल, रहमद खान, खिमबहादुर छन्त्याल, भेषबहादुर बानियाँ र अर्जुन श्रेष्ठले बजार क्षेत्रमा नाली सरसफाइ नभएको, भाइरल रोडमा रेलिङ जडान गर्नुपर्ने, मङ्गलाघाट क्षेत्रको विभिन्न स्थानमा जोखिमपूर्ण रुखको कटान, अव्यवस्थित बिजुलीका तार तथा पोलको व्यवस्थापन, बजारको रोडमा ब्रेकर निर्माण, महारानीथान क्षेत्रमा नालीको दीर्घकालीन व्यवस्थापन, खेलमैदानमा शौचालय र प्रतिक्षालय स्थापना, बेनीको घाटमा मलामी विश्रामस्थल निर्माण, कुकुरको व्यवस्थापन जस्ता सवालहरु उठाउनुभएको थियो ।

सहभागीहरुले उठाएका सवालहरुको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, नगर उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत शर्मा, प्रवक्ता रमेशकुमार श्रेष्ठ र ८ नम्बर वडाका वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले जवाफ दिनुभएको थियो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीका सभापति यूवराज रोका, नेपाली कांग्रेस बेनी नगर कार्यसमितिका उपसभापति हरिप्रसाद पौडेल, नेपाली कम्युनिष्ट पार्टी बेनी नगर कमिटी सचिव ओम रोका, म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतम, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष दीपक पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नगर प्रमुख केसीको अध्यक्षता, उपप्रमुख लामिछानेको स्वागत र वरिष्ठ प्रशासकीय अधिकृत यूवराज थापाको सञ्चालनमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका सहसचिव प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।











