भगवान् शिव र सनातन धर्मप्रति समर्पित विशेष धार्मिक भजन ‘कल्की अवतार’ सार्वजनिक भएको छ। सोमबार बिहान साढे छ बजे बाबा इन्टरटेनमेन्ट टिभी युट्युब च्यानल मार्फत यो भजन नेपाली सङ्गीत बजारमा ल्याइएको हो। हिन्दु धर्मावलम्बीहरूका लागि साउन महिना र विशेष गरी सोमबारको दिनलाई अत्यन्तै पवित्र मानिने हुनाले यही आध्यात्मिक अवसरलाई लक्षित गर्दै यो भजन सार्वजनिक गरिएको हो।
वैदेशिक रोजगारीको सिलसिलामा अमेरिकामा बसोबास गर्दै आएका नेपाली कलाकारहरू प्रवेश पौडेल र राजीव शर्माको सुमधुर आवाजमा सजिएको यस भजनमा नकुल ढकालका मर्मस्पर्शी शब्दहरू रहेका छन्। यस भजनमार्फत पर्वत जिल्लाका शर्माले आधिकारिक रूपमा आफ्नो गायन यात्राको सुरुवात (डेब्यु) गरेका छन्। भजनमा आवाज दिने गायक द्वय पर्वत जिल्लाकै हुन् भने गायक शर्मा आफैँले भाका सङ्कलन गरेका छन् । नेपाली सङ्गीत क्षेत्रका प्रख्यात सङ्गीत संयोजक बिबि अनुरागीले गीतको एरेन्जमेन्ट गरेका हुन्। त्यस्तै श्याम श्वेत रसाइलीले यस भजनको मिक्सिङ गरेका हुन्। यस भजनमा सत्य, त्रेता, द्वापर र कलियुग गरी विभिन्न युगहरूको चक्रलाई सुन्दर ढङ्गले वर्णन गरिएको छ।
विशेष गरी वर्तमान कलियुगमा मानिसहरूमा बढ्दै गएको नकारात्मकता र स्वार्थलाई औँल्याउँदै यो कठिन समयबाट संसारलाई कसले र कसरी बचाउन सक्छ भन्ने सन्देशमूलक गाथा यसमा बुनिएको छ। गायक पौडेलकै निर्देशनमा तयार भएको भजनको भिडियोमा पौडेल र शर्माका साथै अमेरिकामा बसोबास गर्ने थुप्रै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको अभिनय देख्न सकिन्छ।
पशुपति बस्यालले खिचेको भिडियोको सम्पादन सुजन कोइरालाले गरेका छन्। प्रवासमा रहेर पनि आफ्नो धर्म, संस्कृति र कलालाई जोगाउने उद्देश्यले निर्माण गरिएको भजनलाई नेपाली सङ्गीत प्रेमी तथा भक्तजनहरूले हेरेर र सुनेर माया गरिदिनुहुन कलाकार तथा निर्माण टिमले हार्दिक आग्रह गरेका छन्।
Kalki Awatar Nepali Bhajan – Prabesh Poudel | Rajeev Sharma | Official Nepali Bhajan 2083








